काठमाडौं । नेपाल टेलिकमले काभ्रे जिल्लाको सिपाघाटमा १२८ लाईनको नयाँ टेलिफोन एक्स्चेन्ज संचालनमा ल्याएको छ । शनिबार एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त सेवाको उद्घाटन गरेका हुन ।
मन्त्री बासकोटाले नयाँ स्थापित एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन देउपुर वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर सो एक्सचेञ्जको उद्घाटन गरेका हुन ।
उक्त उद्घाटन कार्यक्रममा बोल्दै उनले ‘जहाँ जनता त्यहाँ विकास’ भन्ने नारालाई साकार पार्ने क्रममा सिपाघाटमा सञ्चार सेवा पुर्याइएको र यसबाट सस्तोमा भरपर्दो टेलिफोन तथा इन्टरनेट चलाउन पाइने जानकारी दिएका छन । उनले समृद्ध नेपालको महाअभियानमा नेपाल टेलिकम अत्याधुनिक सूचना र सञ्चार सेवाको पहुँच मुलुकभर पुर्याएर महत्वपूर्ण सहयात्री बनिरहेको पनि बताएका छन ।
सोही कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका कुनाकाप्चाका वासिन्दालाई पनि सेवाको भावनाले सञ्चार प्रविधिका माध्यमबाट जोड्ने र समृद्धिको अभियानमा समेट्ने प्रयास नेपाल टेलिकमले गरिरहेको जानकारी दिएका छन ।
नव शहरका रुपमा विकास भइरहेको सिपाघाटमा गरिएको टेलिफोन र इन्टरनेट सेवाको विस्तार समृद्धिमा सूचना प्रविधिको माध्यमबाट सहयोग पुर्याउने प्रयासको नमूना भएको उनको भनाई थियो ।
कार्यक्रममा एक्सचेञ्च रहेको ६ नम्बर वडाका वडाध्यक्ष डिल्लीप्रसाद आचार्यले आफूहरुको माग बमोजिम नेपाल टेलिकमले एक महिनामै १२८ लाइन टेलिफोन र उत्तिकै क्षमताको एडीएसएल इन्टरनेट सेवा समेत उपलब्ध हुनेगरी योजना सञ्चालन गरिदिएकोमा कम्पनी प्रति कृतज्ञता व्यक्त गरेका छन ।
काभ्रेको सदरमुकाम धुलिखेलबाट करिव २७ किलोमिटर उत्तरमा इन्द्रावती नदीको किनारमा रहेको सो वस्तीमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच पुगेपछि विकासमा फड्को मारिएको महशुस गरेको स्थानीय वासिन्दा बिदुर बानियाँले बताए ।