काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा आईसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुने भएको छ । नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डको रुपमा चिनिएको ‘आइसिटी अवार्ड’को चौथो संस्करणको तयारी स्वरुप देशका विभिन्न स्थानमा उक्त मेलाको आयोजना हुने भएको हो ।
लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको प्रि इभेन्ट क्याम्पेनको रुपमा बिराटनगर, बुटवल र नारायणगढमा स्टार्टअप मेला आयोजना हुन लागेको छ ।
बैशाख २७ र २८ गते बिराटनगर स्थित होटल स्टर्न स्टारमा, जेष्ठ १० र ११ गते बुटवल र जेष्ठ १७ र १८ गते नारायणगढमा स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुने आयोजकले जानकारी दिएको छ । मेलामा स्थानिय स्टार्टअप आइटी कम्पनी, नयाँ आइटी प्रडक्ट, विद्यार्थीका आइटी प्रोजेक्टहरु र आइटी शिक्षासम्वन्धी स्टलहरु रहनेछन । कार्यक्रममा नयाँ प्रविधि, ट्रेन्ड्स र उद्यमशिलता सम्वन्धी कन्फ्रेन्स समेत सञ्चालन हुनेछन । यसैगरी उत्कृष्ट स्टार्टअप र आइटी प्रडक्टहरुलाई विशेष सम्मान र थप लगानीको आवश्यक भएमा सहयोग गर्ने बताइएको छ ।
स्थानीय स्तरमा स्टार्टअप र विद्यार्थीलाई उपयुक्त प्लाटफर्म सृजना गर्ने र उत्कृष्टलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन र सम्मान गर्ने उदेश्यले मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक राजन लम्सालले जानकारी दिए । काठमाण्डौ वाहिर यस प्रकारको कार्यक्रम पहिलोपटक सञ्चालन भइरहेको र यसले स्थानिय स्तरका स्टार्टअप, उद्यमी र इनोभेसनलाई प्रवद्धन गर्दै सम्भावना र अवसर सृजना गर्न सहयोग पुर्याउने उनले बताएका छन ।
मेलामा बढिमा ५० स्टलहरु रहनेछन भने छुट्टै हलमा वर्कसप कन्फ्रेन्स सञ्चालन हुनेछ । स्टार्टअप र विद्यार्थीका प्रोजेक्टहरुलाई विशेष सहुलियतमा स्टल उपलब्ध गराइएको छ भने प्रवेश निशुल्क राखिएको छ । कन्फ्रेन्समा सहभागि हुन केहि रकम बुझाउनुपर्ने आयोजकले जानकारी दिएको छ ।
यस वर्षको आइसिटी अवार्डको अनलाइन नोमिनेशन जेठ १ गतेदेखि २५ गतेसम्म खुल्ने जानकारी दिईएको छ । चौथो संस्करणको रुपमा आयोजना हुन लागेको आइसिटी अवार्ड २०१९ मा यस पटक विभिन्न ९ विधामा अवार्ड सञ्चालन हुनेछ । अवार्डको ग्राण्ड फिनाले साउन ३२ गते काठमाण्डौमा हुने आयोजकले जानकारी दिएको छ ।