Logo

नेपालमा फाइभजी सञ्चालन परीक्षणमै अल्झियो, मन्त्रालयमा उपकरण आयातको अनुमति रोकिदा थप ढिलाई

नेपालमा फाइभजी सञ्चालन परीक्षणमै अल्झियो, मन्त्रालयमा उपकरण आयातको अनुमति रोकिदा थप ढिलाई



काठमाडौं , पछिल्लो समय विश्वले अपनाएको पछिल्लो पुस्ताको फाइभजी सेवा नेपालमा भने परीक्षणकै चरणमा अल्झिएको छ । सन २०१९ मा विश्वका केहि देशबाट सुरु भएको पाँचौ पुस्ताको फाइभ–जी प्रविधि हाल धेरै देशले अनुसरण गरिसकेका छन् । नेपालमा पनि यो प्रविधि जडान गरी संचालनमा ल्याउनका लागि सरकारी स्वामित्वको दूरसंचार कम्पनी नेपाल टेलिकमलाई सरकारले अनुमति दिएको थियो ।

कम्पनीले अनुमति पाएकै २ बर्ष पुगेपनि यसको जडान, परीक्षण र नतिजा दिन सकेको छैन । हुन त नेपाल टेलिकमले २०७८ कात्तिकमा नेपालभरका मुख्य ४ शहरमा फाइभ–जी परीक्षणको लागि नेपाल दूरसंचार प्राधिकरणबाट अनुमति पाएको थियो । प्राधिकरणले टेलिकमलाई ३ महिनाकै अवधिमा फाइभ–जी परीक्षणका लागि उपकरण भित्र्याएर जडान गरी परीक्षण गर्न निर्देशन दिएको थियो ।

सोहीअनुसार गत बर्षको पुसमै बबरमहल र सुन्धारा केन्द्रबाट टेलिकमले फाइभ–जीको परीक्षण गरेको घोषणा गरेको थियो । यतिले मात्रै नपुगेर नेपाल टेलिकमलेसातै प्रदेशका मुख्य मुख्य शहरमा फाइभजी परीक्षण गर्ने बताएको थियो । तर, अहिलेसम्म पनि टेलिकमले थप परीक्षणको काम अघि बढाउन सकेको छैन् । नेपाल टेलिकमले थप चार प्रदेशमा फाइभजी परीक्षणका लागि उपकरण आयातको प्रक्रिया अघि बढाएको थियो । यसअघि मधेस, बागमती र गण्डकी प्रदेशमा उपकरण जडान गरी आन्तरिक रुपमा परीक्षण गरिसकेको टेलिकमले कोशी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि फाईभजी परीक्षणका लागि गरेको आवश्यक तयारी भने अन्यौलमा परेको हो ।

टेलिकमले नेपाल दूरसंचार प्राधिकरणसँग उपकरण आयातको अनुमति मागेको थियो । यता प्राधिकरणले भने नेपाल टेलिकमको सिफारिस मागको आवेदन संचार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको जानकारी दिएको छ । नेपाल टेलिकमले गत बर्षको मंसिरमै प्राधिकरणसमक्ष उक्त उपकरण आयातको सिफारिसका लागि आवेदन दिएको थियो । त्यसपश्चात करिव ३ महिना अघिमात्रै प्राधिकरणले उक्त सिफारिस संचार मन्त्रालयमा पठाएको प्राधिकरणका एक अधिकारीले बताए । उनका अनुसार प्राधिकरणमा उपकरण आयातका लागि मागिएको सिफारिस प्राधिकरणबाट मन्त्रालयमा पुग्छ । मन्त्रालयले उपकरण आयातमा सहजीकरण गर्न भन्सार विभागलगायतका निकायलाई निर्देश गर्छ ।

मन्त्रालयबाट उपकरण आयातको सिफारिस पास नहुँदा उपकरण आयात हुन सकेको छैन । यसैका कारण नेपाल टेलिकमको अन्य ४ प्रदेशमा फाइभजी परीक्षण गर्ने कार्य रोकिएकोजस्तो भएको छ । हालसम्म ३ प्रदेशका ४ स्थानमा उपकरण जडान गरेर आन्तरिक रुपमा परीक्षण गरिसकिएको र बाँकी ४ प्रदेशमा पनि परीक्षणको तयारी गरिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । उनका अनुसार अन्य ४ प्रदेशमा फाइभजी परीक्षणका लागि आवश्यक उपकरण आयातको अनुमति माग गरिएपनि हालसम्म अनुमति पाईएको छैन ।

हाल टेलिकमले बागमती प्रदेशको काठमाडौंमा सुन्धारा र बबरमहलबाट फाईभजीको आन्तरिक परीक्षण गरिरहेको छ । यस्तै गण्डकी प्रदेशको पोखरामा र मधेश प्रदेशको वीरगंजमा पनि फाईभजीका उपकरण जडान गरी आन्तरिक परीक्षण प्रक्रिया अघि बढाईसकेको छ । सोहीअनुसार फाईभजीका उपकरण जडान गर्न बाँकी ४ प्रदेशका लागि उपकरण आयातको अनुमति सरकारसमक्ष मागेको हो ।

यसअघि फोरजी सेवा विस्तार गरिरहेका जेडटीई र हुवावेले नै फाइभ–जी परीक्षणका उपकरण ल्याएर जडान गर्ने सहमति भएको थियो । सोही नुसार दुई कम्पनीहरुले काठमाडौं पोखरा र विरगंजमा उपकरण जडान गरी परीक्षण गरिरहेको टेलिकमले जानकारी दिएको छ । फोरजीको सम्झौता हुँदा नै फोरजी विस्तार गरिरहेका कम्पनीहरुले निःशुल्क फाइभ–जी परीक्षण गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL