काठमाडौं । विभिन्न बिदेशी कम्पनीका लागि नेपालमा वार्षिक अर्बौ रुपैयाँको एनिमेशन निर्माण भई निर्यात भइरहेपनि राज्यकै उदासीनताका कारण बार्षिक करोडौं रुपैयाँको कर गुमिरहेको छ ।
सरकारले नेपालमा निर्माण गरेर हलिउडलगायत विभिन्न बिदेशी कम्पनीका लागि निर्यात हुने गरेको एनिमेशनलाई पनि करको दायरामा ल्याउने उद्घोष गरेपनि सरकारकै कारण गुमिरहेको हो ।
नेपालमा विभिन्न कम्पनीले कार्यालय र्नै राखेर बिदेशी कम्पनीका लागि एनिमेसन बनाउने र पठाउने गर्दै आएका छन् । तर, हालसम्म न यसको वास्तविक तथ्यांक कसैसँग छ न करको दायरामा ल्याउन सकिएको छ । विदेश निर्यात हुने प्रत्येक वस्तु तथा सेवामा आयकर लाग्ने भएपनि एनिमेशन प्रोडक्सन कम्पनीहरुले नेपाललाई आयकर नतिरिकनै बार्षिक अर्बौ रुपैयाँको एनिमेशनहरु विदेश निर्यात गर्ने गरेका छन् ।
हालसम्म आन्तरिक राजस्व विभागले एनिमेशन वा त्यस्तै प्रकारको फिल्महरु निर्माण गरी निर्यात गरिएको बारे पत्तो पाएको छैन । नेपालमा एनिमेशन उत्पादन गरी विदेशमा निर्यात गर्ने र आयकर नतिरेको उजुरी आएमा त्यस्ता कम्पनीलाई करको दायरामा ल्याउन सकिने विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डे बताउँछन् । उनका अनुसार वस्तु आयातको बारेमा जानकारी भएपनि अनलाइनमार्फत गरिने सेवा निर्यातको बारेमा भने प्राय पत्तो हुँदैन । यस्ता सेवाहरु कुनै एक कोठामा बसेर अनलाइनको माध्यमबाटै निर्यात गरिने भएकाले पनि निर्यात भएनभएको छुट्याउन अप्ठ्यारो हुने उनको भनाई छ ।
यस्तै उनले यस्ता सेवाहरु उत्पादन गर्ने कम्पनीहरुले कम्पनीको उद्धेश्य एक राखेर अर्को काम गरिरहेकाले पनि करको दायरामा तत्कालै ल्याउन मुस्किल परेको उनले बताए । ‘एनिमेशन बनाउने वा सफ्टवेयर निर्माण गरी बाहिर पठाउने कम्पनीहरुले ट्रेनिङ एकेडेमीको उद्धेश्य राखेर दर्ता भएका हुन्छन्,’ उनले भने, ‘हामीले कर लिँदाखेरी ट्रेनिङवापतको लिने र उहाँहरुले पनि उद्धेश्यअनुसार नै आयकर तिर्ने गर्नुभएको छ ।’
नेपालमा उत्पादित तमाम डिजिटल सेवाको निर्यातबारै ठोस बैधानिकता हालसम्म नभएकाले यसको निर्यातको तथ्यांक खासै नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । उनका अनुसार हाल नेपालमा डिजिटल सेवाहरु आयात निर्यातको वैधानिक पाटो स्पष्टसँग छुटिएको छैन । सोहीअनुसार यसको निर्यात कति वा कसरी हुन्छ भन्ने पनि स्पष्ट नभएको उनको भनाई छ ।
पछिल्लो समय धेरै जसो नेपाली सफ्टवेयर निर्माता कम्पनीहरुले नेपालमा बनाएको सफ्टवेयर यूरोप, अमेरिका, अष्ट्रेलियामा बिक्री गर्दै आएका छन् । जसवापत बार्षिक रुपमा करोडौं, अर्बौै रुपैयाँ भित्रने गरेपनि सरकारले भने सोवापतको राजस्व गुमाउँदै आएको छ ।
यस्तै एनिमेशन र सफ्टवेयर वस्तुगत नभई सेवामुलक भएकाले यसको खास तथ्यांक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ९टीईपीसी० मा समेत पाइँदैन । हालसम्म नेपालमा सफ्टवेयर निर्माणसम्बन्धी हजारैं कम्पनी दर्ता भएपनि उनिहरुले निर्यात गर्ने सेवाको आँकडा भने नेपालका कुनै पनि सरकारी निकायमा नरहेको पाईएको हो ।
नेपालमा हाल माया एनिमेशन एकेडेमी, रेन मेकर्स एनिमेशन एकेडेमी, ब्ल्याक बक्स एनिमेशन एण्ड भीएफएक्स एकेडेमी, इन्सेसेण्ट रेन एनिमेशन स्टुडियोज, एक्लिप्स एनिमेशन एकेडेमी आईड्रिम स्टुडियो, नेपक्रियसनलगायतका एकेडेमीहरुले ट्रेनिङसँगै एनिमेशन, भिएफएक्स उत्पादन गरी विदेश निर्यात गर्ने गरेका छन् ।
यस्ता कम्पनीहरुले दर्ता गर्दा एक उद्धेश्यले गर्ने र अर्कै कारोबार गरी कर तिर्दा उद्धेश्यको आधारमा कर तिर्ने गरेका छन् । यसरी उद्धेश्य बाहिरको कारोबार गरी कर भुक्तानीमा भने संकुचित हुनेगरेको आन्तरिक राजस्व विभागका एक अधिकारीले जानकारी दिए । उनका अनुसार नेपालमा एनिमेशन उत्पादन गरी लुकिछिपी विदेशमा पठाउने प्रक्रिया पछिल्लो समय बढ्दो छ ।
एनिमेशन फिल्म निर्माण र प्रयोगका लागि धेरै लागत लाग्ने भएपनि नेपालमा बनाईएको एनिमेशन भने बाहिर पठाउने गरिएको छ । नेपालमा एनिमेशनको रुपमा विज्ञापन र छिटफुट वृत्तचित्र मात्रै बनाउने गरिएको छ । एउटा अध्ययनका अनुसार सन् २०१९ सम्म आइपुग्दा विश्वभर एनिमेशन उद्योगको व्यापार झन्डै २६४ अर्ब डलर पुगेको छ । एनिमेशनसँग सम्बन्धित उत्पादनको पनि गणना गर्दा उक्त आकार ५ सय अर्ब डलर पुग्ने बताइन्छ । यसको वृद्धिदर हाल बार्षिक ३ देखि ४ प्रतिशतले भईरहेको छ ।
अमेरिका र जापानलाई एनिमेशनको क्षेत्रमा अग्रणी मानिन्छ । अहिले एनिमेशनमा काम गर्न भारत र चीनमा पनि ठूलो सङ्ख्यामा स्टुडियोहरू छन् । नेपालमा भने केही कम्पनीहरुले यसको प्रयोग गरेपनि यसको प्रचलन पछिल्लो समय त्यति देखिँदैन । अमेरिका, चीनलगायत धनी र विकसित राष्ट्रहरुमा एनिमेशन र भिएफएक्सको प्रयोग गरी चलचित्र निर्माण गर्ने गरेका छन् । जसका कारण चलचित्र क्षेत्रबाटै ती देशहरुले अर्बौंको आम्दानी गर्ने गरेका छन् ।
के हो एनिमेशन ?
तस्वीरहरूको निरन्तर संयोजनबाट विकसित हुने चलायमान प्रस्तुति नै एनिमेशन हो । धेरै तस्वीरहरूलाई एकअर्कामा जोडेर गतिशील बनाइन्छ । विभिन्न प्रक्रिया पूरा गरी तस्विरहरुलाई पूर्ण एनिमेशन बनाईन्छ । जस्तै, चलचित्र, विज्ञापन, भिडियो गेम अथवा अन्य कुन उद्देश्यका लागि एनिमेशन बनाउन लागिएको हो त्यसै अनुसार हातले अथवा कम्प्युटरबाटै चित्र बनाएर कम्प्युटर प्रणाली ९डिजिटलाइज प्रोसेस० मा लार्नुपर्छ । फोटोशप प्रोग्राममा त्यस्तो चित्रलाई उतारेर ९डिजिटल स्टोरी बोर्ड पनि भनिन्छ० स्टोरी बोर्डमै चित्रमा गर्नुपर्ने परिवर्तन, पात्रहरु तथा पृष्ठभूमिमा गर्नुपर्ने अन्तिम परिवर्तन गर्न सकिन्छ ।
स्टोरी बोर्डमा तयार गरिएको अन्तिम रूपलाई यसपछि एनिमेशनसँग सम्बन्धित सफ्टवेयर ९माया, थ्रीडी म्याक्स, एडोब प्रिमियरलगायत० बाट खोलिन्छ । स्टोरी बोर्डमा तयार गरिएको डिजाइनलाई थ्री डाइमेन्सन अर्थात् थ्रीडीमा बदल्ने गरिन्छ । त्यसपछि मोडलिङ प्रोसेसमार्फत रेण्डरिङलगायतका प्रक्रिया पूरा गरी एउटा पूर्ण एनिमेशन तयार हुन्छ र अडियो राख्ने काम हुन्छ ।