काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजले काठमाडौ- नारिता उडान अब सातामा ३ उडान भर्ने भएको छ । हालसम्म सातामा वटा उडान गरिरहेकोमा आगामी मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको ३ (तीन) उडान सञ्चालन गर्ने भएको हो ।
उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १ सय ४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १ सय २० जना यात्रुहरु मात्र बोक्न पाइने हुनाले यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेको निगमले जानकारी दिएको छ ।
जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौं–नारिता यात्रु बोक्न परेको हुनाले स्वाभाविक रुपमा हाल भाडादर समेत केही मंहगो हुन गएको छ । काठमाडौैं–नारिता सेक्टरमा करसहित विजनेश क्लासमा १ लाख ५२ हजार रुपैयाँ र इकोनोमी क्लासमा १ लाख १९ हजार ७ सय रुपैयाँ भाडादर कायम गरिएको छ । यसरी तोकिएको मूल्य भन्दा बढी भाडा लिई टिकटहरु विक्रि वितरण गरेको गुनासो प्राप्त भएको हुँदा कसैले तोकिएको मूल्य भन्दा बढी मूल्य लिई विक्रि वितरण गरेको पाइएमा नियमानुसार कारवाही हुने यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।
यदि कसैले बढी भाडा असुलेको पाइएमा यात्रुहरुले प्रमाण सहित निगममा उजुरी गर्न निगमले अनुरोध गरेको छ । काठमाडौं–नारिता सेक्टरमा सिट संख्या बढाउन नेपाल स्थित जापानी राजदुतावासलाई अनुरोध गरिसकिएको समेत निगमले जानकारी दिएको छ ।
काठमाडौं–नारिता सेक्टरमा माग अत्याधिक रहेको तर सिमित सिट संख्यामा उडान गर्नु पर्ने र माग बमोजिमको आपूर्ति हुन सकिरहेको छैन ।