Logo

पर्यटन क्षेत्र पुनरुत्थानका लागि भ्रमण दशक मनाउने सरकारको घोषणा

पर्यटन क्षेत्र पुनरुत्थानका लागि भ्रमण दशक मनाउने सरकारको घोषणा



काठमाडौं । सरकारले पर्यटन क्षेत्र पुनरुत्थानका लागि भ्रमण दशक मनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उक्त पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेका हुन् ।

कार्ययोजनाले प्रमुख रुपमा सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने उद्घोष गरेको छ । यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेपनि बीचमै सिर्जित कोभिड–१९ का कारण प्रभावित हुन पुगेको थियो । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको भ्रमण वर्षमा जम्माजम्मी २ लाख पनि पर्यटक भित्रिन सकेन । तर, खर्च भने ७० करोड माथि भएको बताइएको छ ।

कोभिड–१९ को प्रभाव कम भएसँगै विस्तारै सुध्रँदै गएको विश्व पर्यटन बजारबाट पुनः पर्यटन आकर्षित गर्न सकिने भन्दै कार्ययोजनाले सन् २०२३ देखि २०३३ लाई भ्रमण वर्षको रुपमा अघि बढाउन सकिने बताएको हो । आर्थिक वर्ष शुरु भएसँगै पर्यटन क्षेत्रमा देखिएको सुधारात्मक संकेतपछि दुई तीन महिनाभित्र यस्तो घोषणा गर्न सकिने मन्त्रालयले जनाएको छ ।

सोही कार्ययोजनालाई सफल पार्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान समेत चलाउने बताएको छ । यस्तै, काठमाडौंमा पर्यटन केन्द्रित ‘होप अन होप अफ सिटी बस’ सञ्चालन गर्ने घोषणा समेत कार्यपत्रमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL