Logo

पर्यटन मन्त्री आले र इयुका राजदूत डिप्रेजबीच भेट, नेपाललाई इयुको प्रतिबन्ध सूचीबाट हटाउन माग

पर्यटन मन्त्री आले र इयुका राजदूत डिप्रेजबीच भेट, नेपाललाई इयुको प्रतिबन्ध सूचीबाट हटाउन माग



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ ।

मन्त्री आले तथा राजदूत डिप्रेजबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले इयुको सेफ्टी लिष्ट ९प्रतिबन्ध० बाट नेपाललाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिए ।

उक्त भेटवार्ताका क्रममा मन्त्री आलेले राजदूत डिप्रेजलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले नेपालको उडान सुरक्षाका आठ क्षेत्रमा नियामक निकायको हैसियतमा पालना गरेका कार्यको परीक्षणमा परिपालना दर प्रारम्भिक नतिजाअनुसार ७०।१ प्रतिशत रहेको र यो दर विश्वका अन्य देशका तुलनामा औसतभन्दा बढी भएकाले नेपाली आकास सुरक्षित रहेको बताए ।

उनले भने, ‘आइकाओको नतिजाअनुसार नेपाली आकास सुरक्षित रहेको भन्ने देखाएको छ, अब नेपाल इयुको प्रतिबन्ध सूचीबाट हट्नुपर्छ ।’

सोही भेटवार्ताका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीपकुमार अधिकारीले हाल प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको मापदण्डअनुसार पाइलटको योग्यता र तालिम व्यवस्थित रहेको जानकारी पनि दिएका थिए ।

हाल नेपाल वायुसेवा निगम, बुद्ध एयर र हिमालय एयरलाइन्स गरी तीन वटा नेपाली वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्ने गरेका भए पनि इयुको कालोसूचीबाट नहटेसम्म युरोप उडान गर्ने अवस्था नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्