Logo

काठमाडौंमा धमाधम चिनियाँ होटल खुल्दै, साढे नौ महिनामा ५३ वटा होटलका लागि आयो लगानी प्रस्ताव

काठमाडौंमा धमाधम चिनियाँ होटल खुल्दै, साढे नौ महिनामा ५३ वटा होटलका लागि आयो लगानी प्रस्ताव



काठमाडौं । काठमाडौं उपत्यकामा चिनियाँ लगानीका होटल खुल्ने क्रम बढ्दो छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक बर्ष को साढे नौ महिनामा नेपालमा ५३ ओटा चिनियाँ होटल खुल्नेगरी लगानी प्रस्ताव आएको छ ।

२०१९ को डिसेम्बरबाट विश्वभर फैलिएको कोरोना महामारीले पर्यटन क्षेत्रलाई नै धराशायी बनाएपनि चिनियाँ लगानीकर्ताहरु भने नेपालको सेवा र पर्यटन क्षेत्रमा आकर्षित भएको तथ्यांकले देखाउँछ । चालु आवमा चीनबाट मात्रै नेपालमा २४ अर्ब ७८ करोड ४० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । जसमध्ये सबैभन्दा ठूलो हिस्सा सेवा क्षेत्रले र त्यसपश्चात पर्यटन क्षेत्रले ओगटेको छ ।

यस अवधिमा चीनले नेपालको सेवा क्षेत्रमा १२ अर्ब २७ करोड २० लाख रुपैयाँ लगानी प्रतिवद्धता जाहेर गर्दा पर्यटन क्षेत्रमा ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेको हो । सेवा क्षेत्रमार्फत आएको लगानी प्रतिवद्धतामार्फत चीनले नेपालमा कार्गो ह्यान्डलिङ सेवा र कन्स्ट्रक्सन सेवाका परियोजना निर्माण गर्ने बताएको छ ।

यस्तै, पर्यटन क्षेत्रको शीर्षकमा आएका सबै परियोजनाहरु होटल तथा रेष्टुरेन्ट संचालनका लागि आएका छन् । यस्ता परियोजनाहरु खासगरी काठमाडौं, भक्तपुर, काभ्रे र कास्कीलाई केन्द्रमा राखेर आउने गरेका छन् । उद्योग विभागको तथ्यांक हेर्दा चालु आवमा चीनबाट आएका होटलसम्बन्धी ५३ परियोजनामध्ये सबैभन्दा बढी परियोजना काठमाडौंमै केन्द्रित छन् ।

चीनबाट प्रतिवद्धता आएका ५३ होटल तथा रेष्टुरेन्टमध्ये ३५ होटल तथा रेष्टुरेन्ट काठमाडौंमै संचालन गर्नेगरी प्रस्ताव आएको छ । यस्तै भक्तपुरमा १०, कास्की र काभ्रेमा २÷२ र ललितपुरमा एउटा होटल संचालन गर्नेगरी प्रस्ताव आएको विभागले जानकारी दिएको छ । यी परियोजनामार्फत नेपालले ३ देखि ३० करोड रुपैयाँसम्म लगानी भित्र्याउने बताईएको छ । पछिल्लो समय चिनियाँ लगानीकर्ताहरु साना परियोजनामार्फत नेपालमा लगानी भित्र्याईरहेका छन् । हालसम्म चीनबाट प्रतिवद्धता आएका धेरैजसो होटलहरु साना लगानीका छन् ।

औद्योगिक व्यवसाय ऐन २०७६ ले १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योग, त्यो भन्दा बढी ५० लाखसम्म स्थिर पुँजी भएका उद्योगलाई मझौला र ५० करोडभन्दा बढी स्थिर पुँजी भएका उद्योगलाई ठूलो उद्योगको रुपमा परिभाषित गरेको छ ।

विभागको तथ्यांकलाई नियाल्दा चीनले चालु आवमा स्वीकृत गरेका १ सय २३ परियोजनामध्ये ३७ परियोजना मझौला र बाँकी ८६ परियोजना साना उद्योगका छन् । हालसम्म चीनले ठुला परियोजनामा लगानी नल्याएको विभागको तथ्यांकमा देखिन्छ । यसरी सानासाना लगानीका धेरै परियोजनाले अर्थतन्त्रलाई खासै सकारात्मक असर नगर्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL