Logo

निष्क्रिय सिमकार्डका कारण नेपाल टेलिकमको जीएसएम ग्राहक घटे, एफटीटीएच भ्वाइसतर्फ आकर्षण

निष्क्रिय सिमकार्डका कारण नेपाल टेलिकमको जीएसएम ग्राहक घटे, एफटीटीएच भ्वाइसतर्फ आकर्षण



काठमाडौं । नेपाल टेलिकमको ग्लोबल सिस्टम फर मोबाइल (जीएसएम) प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको नयाँ म्यानेजमेन्ट इम्फरमेसन सिस्टम (एमआइएस) प्रतिवेदन अनुसार १ बर्षको अवधिमा टेलिकमका जीएसएम प्रयोगकर्ता ५ लाख बढिले घटेका छन् ।

गत बर्ष २०७८ को भदौ महिनामा नेपाल टेलिकमको भ्वाइसतर्फ जीएसएम सेवा प्रयोगकर्ता २ करोड ८ लाख २४ हजार ६ सय ४३ थिए । चालु बर्षको सोही अवधि अर्थात भदौ महिनासम्म आईपुग्दा भने टेलिकमको जीएसमएम सेवा प्रयोगकर्ता घटेर २ करोड ३ लाख १९ हजार ९ सय ६८ जना पुगेका छन् ।

नेपाल दूरसंचार प्राधिकरणले निश्चित समयसम्म निष्क्रिय रहेका सिमकार्डहरुलाई रद्ध हुने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार १२ महिनासम्म संचालनमा नआएका सिमकार्डहरु निष्क्रिय भएकाले तथ्यांकमा जीएसएम प्रयोगकर्ता घटेको देखिएको टेलिकमका सहायक प्रवक्ता रञ्जित लोहिया बताउँछन् ।

उनका अनुसार लामो समयसम्म कुनै प्रयोगकर्ताको सिमकार्ड नचलेको अवस्थामा अर्थात सक्रिय नरहेको अवस्थामा यस्तो सिमकार्ड स्वतः निष्क्रिय हुन्छ । सोही अनुसार हाल तथ्यांकमा देखिएको आँकडा भने सक्रिय सिमकार्डको मात्रै रहेको उनले बताए ।

‘प्राधिकरणको नियमअनुसार नै हामीले लामो समयसम्म सिमकार्ड नचलेमा त्यो निष्क्रिय हुने प्रणालीको विकास गरेका छौं’ उनले भने, ‘सिमकार्ड स्वतः निष्क्रिय भएपछि स्वतः तथ्यांकमा प्रयोगकर्ता घटेको देखिन्छ ।’ यस्तै यस अवधिमा टेलिकमको सीडीएमए प्रयोगकर्ता भने सोचेअनुसार नघटेको तथ्यांकमा उल्लेख छ हुन त टेलिकमले गत बर्षदेखि नै सीडीएमएका ग्राहकलाई जीएसएममा विस्थापित गर्ने घोषणा गरिसकेको छ ।

तर, यसरी घोषणा गर्दा पनि सीडीएमएका प्रयोगकर्ता भने सोचेअनुसार घटिसकेका छैनन् । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार एक बर्षको अवधिमा टेलिकमको सीडीएमए प्रयोगकर्ता जम्मा १ हजारले घटेका छन् । गत बर्षको भदौसम्म ३ लाख २० हजार रहेका सीडीएमए प्रयोगकर्ता यो बर्षको भदौसम्म आईपुग्दा ३ लाख १९ हजार पुगेका छन् ।

टेलिकमले चालु आर्थिक बर्षभित्रै धेरैभन्दा धेरै सीडीएमए प्रयोगकर्तालाई जीएसएम सेवातर्फ प्रतिस्थापन गराइने सहप्रवक्ता लोहिया बताउँछन् । नयाँ प्रविधि भित्रिएसँग पुरानो प्रविधि विस्तापन गर्नुपर्ने सिद्धान्तअनुसार कम्पनीले सीडीएमए तामाको तारबाट दिइने फोन सेवालगायत विस्थापन गर्दैछ । यसअन्तर्गत टेलिकमको एफटीटीएचमार्फत दिईने भ्वाईस सेवामा भने ग्राहक बढेको छन् ।

तथ्यांकअनुसार यो सेवातर्फ एक बर्षको अवधिमा ८५ हजार सेवाग्राही थपिएका छन् । गत बर्षको भदौसम्म एफटीटीएचमार्फत टेलिकमको भ्वाईस सेवा लिने ग्राहकको संख्या १ लाख ४७ हजार थियो । यो बर्षको भदौमा उक्त तथ्यांक बढ्दै २ लाख ३२ हजार माथि पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL