Logo

खल्तीले पायो राष्ट्र बैंकबाट अनुमति, विद्युतीय भुक्तानी देखि मनि ट्रान्सफरसम्मको सुविधा

खल्तीले पायो राष्ट्र बैंकबाट अनुमति, विद्युतीय भुक्तानी देखि मनि ट्रान्सफरसम्मको सुविधा



काठमाडौं । नेपाल राष्ट्र बैंकले खल्ती डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको काम गर्न अनुमति पत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । डिजिटल भुक्तानीका साथै अब खल्तीमार्फत आन्तरिक मनि ट्रान्सफर र विभिन्न किसिमका मोबाईल वित्तीय सेवाहरू पनि उपलब्ध हुनेछन् ।

नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाईसेन्स प्राप्त गरेपछि डिजिटल माध्यमबाट सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याइने खल्तीले जानकारी दिएको छ ।

‘डिजिटल भुक्तानी नेपालमा भर्खरै सुरु भएको नयाँ प्रविधि हो । अझै पनि ग्रामीण भेगमा बिजुलीको महसुल तिर्ने जस्ता सामान्य कार्यको लागि सयौँ रुपैयाँ र पूरा दिन खर्च गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता छ,’ खल्तीका प्रबन्ध निर्देशक मनिष मोदीले भने, ‘नेपाल राष्ट्र बैंकबाट प्राप्त भुक्तानी सेवा प्रदायकको यस आधिकारिक लाइसेन्सले हामीलाई अझै तीब्र रफ्तारका साथ डिजिटल भुक्तानी सेवालाई देशैभर विस्तार गर्न उत्साह प्रदान गरेको छ ।’ सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न ‘डिजिटल नेपाल, समृद्धिको महाअभियान’ भन्ने नाराका साथ भरपूर प्रयास गर्ने उनको भनाई थियो ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाईल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्सको भुक्तानी गर्न सकिनेछ । साथै, खल्ती एप प्रयोग गरी साना–ठूला खुद्रा पसलमा क्यु–आर कोड मार्फत मोबाईलबाटै पैसा तिर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्