कोरोनाभाइरस महामारीका कारण भ्रमण वर्ष घोषणा गरेर वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकै वर्ष नेपालमा सबैभन्दा कम पर्यटक आगमन भयो । यसले ठूलो लगानीसहित आएका होटेलहरुको लक्ष्य र योजना प्रभावित बन्न पुग्यो । व्यवसायीको तत्कालीन आम्दानी त गुम्यो नै, कति वर्ष यो संकट रहने हो भन्ने अनिश्चितता र अन्यौल पनि बढेको छ । मेरियटले गरेको एक अध्ययनमा कोरोना खोप आएको करीब दुई वर्षसम्म पर्यटक आगमन प्रभावित रहिरहन्छ भन्ने देखिएको छ । अहिलेको अवस्था हेर्दा त्यो पुष्टि हुने आधार पनि छन् । संसारका धेरैजसो मुलुकमा कोरोनाको दोस्रो लहर आएको छ । लण्डनबाट शुरु भएको यो संक्रमण क्रमशः भारतका सबैजसो राज्यमा फैलने क्रममा छ । खोप वितरणले गति लिए पनि संक्रमण घटेको छैन । यसले अन्यौल अझै लामो समय जाने देखाउँछ । नेपालमा तुलनात्मक रुपमा कम संक्रमित देखिए पनि पर्यटक आगमनमा अन्य मुलुकको अवस्थाले पनि प्रभाव पार्छ । सोहीकारण नेपाल पनि पर्ख र हेरकै अवस्थामा रहने छ ।
आन्तरिक पाहुनाको उत्साहजक वृद्धि
आतिथ्य सेवामा संसारभर सामान्यतया दुई प्रकारका पाहुना हुन्छन्ः एउटा आन्तरिक र अर्को अन्तर्राष्ट्रिय । दुबै प्रकारका पाहुनाको आफ्नै प्रकारको विशेषता हुन्छ । खासगरी अन्तर्राष्ट्रियस्तरमै संकट देखा परेका बेला कुनै पनि मुलुकमा पर्यटन पुनरुत्थानका लागि आन्तरिक पाहुनाको ठूलो भूमिका हुन्छ । नेपालमा पनि आन्तरिक पाहुनामा देखिएको उत्साहले भने निकै सकारात्मक संकेत गरेको छ । खासगरी शहरी इलाका आसपास रहेका रिर्सोट र भिल्लाहरु शुक्रबार र शनिबार भरिभराउ हुन थालिसकेका छन् । काठमाडौंको सन्दर्भमा नगरकोट, धुलिखेलसहितका क्षेत्र उदाहरणीय रुपमा विकास भएका छन् । यहाँ कोभिडको बीचमा पनि जसरी अक्कुपेन्सी देखिएको छ, त्यसले स्वयमः लगानीकर्तालाई समेत सुखद अनुभुति दिएको छ । आफ्नै होटेल भएका व्यवसायी पनि परिवारको साथमा कहिले बनेपा, कहिले धुलिखेल घुम्न निस्किएका हुन्छौं । महिनाको एक दिन परिवारका साथ ती रिर्सोटमा रमाउने र रिफ्रेस हुने माहौल बढेको छ । यसमा रिर्सोटहरुले ल्याएको प्याकेज र पाहुना आकर्षित गर्न दिइएको सेवाको ठूलो भूमिका रहेको छ ।
संकटमै तारे होटेल
जसरी रिर्सोट र भिल्लाहरुले संकटको समयमा पनि आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकेका छन््, त्यसको तुलनामा तारे होटेलहरु पछाडि परेका छन् । उनीहरु अहिले पनि विदेशी पर्यटककै भर पर्नुपर्ने अवस्था छ । तत्काल विदेशी पाहुना आउने सम्भावना पनि छैन । मानिसहरु विदेश भ्रमणमा जान डराइरहेका छन् । जसरी हामी विदेश जान डराएका छौं, विदेशी मुलुकका मानिस पनि हाम्रोमा आउन डराइरहेका छन् । यस अवस्थामा उनीहरुले विकल्पका रुपमा आन्तरिक भ्रमणलाई प्राथमिकता दिएका छन् । यो ट्रेण्ड विश्वव्यापी रुपमै देखिएको छ । पहिलेको अवस्था यस्तो थिएन ।
काठमाडौंको प्राइम लोकेसनमा खुलेका र विगतदेखि संचालनमा रहेका तारे होटेलहरुले आन्तरिक पर्यटकलाई अपेक्षित आकर्षित गर्न सकेनन् । यो सत्य हो । यसमा केही कारण छन् । एउटा त मानिस शहरबाट केही पर, भिडभाड नहुने स्थानमा साथीभाई र परिवारसँग बस्न चाहिरहेका छन् । सोहीकारण रिसोर्टमा उनीहरुको आकर्षण बढेको हो । अर्कोतर्फ मूल्यमा पनि हामीले आन्तरिक पर्यटकलाई आश्वस्त पार्न नसकेको जस्तो देखिएको छ । कुनै बेला रिर्सोटभन्दा तारे होटेलहरुको खर्च कम हुन्छ । भ्यालेन्टाइन डे वा न्यू इयरमा हामीले ल्याउने प्याकेज रिर्सोटभन्दा सस्तो हुन्छ । त्यस बेला पनि आन्तरिक पर्यटकलाई हामीले होटेलसम्म तान्न सकेनौं । यसले २०÷२५ किलोमिटर यात्रा पनि होस, केही समय हिंड्न पनि पाइयोस र साथीहरुसँग रमाइलो गर्न पनि सकियोस भन्ने चाहनाबाटै मानिसले रिर्सोटहरुमा बढी खर्च गर्न रुचाएको पाइएको छ । अर्कोतर्फ आन्तरिक पर्यटकलाई आकर्षित गर्न बजारीकरणले पनि ठूलो भूमिका खेल्ने रहेछ । काठमाडौंको तारे होटेलकै ब्राण्डमा धुलिखेलमा रिर्सोट खोल्यो भने नेपाली पाहुना त्यो रिर्सोटमा जान समेत आनाकानी गर्ने रहेछन । ठूला होटेलले नेपाली पाहुनाको वीचमा बजारीकरण गर्न नसकेकै हो ।
ठूला होटेलको संकट र समाधानको उपाय
नेपालमा आन्तरिक पर्यटकले नधान्ने र विदेशी पर्यटक नै चाहिने ठूलो लगानीका होटेलहरु अहिले पनि संकटमा छन् । यहाँ पर्यटक आउन खासगरी हवाई यात्रा सहज हुनुपर्छ । अहिले भारतबाट दैनिक दुई उडान भइरहेको छ । खाडी मुलुकबाट केही उडान भइरहेको छ । यो उडानबाट अहिले पर्यटकभन्दा बढी नेपालीले नै यात्रा गरिरहेका कारण त्यसले होटललाई खासै फाइद गर्दैन । नेपालीहरु वैदेशिक रोजगारीमा जाने र आउने भएकै कारण खाडी क्षेत्रको उडान राम्रोसँग भएको हो ।
नेपालमा वार्षिक १२÷१३ लाख पर्यटक भित्रिएको समयमा अहिले विद्यमान होटेलको अक्युपेन्सी आधा मात्र थियो । वार्षिक २० लाख पर्यटक आउने हो भने नेपालका होटेलका कोठा भरिभराउ हुन्छन् भन्ने सरकारी तथ्यांक थियो । तर होटेल व्यवसायीको तथ्यांकले भने वार्षिक ३६ लाख पर्यटक हुँदा मात्र हाम्रो होटेल भरिभराउ हुन सक्ने आंकलन गरेको छ । २० लाख पर्यटक आउँदा पनि हाम्रो ७० प्रतिशतभन्दा माथिको अक्कुपेन्सी हुने थियो । त्यो अवस्थामा विजनेश राम्रो रहेको भन्ने संकेत मिल्थ्यो । त्यसकारण अहिले हवाई मार्गबाट आइरहेको पर्यटकको तथ्यांकअनुसारको पर्यटकले होटेललाई कुनै पनि राहत दिन सक्दैन ।
पूर्वाधारमा ध्यान
कोरोना महामारीपछि होटेल उद्योगमा पर्ने संकट गहिरो र अनिश्चित छ । यसलाई व्यवसायीले पनि गम्भीर रुपमा लिएका छन् । एउटा होटेलमा दैनिक दुई÷तीन रुम मात्र बिक्री भएको छ भने त्यो होटेल खोल्नु भन्दा बन्द गरेर राख्नु उचित हुन्छ । कर्मचारीलाई पनि होटेल पूर्ण क्षमतामा खुलेको बेला मासिक तलवको तुलनामा थप आकर्षक आम्दानी हुन्छ । उनीहरुको मनोवल समेत बढ्छ । सोहीकारण अहिले केही होटेल बन्द भएका छन् । यसरी बन्द भएका होटेल लामो समयसम्मै बन्द हुन्छन् वा पाहुना आएसँगै पुनः सञ्चालनमा आउँछन्, त्यो भने पर्खनु नै पर्ने हुन्छ ।
यद्यपि संकटले अवसर पनि सँगै लिएर आएको हुन्छ । एमएस ग्रूपले कोरोना महामारीकै बीच तेस्रो परियोजना ल्याउने योजना बनाएको छ । कुनै पनि व्यापार वा उद्योग शुरु गर्न कम्तीमा दुई वा साढे दुई वर्ष त्यसको निर्माणमा लगाउनु पर्छ । साढे दुई वर्षपछि त अन्तर्राष्ट्रिय पर्यटन बजार अहिलेको जस्तो संकटको अवस्थामा रहने छैन । त्यसबेला हामीले धमाधम सेवा दिनुपर्ने हुन सक्छ । थामि नसक्नु संख्यामा पर्यटक आउन सक्छन् । किनकी नेपाल संसारको गुणस्तरीय पर्यटन सेवा प्रदान गर्ने मुलुकमध्ये सबैभन्दा सस्तो गन्तव्य हो । यहाँको होटेल, खाना, बस्न, घुम्न वा यातायात अन्य मुलुकको तुलनामा निकै सस्तो पर्छ ।
उदाहरणका लागि कुनै बेला काठमाडौंबाट सुर्खेत जाने मूल्यमा भारत वा चीनबाट जहाज चढेर काठमाडौं आउन सकिन्छ । एउटा चिनियाँ पर्यटकले काठमाडौं झर्नासाथ अन्तर्राष्ट्रिय भ्रमणको छाप लगाउन सक्छ । काठमाडौंमा उसले आफ्नो क्षमताअनुसार जुनसुकै तहको आतिथ्य सेवा प्राप्त गर्छ । निस्फिक्री घुम्न सक्छ । कुनै एक भारतीय मुम्बईबाट दिल्ली जानुको साटो उत्तिकै वा त्यो भन्दा सस्तो मूल्यमा काठमाडौं आएर विदेशी मुलुकमा घुमफिर गर्न सक्छ । उसको पासपोर्टमा विदेश भ्रमण गरेको प्रमाण बस्छ । त्यसकारण पर्यटनमा नेपाल एक अपार सम्भावना बोकेको मुलुक हो ।
तर, हामीले विदेशी वा आन्तरिक पर्यटक आउन भन्ने अपेक्षा राख्छौं भने त्यसअनुसारको पूर्वाधार बनाउने जिम्मेवारी पनि हाम्रै हो । उनीहरु आउने वातावरण बनाउनु प¥यो । स्तरीय पूर्वाधार निर्माणका लागि अहिले पर्यटक नआएको समय सदुपयोग गर्न सकिन्छ । पर्यटकलाई बढी भन्दा बढी भुल्ने वातावरण बनाउन सक्यो भने उनीहरुले मनग्य खर्च गर्छन् । पर्यटनले विविधिकरणको समेत अपेक्षा गरेको छ । काठमाडौंबाट नगरकोट जाने सडक निर्माणमा १० वर्ष लगाउनु भएन । किनकी नेपालका लागि काठमाडौ भनेजस्तै काठमाडौंका लागि नगरकोट एक आकर्षक पर्यटकीय गन्तब्य हो । त्यहाँ पर्यटक लैजान मुश्किल होइन, सहज बनाऔं, पर्यटक एक रात उतै बस्नेछ ।
सरकारी प्याकेज कति सकारात्मक ?
सरकारले बजेटबाट पुनकर्जाका लागि प्याकेज ल्याएको छ । यो प्याकेजको सीमा निकै कम छ । सरकारले यस्तो प्याकेज ल्याउँदा कम्तिमा लगानीका आधारमा सीमा निर्धारण गर्नुपर्छ । सानो र ठूलोको लगानीलाई एउटै प्याकेजमा राख्दा व्यावहारिक हुँदैन । १०÷१५ करोड रुपैयाँसम्मको मात्र ऋणको सीमाले ठूलो लगानीका होटेललाई खासै सहयोग गर्दैन । यसबाहेक व्यवसायीले अहिले कोरोनाभाइरसको संक्रमण नियन्त्रण गरी मुलुक सुरक्षित रहेको सन्देश दिन भूमिका खेल्नुपर्छ । अहिले परीक्षण घटेको छ । त्यसलाई बढाउने र छिटो भन्दा छिटो खोप वितरणलाई फराकिलो बनाउनु पर्ने देखिन्छ । त्यसो गर्न सकियो भने कोरोना नियन्त्रणमा आएको मुलुकबाट पर्यटक आकर्षित गर्न सकिन्छ ।
अबको बाटो
नेपालमा पर्यटकीय गतिविधि बढाउने हो भने भारतका छिमेकी राज्यलाई केन्द्रित गरी त्यहाँबाट सुरक्षित रुपमा भारतीय पर्यटक यहाँ ल्याउन सकिन्छ । बिहारमा अहिले खर्च गर्न सक्ने ठूलो जनसंख्या तयार भएको छ । उनीहरु काठमाडौं आउन नसक्लान तर वीरगञ्ज, विराटनगर वा नेपालगञ्जका होटेललाई उनीहरुको विजनेश महत्वपूर्ण हुन्छ । भैरहवाबाट पाल्पा हुँदै पोखरासम्म पनि भारतीय पर्यटकलाई लैजान सकिन्छ । यसले अर्थतन्त्रमा निकै सहयोग पुग्छ ।
सरकारले कोरोनापछि बन्द गरेका धेरै क्षेत्र खुला गरिरहेको सन्दर्भमा अब क्यासिनो पनि खुला गर्नुपर्छ । नेपाल क्यासिनो गन्तव्यका रुपमा भारत र बंगलादेशमा परिचित छ । ती क्षेत्रमा उडान पनि सुचारु भएका कारण अब कोभिड सुरक्षासम्बन्धी सतर्कता अपनाएर क्यासिनो संचालनमा ल्याउन सकिन्छ । साउदी र यूएईबाट पनि क्यासिनोमा पर्यटक आकर्षित गर्न सकिन्छ । यसले पनि पर्यटन क्षेत्रको पुनरुत्थान गर्न निकै सहयोग पुग्छ । क्यासिनोले होटेलको अक्कुपेन्सी ८÷१० प्रतिशतसम्म बढाउन भूमिका खेल्न सक्छ । यसले हालको संकट कम गर्न समेत सहयोग पुग्नेछ । अन्ततः यसको फाइदा राज्यलाई नै हुने हो ।
अहिले पर्यटन बोर्डबाट विभिन्न गन्तव्यमा पुनः प्रचारप्रसार गर्न जाने कुरा सुनिन्छ । जब मुलुकभित्रैको अवस्था संकटपूर्ण र अन्यौलपूर्ण छ भने विदेशमा गएर हाम्रोमा आउ भन्दै गरिने प्रचारप्रसारको महत्व हुँदैन । बरु अवस्था सामान्य नभएसम्म हामी अधिकतम लगानी पूर्वाधारमा गरौं । मुलुकभित्रको छवि सुधारमा लागौं । यसले भोलि पर्यटकले नेपाललाई हेर्ने नजर नै फरक पर्न जान्छ । राज्यको अबको प्राथमिकता पूर्वाधारमा हुनुपर्छ । लगानीकर्ताले समेत बजारको आकार हेरेर लगानी गर्नुपर्छ । ( एमएस ग्रूपका उपाध्यक्ष अग्रवालको यो लेख चेम्बर स्मारिकाबाट साभार गरिएको हो )