काठमाडौं । नेपाली स्टार्टअप कम्पनी खल्तीले फिनटेक ईन्नोभेसन फन्ड जितेको छ ।
कम्पनीले संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रुपमा आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड जित्न सफल भएको हो ।
खल्तीसँगै एसिया र प्रशान्त क्षेत्रका जम्मा १० वटा उद्यमहरु उक्त इन्नोभेसन फन्डको विजेता घोषित भएका हुन् । उक्त फन्ड जितेपछि खल्तीले महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुलाई व्यवसाय वृद्धी र बजार विस्तारका लागि सहयोग गर्न एक विशेष कार्यक्रम ल्याउने भएको छ ।
खल्तीले उक्त कार्यक्रम कार्यान्वयन गर्न ३ हजार ५ सय महिला आबद्ध भएको संजाल सार्क बिजनेश एशोसिएशन अफ होम बेस्ड वर्कर्स (सबह) नेपाल सँग सहकार्य गर्ने भएको छ । सबह नेपालले गृहिणीहरुको शीपलाई व्यवसायीकरण गरी विभिन्न सामान उत्पादन गर्दै आएको छ । परियोजना सञ्चालन गर्नका लागि यूएनसीडीएफ र युनेस्क्यापले संयुक्त रुपमा खल्तीलाई वित्तीय र प्राविधिक सहयोग प्रदान गर्नेछन् ।
उक्त परियोजना अन्तर्गत पूर्वमा संखुवासभा देखि पश्चिममा दार्चुला सम्मका १२ वटा जिल्लाहरुमा ३ हजार ५ सय भन्दा बढी महिला उद्यमीहरुलाई सहयोग गरिने कम्पनीले जानकारी दिएको छ । खल्तीले उनीहरूलाई आत्मनिर्भर हुन र व्यवसाय थप विस्तार गर्न मदत पुर्याउनेछ ।