काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मीमा आजदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको सेवा विस्तार सुरु गरेको छ । यस्तै, गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटिटिएचमय भई कपर फ्रि नेटवर्क बनेको छ । कपर फ्रि नेटवर्क हुँदा अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्न समेत सहज हुने कम्पनीको भनाइ छ ।
तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्पmत एउटै रेशाबाट ब्रोडव्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डेटा उपलब्ध हुनेगरी सेवा उपलब्ध गराइएको टेलिकमका प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । गण्डकी प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश ठाँउहरुमा एफटिटिएच सेवा क्रमिक विस्तार गर्दै उपभोक्ता लक्षित सेवा उपलब्ध गराइने उनले बताए ।
त्यसैगरि, नेपाल टेलिकम सरकारी स्वामित्वको संस्था भएकाले सहुलियत दरअनुसारकै ‘उच्च गति न्यून दर’ को एफटिटिएच सेवा उपलब्ध गराइएको दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले बताए । यस सेवामार्फत् उपभोक्ताले आफ्नो इच्छा अनुसार इन्टरनेटको स्पिड प्राप्त गर्न सक्नेछन् ।
सामान्य घरमा प्रयोग हुने ८ एमबिपिएसदेखि लिएर स्कुल तथा कलेजलाई आवश्यक पर्ने ८० एमबिपिएस स्पिडसम्मको उच्च गतिको फाइबर इन्टरनेट सस्तो दरमा प्राप्त गर्न सकिने बताइएको छ । कम्पनीका अनुसार वार्षिक प्याकेज अनुसार यो सेवा लिने ग्राहकले पिएसटिएन टेलिफोनको न्युनतम मासिक महसुल वर्षैभरी निःशुल्क प्राप्त गर्नुको साथै अन्य छ प्रकारका सेवाहरु समेत निःशुल्क पाउने छन् ।