Logo

आयो नेप्सेको आधिकारीक एप, अवाञ्छित गतिविधी रोक्न सहायक हुने

आयो नेप्सेको आधिकारीक एप, अवाञ्छित गतिविधी रोक्न सहायक हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२१ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आधिकारिक मोबाइल एप्लिकेशन आइतवार सार्वजनिक भएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.रामशरण महतले एप्लिकेशन सार्वजनिक गरेका हुन ।

नेप्से, आर्थिक अभियान दैनिक र ब्रेन डिजिट आइटी सोलुशनको संयुक्त सहकार्यमा एप्लिकेशन निर्माण गरिएको हो । एप्लिकेशनमा नेप्सेले कारोबार लगायतका तथ्याङ्क उपलब्ध गराउने, आर्थिक अभियान दैनिकले समाचारको पक्ष हेर्ने , ब्रेन डिजीट र सोर्स कोडले प्राविधिक पक्ष सम्हाल्ने भएको छ ।

‘शेयर बजार अर्थतन्त्रको नशा हो, सही सुचना समयमै दिन सहयोगी यस एप्लिकेशनको प्रयोग पछि नेप्से अर्थतन्त्रको सही अवस्था देखाउने सुचकको रुपमा बिकासित हुँदै जाने छ भन्ने विश्वास गरेको छु, ’ मन्त्री महतले भने । उनले यो प्रक्रियासंगै नेप्से आधुनिकीकरण तर्फ लम्किएको बताए ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले नेप्सेले एप्लिकेशनमा राखेको मार्केट डेप्थ हेर्न सकिने फिचरलाई प्रयोगमा ल्याउने व्यवस्था गर्न सहयोग गर्ने बताएका छन् । उनले यस एप्लिकेशनको शुरुवातसंगै काठमाडौं बाहिरका लगानीकर्ताले समेत बजार बारे बुझ्ने पाउने उल्लेख गरे ।
नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले बजारमा अवाञ्छित गतिविधि रोक्न र सबैलाई समयमै जानकारी दिन नेप्से लागिरहेको र यो एप्लिकेशन त्यसैको एक कडी भएको बताएका छन् । उनले मार्केट डेप्थ हेर्न सकिने व्यवस्था एप्लिकेशनमा रहेको र यसको लागि नीतिगत व्यवस्था गर्न धितोपत्र बोर्डलाई आग्रह गरेका छन् ।

यो नेप्सेको आधिकारिक एप्लिकेशन हो । त्यसैले यसमा बजारका हल्ला मिसिएका समाचार आउदैन,’ आर्थिक अभियान दैनिक प्रकाशक तथा सम्पादक मदन लम्सालले भने । नेप्सेको आधिकारीक एप्लिकेशन गुगल प्ले तथा आइओएसको एप्स स्टोरबाट डाउनलोड गरेर प्रयोगमा ल्याउन सकिन्छ । यो एप्लिकेशनमा कारोबारको लाइभ तथा हरेक दिन बजार बन्द भएपछिको तथ्याङ्कको जानकारी पाउँन सकिने छ । एप्लिकेशनले सूचीकृत कम्पनीहरुको अलग÷अलग करोबारको अवस्थाको बारेमा पनि जानकारी दिने छ । एप्लिकेशनमा नेप्से तथा समूहगत परिसुचक तथा कम्पनीहरुको एक देखि १ बर्ष अवधिको कारोबारको तथ्याङ्क चार्ट मार्फत् प्रस्तुत हुने छ ।

शेयरको प्राथमिक निष्काशन तथा दोस्रो शेयर बजारमा लगानी गर्दाको लागत विवरण समेत यो एप्लिकेशनमा हिसाब गर्न मिल्ने व्यवस्था छ । त्यस्तै, सूचीकृत कम्पनीहरुबारे प्रकाशित हुने समाचार देखि कम्पनीहरुको घोषणा लगायतका सबै जानकारी एप्लिकेशनले दिने छ । लगानीकर्ताले कम्पनीहरुको साधारण सभा लगायत महत्वपूर्ण कार्यक्रममा उपस्थिती जनाउन वा अन्य जानकारी ‘इभेन्ट क्यालेण्डर’ व्यवस्थित गरेमा एप्लिकेशनले नै पुर्व जानकारी दिने छ ।

त्यस्तै, आफुले सुक्ष्म निगरानी गर्नुपर्ने कम्पनीहरुको सुची नै तयार पारेर समेत तीनीहरुको मूल्य गतिविधी यसमा हेर्न सकिने छ । त्यस्तै, ब्रोकर कम्पनीहरुको समेत सम्पर्क ठेगाना रहने यो एप्लिकेशनमा लगानीकर्ताले आफुले कारोबार गर्ने ब्रोकर कम्पनीको स्रोत व्यक्तिलाई पनि सोझै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL