Logo

९० प्रतिशत जनसंख्या मोवाइल सेवामा, सवैमा पुग्यो टेलिफोनको पहुँच

९० प्रतिशत जनसंख्या मोवाइल सेवामा, सवैमा पुग्यो टेलिफोनको पहुँच


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

१२ साउन, काठमाडौं । नेपालको सवै जनसंख्यामा टेलिफोन सेवाको पहुँच पुगेको छ । भर्खरैमात्र नेपाल दूरसञ्चार प्राधिकरले सार्वजनिक गरेको रिपोर्टले यस्तो देखाएको हो । उक्त तथ्याङ्क अनुसार नेपालका जनसंख्याभन्दा बढीमा टेलिफोन सेवा पुगेको देखिन्छ ।

केन्द्रिय तथ्याङ्क विभागको तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९३ हजार ५ सय ४ जना रहेको छ । तर, प्राधिकरणको तथ्याङ्क अनुसार हालसम्म २ करोड ६८ लाख ६५ हजार ७ सय ९० जनाले टेलिफोन सुविधा उपभोग गरिरहेका छन् । यो संख्या जनसंख्याको आधारमा १ सय १ दशमलव ४० प्रतिशत हो । कतिपय उपभोक्ताले आवश्यकता भन्दा बढी सिम लिएर होल्ड गरिराखेकाले पनि जनसंख्याभन्दा बढीमा टेलिफोन सेवा पुगेको देखिएको नेपाल दूरसंचार प्राधिकरणका सह–प्रवक्ता अचुतानन्द मिश्रले बताए । ‘हामीले सिम लिएको आधारमा तथ्याङक निकालेका हौं,’ उनले भने, ‘एकै जनाले बढी सिम लिने भएकाले यो संख्यामा २ सय प्रतिशत पनि पुग्न सक्छ ।’ तर, उपभोक्ताले कतिपय सिम लिएर नचलाई राखेको समेत उनले जानकारी दिए ।

नेपालमा पछिल्लो समय मोवाइल सेवाप्रदायकको संख्या उच्च रुपमा बढेको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार ९० दशमलव ४० प्रतिशत जनसंख्या मोवाइल सेवाको पहुँच पुगेको देखिन्छ । जस अनुसार हालसम्म नेपालका २ करोड ३९ लाख ५२ हजार ५१ जनाले मोवाइल सेवा प्रयोग गर्दै आएका छन् ।

मोवाइल सेवा प्रदायकमा सवैभन्दा अघि एनसेल रहेको छ । हालसम्म उसले १ करोड २२ लाख ७१ हजार ९ सय ४५ वटा सिमकार्ड वितरण गरेको छ । एनसेलले मोवाइ सेवामात्र प्रदान गर्दै आएको छ । त्यसैगरी, दोस्रोमा नेपाल टेलिकमले १ करोड ४ लाख ४७ हजार ८ सय ९६ वटा सिमकार्ड वितरण गरेको छ । अर्को मोवाइल सेवा प्रदायक कम्पनी युटिएलले भने १२ लाख ३२ हजार २ सय १० वटा सिमकार्ड वितरण गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । जसमा टेलिकमले पीएसटीएन र डब्लुएलएल सुविधा दिँदै आएको छ भने युटिएलले डब्लुएलएल सुविधा पनि दिँदै आएको छ ।

इण्टरनेटमा टेलिकम अघि

पछिल्लो समय इण्टरनेट चलाउनेको संख्या पनि बढ्दै गएको छ । हाल ४१ दशमलव ३३ प्रतिशत जनसंख्यामा इण्टरनेट सुविधा पुगेको छ । इण्टरनेट तथा डाटा सुविधामा भने नेपाल टेलिकम अघि रहेको छ । नेपालमा ९ इण्टरनेट प्रयोगकर्ताको संख्या कुल १ करोड ९ लाख ५१ हजार रहेकोमा टेलिकमको मात्र हिस्सा ६२ लाख १७ हजार ६ सय रहेको छ । यो संख्या कुल इण्टरनेट प्रयोगकर्ताको झण्डै ५७ प्रतिशत हुन आउँछ । यस्तै एनसेलको ४४ लाख ६३ हजार रहेको छ । आइएसपएिसको १ लाख २० हजार रहेको छ भने स्मार्ट टेलिकमको ८८ हजार रहेको छ तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्