काठमाडौं । सिजी लाईफसेलले नेपालमै डाटा सेन्टर रहनेगरी एक सामाजिक सञ्जाल एप सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सिजी ‘बिप एप’ सार्वजनिक गरेको हो । सिजी लाईफ सेल चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेश भर्टिकल हो ।
सिजी ग्रुपले नेपालमै उक्त एपका लागि डाटा सेन्टरको स्थापना गर्दै उक्त एप संचालनमा ल्याएको जानकारी दिएको छ । ‘यो एपका लागि नेपालमै यसको डाटा सेन्टर स्थापना गरेका छौं,’ सिजी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘यसले नेपालीको डाटा बाहिर देशमा जानबाट जोगिनुका साथै नेपालको राजस्वमा पनि योगदान पुग्नेछ ।’
बिप एप एउटा म्यासेजिङ प्लेटफर्म हो जहाँबाट भ्वाईस कल, भिडियो कल गर्न र म्यासेज एवं फाईलको आदान प्रदान गर्न सकिनेछ । साथै, उक्त एपको माध्यमबाट प्रयोगकर्ताले विनिमय दर, मौसम सम्बन्धी जानकारी र समाचारहरुका बारेमा सजिलै जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
यो एप आईओएस र एन्ड्रोईड दुवै मोवाईल अपरेटिङ सिस्टममा चल्छ । यसलाई गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले ल्याएको उक्त एपमा फोनको भाषा परिवर्तन गर्न सकिन्छ भने निशुल्क गेमहरु अनलाईनमार्फत खेल्न सकिने लगायतका सुविधा रहेका छन । यस्तै एपमा १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न सकिने समेत विशेषता रहेको छ ।