Logo

एक बर्षमै फोर जि विस्तार गर्न टेलिकमलाइ निर्देशन, प्रक्रियामा संलग्न सबै जवाफदेही बन्नुपर्ने

एक बर्षमै फोर जि विस्तार गर्न टेलिकमलाइ निर्देशन, प्रक्रियामा संलग्न सबै जवाफदेही बन्नुपर्ने



काठमाडौ । अर्थ समितिले नेपाल टेलिकमको फोरजी विस्तार १ बर्षमा हुनेगरी टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

संघिय संसद प्रतिनिधि सभा अन्तरगतको अर्थसमितिले मंगलबार अन्य निजी सेवाप्रदायकले टेलिकमको भन्दा पछि यसको विस्तारका लागि अनुमती पाएपनि टेलिकम उनिहरुभन्दा पछि परेको भन्दै टेन्डर प्रक्रिया अघि बढाएको १ बर्षभित्रमा काम सम्पन्न हुनेगरी सम्झौता गर्न नेपाल टेलिकम र संचार तथा सुचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

अर्थसमितिले सरकारलाई १ बर्षमा नेपालभर फोरजी सेवा विस्तार सम्पन्न हुनेगरी सम्झौता गर्ने बेलामा प्रयोग हुने उपकरणहरु र गुणस्तरमा पनि कमि नहुनेगरी सम्झौता गर्न आदेश दिएको छ । समितिले उपकरणमा या गुणस्तरमा केही कमी भएको पाइएमा या समयमै काम सम्पन्न नभएमा उक्त आयोजनामा संलग्न सबै जिम्मेवार हुनुपर्ने पनि बताएको छ ।

अर्थसमितिको माघ १० गते र १३ गते बसेको बैठक निश्कर्षविहिन भएपछि मंगलबार बसेको बैठकले उक्त निर्देशन सरकारलाई बुझाएको हो ।

यस्तै फोरजी सेवा विस्तारबाट आगामी ५ बर्षमा कम्पनीको वित्तिय अवस्था सुदृढ भई सरकारलाई प्राप्त हुने राजश्व र लाभांस दोब्बर हुने आधार सहितको विश्वसनीय व्यबसायिक योजना बनाई लागु गर्न अर्थसमितिले टेलिकमलाई निर्देशन दिएको छ ।

टेलिकमले २ बर्ष अघि नै पहिलोपटक काठमाडौं र पोखरामा उक्त फोरजी सेवा संचालनमा ल्याएको थियो । साथैे गत बर्षको कार्तिक ६ गते नेपालभर उक्त फोरजी–एलटिई सेवा विस्तारका लागि आह्वान गरेको थियो । तर टेन्डर आह्वान गरेको केहि महिनापछि अख्तियारमा उजुरी परेर उक्त टेन्डरको फाईल अख्तियारले १० महिना रोकिदिँदा यसको टेन्डर प्रक्रिया रोकिएको थियो ।

२ महिना अघि मात्रै फोरजी विस्तारको जिम्मा संचार तथा सुचना प्रविधि मन्त्रालयलाई नै दिने गरी उक्त फाईल मन्त्रालयको जिम्मामा छोडेपछी मन्त्री गोकुल बास्कोटाले यसको काम अघि बढाएका थिए । नेपाल टेलिकम भन्दा पछि फोरजी सेवा संचालन गरेको एनसेलले नेपालका करिव १० शहरमा यसको विस्तार गर्दै साढे १२ लाख प्रयोगकर्ता पुर्याईसकेको छ । तर नेपाल टेलिकमको उक्त सेवा भने काठमाडौं र पोखरामा सिमित छ । हाल नेपाल टेलिकमको फोरजी चलाउनेको संख्या जम्मा ६ लाख ५२ हजार छ ।

टेलिकमले फोरजी–एलटीई सेवा नेपालभर संचालनमा ल्याएसँगै उक्त सेवाले करिव ६५ लाख प्रयोगकर्तालाई धान्नेछ । हाल विस्तार गर्न लागिएको फोरजी सेवामा नै फाईभ जी लाई पनि धान्न सक्ने क्षमता भएकाले सोही सेवा बाट फाईभ जी सेवा पनि विस्तार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्