Logo

पोखराका नौ ताल जोड्न साइकलमार्ग बन्ने, ३५ करोड लागत अनुमान

पोखराका नौ ताल जोड्न साइकलमार्ग बन्ने, ३५ करोड लागत अनुमान



काठमाडौं । सुन्दरनगरी पोखरालाई थप व्यवस्थित र आर्कषण बनाउने काम सुरु भएको छ । प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न पोखरा महानगरपालिकाले नगरका ९ वटा ताल जोड्ने साइकलमार्ग निर्माणका लागि आवश्यक तयारी सुरु गरेको हो ।


समुन्नत र समुद्ध पोखराका लागि महानगरले चालु आर्थिक वर्षमा साइकल मार्ग निर्माण गर्न रु ३० लाख बजेट विनियोजन गरेको छ । यसका लागि १८३ किलोमिटर साइकल ट्र्याकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भई रु ३५ करोडको लागतप्रक्षेपण गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले जानकारी दिए । 

उनले पोखराका ९ ताल फेवा, रुपा, बेगनास, कमलपोखरी, खास्टे, न्युरेनी, गुँदे, दिपाङ, मैदी र अन्तर्राष्ट्रिय महत्वको रामसार क्षेत्रमा सूचीकृत भइसकेको अवस्थामा प्राकृतिक र सांस्कृतिक विविधताले युक्त पोखराको सौन्दर्य अवलोकनका लागि साइकल संस्कृति विकास आवश्यक रहेको बताए । यस विषयमा सरोकारवालाबीच छलफल भइसकेको र पहिलो चरणमा साइकलमार्गमा सङ्केत चिन्ह राख्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ । महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा रामचन्द्र लामिछानेले पोखरा प्राकृतिक सुन्दरताले बरदान पाएको सहर भएकाले यसलाई सुन्दर बनाउन थप नयाँ कुराको खोजी गर्नुभन्दा पनि भइरहेको प्राकृतिक कुरालाई व्यवस्थापन गरेर नयाँ कलेबरमा रुपान्तरण गर्न सके मात्र पुग्ने उनले बताए । 

“अनुकुल मौसमदेखि हिमशृखङ्ला ताल तलैयाको अनुपम बरदान पाएको सहर हो पोखरा । ‘कनेक्ट लेक टु लेक’ पर्यटन प्रवद्र्धनका लागि साइकल राम्रो विकल्प बन्नेछ”, उनले भने । विश्वका साइकलमार्गमध्ये यो पृथक खालको रहेको र यो मार्ग पोखराको गौरवको योजना भएकाले यसलाई निरन्तरता दिन त्रिवर्षीय योजनामासमेत समावेश गरिएको उपाध्यक्ष डा लामिछानेको भनाइ छ । उनले भने, “सातसयदेखि एक हजार ५०० मिटर उचाइमा साइकल चलाउँदै उत्तरतिर हिमशृङ्खला र दक्षिणतर्फ पोखरा उपत्यकाको मनोरम दृश्यावलोकन, तालमा साइबेरियादेखि आएका चराको झुण्ड हेर्दै र अन्तर्राष्ट्रिय विमानस्थल जहाजको उडान र अवतरणका दृश्यलाईसमेत यस साइकल ट्र्याकबाट हेर्न सकिन्छ ।”

 उनले यो साइकल ट्र्याकले पोखरामा पर्यटकलाई एकदेखि दुई दिनसम्म बसाइँ लम्बाउन र आम्दानीको स्रोत बढाउन सहयोग पुग्ने बताए । वन विज्ञान अध्ययन संस्थानको उपप्राध्यापक एवं पर्यटन अध्येता श्रीकान्त शर्मा खतिवडाले साइकल लेनको रेखाङ्कन भइसकेको अवस्थामा देखिने गरी महानगरपालिकाले अविलम्ब काम सुरु गर्नुपर्ने बताए । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले पोखरा साहसिक खेल पर्यटनका लागि पनि उत्कृष्ट गन्तव्य भएकाले ‘लेक टु लेक कनेक्टका लागि साइकलमार्ग निर्माण हुनु निकै प्रशंसनीय कार्य भएको बताए । दीर्घकालीन सोच अनुरुपका पूर्वाधारले सकारात्मक नीति दिने भएकाले कुनै पनि पूर्वाधार विकास लागि सरोकारवाला र विज्ञको सल्लाह सुझावलाई मनन गरेर अघि बढ्न उनको सुझाव छ । 

पोखरा साइकल सिटीका पूर्वअध्यक्ष प्रकाश बज्राचार्यले पोखरालाई साइकल सिटीको रुपमा विकास गरेर वातावरणमैत्री पर्यटनमा जोड दिन आवश्यक रहेको बताए । साइकलमार्गले पोखरामा वातावरण मैत्रीको सन्देशसँगै पर्यटकको बसाइ लम्बाउने र थप पर्यटकलाई पोखरा भित्र्याउन पनि भूमिका खेल्ने विश्वास उनको छ ।  

यो मार्ग निर्माणका लागि सायुके एड सुदृढ परियोजनाको आर्थिक सहयोगमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भई रु ३५ करोडको लागत प्रक्षेपण गरिएको छ । यस मार्गमा महानगरका १८ वटा वडा समेटिएका छन् । साइकल सिटीको रूपमा पोखरालाई चिनाउन ‘मेयर साइकल प्रतियोगिता’ पोखरामा आयोजना गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL