Logo

फोरजी प्रयोगकर्तालाई टेलिकमको सुझाव, नयाँ मोबाईल किन्दा यसरी किन्नुहोस

फोरजी प्रयोगकर्तालाई टेलिकमको सुझाव, नयाँ मोबाईल किन्दा यसरी किन्नुहोस



काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई फोरजी सेवाको अधिकतम फाईदा लिनका लागि त्यही अनुसारको मोबाईल सेट लिनुपर्ने सुझाव दिएको छ । १८०० र ८०० मेगाहर्ज ब्याण्डमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको टेलिकमले विहीबार एक विज्ञप्ती जारी गर्दै उपयुक्त मोबाईलमार्फत मात्रै फोरजीको भरपुर फाईदा लिन सकिने जानकारी दिएको हो ।

ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुन्छ ।

हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेटहरु १८०० मेगाहर्जमा चलाउन सकिने भए तापनि ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल सेट भने सीमित मात्र उपलब्ध भएको पाइन्छ । मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोरजी सेवा उपलब्ध भइरहेकाले फोरजी सेवा प्रयोगमा ल्याउन यही व्याण्ड चल्ने मोबाइल सेट प्रयोग गर्नुपर्ने टेलिकमको सुझाव छ ।

फोरजीको अधिकतम उपादेयताको लागि दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु पनि आवश्यक छ । उपयुक्त मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिन टेलिकमले जानकारी दिएको छ ।

कम्पनीले हाल देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिरहेको छ । त्यसैले फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुन्छ ।

नयाँ मोबाइल सेट किन्दा यसको बक्समा उपलब्ध विस्तृत प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ । यसो भएमा आवश्यकता अनुसार फोरजी वा अन्य प्रविधि प्रयोग गर्न सकिन्छ ।

कम्पनीले निकट भविष्यमा २३०० मेगाहर्ज (ब्यान्ड ४०) मा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको जानकारी दिएको छ । यसको उपलब्धता सँगै ग्राहकले फोरजी सेवालाई अझै बढी सहजताका साथ अझ तीब्र गति र गुणस्तरमा सेवा प्राप्त गर्न सक्नेछन ।

हाल कम्पनीले मुलुकका ६४ जिल्लामा फोरजी सेवा उपलब्ध गराइसकेको छ । यस सेवाका प्रयोगकर्ता मुलुकभर गरी २८ लाख नाघेको टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्