Logo

टेलिफोन र इन्टरनेटको पहुँच नेपालको जनसंख्याभन्दा बढीमा पुग्यो, कसको बजार हिस्सा कति ?

टेलिफोन र इन्टरनेटको पहुँच नेपालको जनसंख्याभन्दा बढीमा पुग्यो, कसको बजार हिस्सा कति ?



काठमाडौं । नेपालको कुल जनसंख्याभन्दा बढी अर्थात झण्डै १ सय ४० प्रतिशत जनसंख्यासम्म टेलिफोन सेवा पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको गत पुष मसान्तसम्मको तथ्यांक अनुसार हालसम्म ४ करोड २२ लाख ८२ हजार जनासम्म टेलिफोनको पहुँच पुगेको हो । यो संख्या नेपालको हालको कुल जनसंख्याको आधारमा ३९ दशमलव ८७ प्रतिशतले बढी हो ।

यस्तै सूचना तथा सञ्चारको संवाहक मानिएको ब्रोडब्याण्ड इन्टरनेट सेवासमेत १२२ दशमलव ५१ प्रतिशत जनसंख्यासम्म पुगिसकेको छ । प्राधिकरणको तथ्यांकलाई आधार मान्दा नेपालमा हाल ब्रोडब्याण्ड इन्टरनेटको पहुँचमा रहेको जनसंख्या ३ करोड ७० लाख ३५ हजार ८ सय ४९ रहेको छ ।

दिनप्रतिदिन दूरसंचार सेवाप्रदायकले आफ्नो सिम वितरणलाई तीव्र बनाउँदा र इन्टरनेटको विस्तारमा वृद्धि गर्दा यो संख्या जनसंख्याका आधारमा बढी देखिएको प्रािधकरणका अधिकारीहरु बताउँछन् । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार धेरैजसो सेवाप्रदायकले आफ्नो सेवामा तीव्र विस्तार गरिरहँदा सेवाग्राहीको संख्यामा वृद्धि देखिएको हो । धेरैजसो सेवाग्राहीले एकभन्दा बढी सेवाप्रदायकको सेवा प्रयोग गर्ने हुनाले पनि सेवाग्राही बढी देखिएको हो । तर, देशका धेरैजसो स्थानमा अझै पनि डाँडामा गएर, रुखमा चढेर फोन गर्ने समस्या भने बाँकी नै छ ।

तथ्यांकलाई आधार मान्दा पनि नेपाल टेलिकम एक्लैले हालसम्म २ करोड २२ लाख ८ हजार बढी सिमकार्ड वितरण गरिसकेको छ । यता दोस्रो ठुलो दूरसंचार सेवाप्रदायक मानिएको एनसेलले पनि हालसम्म १ करोड ६८ लाख ७७ हजार बढी सिमकार्ड वितरण गरेको छ । एनसेलले आफ्नो टेलिफोन सेवा जीएसएम प्रविधिमार्फत मात्रै दिने गरेको छ । यता नेपाल टेलिकमले भने आफ्नो टेलिफोन सेवा जीएसएम, सिडीएमए, फाईबर, भिस्याटलगायतका प्रविधिबाट दिने गरेको छ ।

यसरी टेलिकमको भिस्याटमार्फत टेलिफोन सेवा उपभोग गर्नेको संख्या ८६, सिडीएमएमार्फत ३ लाख २१ हजार, पीएसटीएनमार्फत ५ लाख २४ हजा, डब्लुएलएलमार्फत १ लाख १७ हजार र एफटीटीएचमार्फत १ लाख ८२ हजार जना छ । नेपाल टेलिकम र एनसेललको सिम वितरणको वृद्धिदर मात्रै हेर्ने हो भने पनि पछिल्लो १ बर्षमा उल्लेख्य देखिन्छ । कम्पनीहरुले आफ्ना सक्रिय ग्राहकको संख्या मात्रै बुझाउँदा पनि गत बर्षको पुष मसान्तको तुलनामा यो बर्षको पुषसम्म टेलिफोन सेवाग्राही १० प्रतिशतले बढेका छन् ।

यता ब्रोडब्याण्ड इन्टरनेटको पहुँचमा रहेको संख्या पनि जनसंख्या भन्दा २२ प्रतिशतले बढी नै छ । दूरसंचार र इन्टरनेट सेवाप्रदायकले गरेको सेवा विस्तार, सरकारको प्राथमिकतालगायतका कारण ब्रोडब्याण्ड इन्टरनेटमा सर्वसाधारणको पहुँच बढ्दै गएको प्राधिकरणका प्रवक्ता बताउँछन् । तथ्यांक अनुसार हाल नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँचमा पुगेको जनसंख्या ३ करोड ७० लाख ३५ हजार पुगेको छ । यो संख्या गत बर्षको पुष मसान्तको तुलनामा १ करोड २३ लाखले बढी हो । गत बर्षको पुष मसान्तसम्म जम्मा २ करोड ४७ लाख जनसंख्यासम्म ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुगेको थियो । तर पछिल्लो एक बर्षमा मात्रै थप १ करोड २३ लाख जनाको पहुँचमा यो पुगेको छ ।

ब्रोडब्याण्ड इन्टरनेटमा सबैभन्दा बढी हिस्सा नेपाल टेलिकमकै छ । पुष मसान्तसम्म नेपाल टेलिकमले विभिन्न प्रविधिमार्फत उपलब्ध गराएको ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गर्नेको संख्या २ करोड ४ लाख ५५ हजार छ । यस्तै यसै अवधिसम्म एनसेलले उपलब्ध गराउने मोबाईल ब्रोडब्याण्डको पहुँचमा रहेको जनसंख्या ८२ लाख २३ हजार हुँदा विभिन्न इन्टरनेट सेवाप्रदायकले विस्तार गरेको सेवाको पहुँचमा रहेको जनसंख्या ८० लाख ४५ हजार जना छ । यस्तै नेपालको तेस्रो ठुलो दूरसंचार सेवाप्रदायक मानिएको स्मार्टसेलको इन्टरनेट चलाउनेको संख्या पुष मसान्तसम्म १ लाख ६४ हजार छ । यो संख्या गत बर्षको तुलनामा कम हो । गत बर्ष स्मार्ट टेलिकमको इन्टरनेट चलाउनेको संख्या २ लाख १९ हजार थियो ।

दूरसंचार सेवाप्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले आफ्नो ब्रोडब्याण्ड सेवा मोबाईल, थ्रिजी, फोरजीलगायतका प्रविधिमार्फत दिने गरेका छन् । जसमा पछिल्लो समय विस्तारित फोरजीका प्रयोगकर्ता मात्रै १ करोड ५० लाख ५८ हजार पुगेका छन् । यसमा पनि बढी हिस्सा नेपाल टेलिकमकै छ । पुष मसान्तसम्म नेपाल टेलिकमको फोरजी सेवा प्रयोगकर्ता ८७ लाख ७० हजार हुँदा एनसेलका ६१ लाख २३ हजार जना छन् । यसरी बजार हिस्साकै कुरा गर्दा टेलिफोन सेवामा ५४.४७ प्रतिशत हिस्सा नेपाल टेलिकमको, ३९.९२ प्रतिशत हिस्सा एनसेलको र ५.६० प्रतिशत हिस्सा स्मार्ट टेलिकमको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL