Logo

क्यान इन्फोटेक २०२१ आगामी बैशाख २८ देखि आयोजना हुने, ६ दिनसम्म चल्ने इन्फोटेकमा पेपरलेस टिकटको व्यवस्था गरिँदै

क्यान इन्फोटेक २०२१ आगामी बैशाख २८ देखि आयोजना हुने, ६ दिनसम्म चल्ने इन्फोटेकमा पेपरलेस टिकटको व्यवस्था गरिँदै



काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्षको ‘क्यान इन्फोटेक २०२१’ आगामी २०७८ साल बैशाख २८ गतेदेखि जेठ २ सम्म आयोजना गर्नै भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त २७ औं इन्फोटेक यो बर्ष ३ महिना पछि गर्न लागिएको हो । विगतका वर्षहरुमा साधारणतया पुस, माघ र फागुन महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, यो वर्ष २०२१ मा भने कोविड–१९ का कारण गत वर्ष भन्दा करीब ३ महिना ढीला गरी आयोजना हुंदैछ ।

ढीलै भए पनि क्यान महासंघले क्यान इन्फोटेकको आयोजनाको प्रवन्ध मिलाएको क्यानका अध्यक्ष नवराज कुँवरले जानकारी दिए । इन्फोटेकमार्फत कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने उनले बताए ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन प्रभु पेले गरेको छ । सह–प्रायोजन वल्र्डलिंक कम्युनिकेशनको रहेको छ साथै प्राज्ञिक साझेदारको रुपमा सनवे कलेज र डिजिटल डिस्प्ले साझेदारको रुपमा अल्ट्रा एलइडि रहेको छ । प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै प्रिण्ट र अफिसियल प्रायोजन समेत खुला गरिएको छ । प्रायोजकहरुले स्तरअनुसारको स्टल तथा भिआईपी तथा सामान्य पासहरु, उद्घाटन र समापन समारोहमा निम्ता, सञ्चारमाध्यका विज्ञापनमा लोगो तथा गेट तथा अन्य प्रवद्र्धनका सामग्रीमा लोगो प्रदर्शनीलगायतका सुविधाहरु पाउने छन् ।

सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने बताईएको छ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यो प्रर्दशनी सुचना प्रबिधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारि लिने थलो पनि हुने बिश्वास पनि महासंघले लिएको छ ।

क्यान इन्फोटेक २०२१ ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने छ ।

क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा संचार प्रविधि सम्वन्धि रोजगार केन्द्र मुख्य रहनेछन् ।

प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राख्नेछन् ।

त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।

गत वर्ष करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इनफोटेकको यो संस्करणमा सोहि संख्यामा अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ। यस पटकको इन्फोटेकमा प्रवेश टिकट लाई पेपरलेस गरिने बताईएको छ । साथै क्यान इन्फोटेक २०२१ का लागि मिति २०७७ चैत्र ८ गते देखि प्रदर्शनिकर्ताका निम्ति अनलाईन बुकिङ समेत खुल्ला हुनेछ।

प्रतिक्रिया दिनुहोस्