Logo

टेलिकमका पोष्टपेड ग्राहकलाई सुविधा, रेन्टल चार्जवापतको रकमबाट पोस्टपेड प्याक खरिद गर्न मिल्ने

टेलिकमका पोष्टपेड ग्राहकलाई सुविधा, रेन्टल चार्जवापतको रकमबाट पोस्टपेड प्याक खरिद गर्न मिल्ने



काठमाडौं । टेलिकमका पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेण्टल शुल्क (रेन्टल चार्ज) तिर्नु पर्ने हुन्छ । यसको अर्थ ग्राहकले थोरै रकमको सुविधा प्रयोग गरे पनि रेण्टल वापतको उक्त रकम तिर्नैपर्ने हुन्छ ।

कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पुरानै हो ।

जुन अहिले पनि कायम छ । यही रेन्टल चार्ज वापतको रकमबाट पोस्टपेड प्याक खरिद गर्न, कुनैपनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ ।

पछिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न प्याकमा प्रयोगकर्ताको आकर्षण बढदै गएको छ । ग्राहकले प्याक प्रयोग गर्दा रेन्टल चार्ज भन्दा छुट्टै रकम काटिन्छ ।

सस्तो दरका डेटा र भ्वाइस प्याक उपलब्ध भएकाले ग्राहकले यो रेन्टल चार्जको रकममा खासै ध्यान दिइरहेका हुँदैनन् । सामान्यतः नेपाली महिनाको अन्तितममा अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल तयार हुन्छ ।

उक्त महिनामा रेण्टलभन्दा थोरै रकम प्रयोग गरेको भएपनि ३८३.०७ रुपैयाँ जोडेर त्यो महिनाको हिसाब गरिन्छ । मानौं, कुनै ग्राहकले महिनामा सय मात्र प्रयोग गरेको भएपनि ३८३.०७ नै काटिन्छ ।

यस्तो अवस्थामा आफ्नो २८३.०७ रुपैयाँ कता हरायो भनेर प्रयोगकर्ता झुक्किने गरेका छन् ।कम्पनीको जीएसएम पोस्टपेड सेवामा विगत लामो समयदेखि यसरी नै बिलिंग हुने गरेको थियो ।

तर हाल सस्तो दरका प्याकहरु उपलब्ध भएपश्चात् धेरै ग्राहक अन्यौलमा परिरहेका छन् । उदाहरणका लागि कुनै पोस्टपेड मोबाइल प्रयोगकर्ताले २०० रुपैयाँको प्याक प्रयोग गरेको छ भने प्याक (भ्वाइस वा डेटा) वापतको २०० रुपैयाँ र रेन्टल चार्ज वापतको ३८३.०७ रुपैयाँ गरी ५८३.०७ रुपैयाँ तिर्नुपर्छ ।

मानौं १४ तारिखका दिन ग्राहकको मोबाइलमा बाँकी रकम चार सय रुपैयाँ थियो भने सो रकम काटिएर थप १८३.०७ तिर्नुपर्ने हुन्छ । पोस्टपेड ग्राहकको यही अन्यौललाई सम्बोधन गर्न कम्पनीले हाल ‘पोस्टपेड प्याक’ उपलब्ध गराइरहेको छ ।

रेन्टल चार्ज वापतको रकमबाट प्रयोगकर्ताले यो प्याक खरिद गर्नसक्छन् । यसबाट ग्राहक झुक्किने सम्भावना समेत नरहने कम्पनीले जनाएको छ ।

यो प्याक प्रयोग गरी कम्पनीको नेटवर्कभित्र र बाहिर कल गर्न, एसएमएस पठाउन र डेटा चलाउन सकिन्छ । पोस्टपेड प्याक लिनका लागि आफ्नो पोस्टपेड मोबाइलबाट *1415*2# डायल गर्नुपर्ने हुन्छ ।

यसैगरी *400# डायल गरी पोस्टपेड मोबाइल बिलको जानकारी लिन सकिन्छ । सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यू अमाउन्टको रुपमा देखिन्छ ।

यसमा देखिने अभाइलेबल क्रेडिट भने ग्राहकले जुनसुकै बेला जुनसुकै प्रयोजनका लागि उपयोग गर्न पाउने रकम हो । साथै सोही बिल कम्पनीको वेबसाइटमार्फत तथा कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि हेर्न सकिन्छ ।

यसैगरी कम्पनीको एपबाट आफूले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड अर्थात युजेज हिस्ट्रीमार्फत हेर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुन्छ ।

साथै रेण्टल चार्ज समेत उपयोग गर्न सकिने गरी पोस्टपेड प्याक उपलब्ध भएकाले कम्पनीको जीएसएम पोस्टपेड सेवा थप आकर्षक हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्