Logo

बर्षाले बाटो विग्रेपछि अफसिजनमै हवाईयात्रुको चाप, हवाई भाडा साविकको भन्दा बढी

बर्षाले बाटो विग्रेपछि अफसिजनमै हवाईयात्रुको चाप, हवाई भाडा साविकको भन्दा बढी



काठमाडौं । देशभर बर्षाका कारण सडकहरुमा असर पर्दा हवाई यात्रा गर्ने यात्रुहरु बढेका छन् । अत्याधिक बर्षा हुने र कुहिरो लागिरहने हुनाले मे देखि अगस्टसम्मको समयलाई हवाई यात्राको अफसिजन मानिन्छ । यो समयमा धेरैजसो पर्यटकहरु पनि घुम्न निस्किँदैनन् र हवाई यात्रुहरु पनि साविकको भन्दा कमै हुन्छन् । तर, स्थलमार्गबाट यात्रा गर्ने प्रायः यात्रुहरु बाटोमा आईपर्ने सास्तीबाट बच्न हवाईमार्ग प्रयोग गर्दा हवाई कम्पनीहरुमा यात्रु अकुपेन्सी ९५ प्रतितसम्म पुग्ने गरेको छ ।

काठमाडौंबाट बाहिरिने मुख्य बाटो थानकोटदेखि चितवनको नाराणगढसम्म बेलाबेलामा पहिरोको डर छ । यस्तो बेलामा दिनमै धेरैपटक पहिरो आउँदा यात्रुहरु घण्टौ जाममा कुर्नुपर्ने अवस्था छ । जसका कारण धेरैजसो यात्रुहरु हवाईमार्गतर्फ आकर्षित भईरहेका छन् ।

बाटो विग्रेकै कारण अफसिजनमा पनि काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने यात्रुहरुको अकुपेन्सी ९० प्रतिशत बढी भएको बुद्ध एयरका प्रवक्ता रुपेश जोशी बताउँछन् । उनका अनुसार जुन र जुलाई हवाईयात्राका लागि अफसिजन हो । तर, यहि समयमै हवाई यात्रामा सिट भरिभराउ हुने गरेका छन् ।

यस्तै यति एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौला पनि बाटो विग्रेकै कारण हवाईयात्रुहरु पछिल्लो समय बढेको बताउँछन् । उनका अनुसार केहि हप्ता पहिले न्युन रहेको हवाई यात्रुसँख्या अहिले बढेको छ । यति एयरलाईन्सले बर्षा लागेपछि पोखरा र भैरहवामा ९० प्रतिशत बढी अकुपेन्सीमा जहाज उडाईरहेको छ भने अन्य क्षेत्रमा ८० प्रतिशत बढी अकुपेन्सी हुन्छ ।

अकुपेन्सी बढेपछि बढ्यो हवाईभाडा

स्थलमार्गबाट हिँड्ने यात्रुहरुपनि हवाई यात्रा प्रयोग गर्न थालेपछि हवाई भाडासमेत साविकको तुलनामा बढेको छ । केहि दिनअघिम्म तोकिएको भाडाको न्युनतम भाडामा यात्रु बोकिरहेका हवाई सेवा कम्पनीहरुले अहिले केहि बढाएका छन् । हवाई यात्रुको संख्यासँगै भाडा घटबढ हुने भएकाले पछिल्लो समय हवाईभाडा पहिलेको तुलनामा बढेको बुद्ध एयरका प्रवक्ता रुपेश जोसी बताउँछन् । उनका अनुसार हवाई यात्रामा पनि माग र आपुर्तिको नियम लागु हुन्छ । कहिले जहाज खाली उडाउनुपर्दा भाडा सबैभन्दा न्युन हुन्छ भने जहाजमा यात्रुको बुकिङ संख्या हेरेर सोही अनुसारको भाडा लाग्ने गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले तोकिदिएको अधिकतम भाडादरभित्रै रहेर एयरलाइन्स कम्पनीहरुले यात्रु उडाउने गरेको यति एयरका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन् । उनका अनुसार प्राधिकरणले तोकेको भाडाभन्दा बढी भाडा लिन नपाईने तर, यात्रुको संख्या हेरेर तोकिएको भाडादरभित्रै तलमाथि हुने उनको भनाई छ । पछिल्लो समय एयरलाईन्स कम्पनीहरुले भाडादर पहिलेको तुलनामा केहि बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL