Logo

सम्झौता नगरेका सेवाप्रदायकको तार प्राधिकरणले काट्दै, के गर्लान सेवाप्रदायक ?

सम्झौता नगरेका सेवाप्रदायकको तार प्राधिकरणले काट्दै, के गर्लान सेवाप्रदायक ?



काठमाडौं । विभिन्न ईन्टरनेट सेवाप्रदायकको लाईन अब नेपाल विद्युत प्राधिकरणले काटिदिने भएको छ । प्राधिकरणले सेवा सम्झौता नगरेका इन्टरनेट तथा केबल सेवा प्रदायकहरुको तार काट्ने भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङ्घले वैशाख २० गते मौखिक रुपमा नै सम्झौता नगरेका सेवा प्रदायकहरुको तार काट्न निर्देशन दिएका थिए । तर लिखित रुपमा उक्त निर्देशन नभएकोमा सोमबार मात्रै विभिन्न वितरण केन्द्रहरुलाई सम्झौता नगरिएका तार काटिदिन पत्र पठाएको छ ।

सोमबार प्राधिकरणले १९ वटा बितरण केन्द्रहरुलाई क्षेत्रीय कार्यालयले अप्टिकल फाइबर केबल सेवा संचालन निर्दे्शिका, २०७३ संशोधन अनुसार इन्टरनेट तथा केबल सेवा प्रदायकहरुको लाईन काटी क्षेत्रीय कार्यालयमा जानकारी दिन निर्देशन दिएको छ ।

सबै बितरण केन्द्रहरुले इन्टरनेट तथा केबल सेवा प्रदायकहरुसँग सम्झौता भएको भए सो बारेमा पनि जानकारी दिनुपर्ने उक्त पत्रमा उल्लेख छ । सम्झौता नभएकाको तत्काल लाईन काटी सो को बिबरण क्षेत्रीय कार्यालयमा उपलब्ध गराउने गरी पत्र पठाईएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

यसअघि इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीहरुले विद्युत प्राधिकरणले पोल प्रयोग गरेबापत लिनुपर्ने भाडा अत्यधिक बढाएको भन्दै सो घटाउन माग गर्दै संचार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले सो रकम तिर्न नसक्ने र त्यसले ग्राहकहरुको इन्टरनेट सेवा शुल्कमा वृद्धि हुने दाबी गर्दै आएका थिए ।

प्राधिकरणले सो निर्दे्शिका २०७५ सालमा संसोधन गरेर नयाँ मूल्य तोकेको थियो जसमा तारको कोरको आधारमा प्रति फाइबर, प्रति महिना, प्रति किलोमिटरको दरमा लिने जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL