Logo

नेपालकै ठुलो स्टार्टअप मेला आयोजना हुँदै, गुगलको बारेमा जानकारी

नेपालकै ठुलो स्टार्टअप मेला आयोजना हुँदै, गुगलको बारेमा जानकारी



काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले जिबिजी बिजफेस्ट आयोजना गर्ने भएको छ ।
ग्रुपले आउने शनिबार नेपालको पहिलो प्रविधि र व्यबसाय सम्बन्धि उक्त प्रदर्शनी गर्न लागेको हो ।

खल्ती डिजिटल वालेटसँगको मुख्य सहकार्यमा गर्न लागिएको उक्त मेला देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने उद्देस्यका साथ आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा विशेष गरी नेपालका सबैभन्दा लोकप्रिय एन्ड्रोइड एप्सका डेभलपरहरु र प्रतिनिधिहरू सहभागि हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमको अवधारणाको बारेमा बोल्दै गुगल बिजनेस ग्रुप काठमाडौंका प्रवन्धक अमित अग्रवाल भन्छन ‘जिबिजि बिजफेस्ट विश्वका विभिन्न देशहरुमा वार्षिक रुपमा आयोजना हुने कार्यक्रम हो । हामी नेपालमा पहिलो पटक यस्तो कार्यक्रम गर्न र देशभरका स्टार्टअपहरुलाई एकै स्थानमा ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ । यस कार्यक्रमका सहभागिहरुले गुगलका नयाँ टुल र आइडिया सिक्ने अवसर पाउनेछन् जुन उनिहरुको व्यापार प्रवर्धन र विस्तार गर्न एकदमै महत्वपूर्ण हुनेछ । यस कार्यक्रममा हामी नेपालका अधिकांश युवा उद्यमीहरू, एप डेभलपरहरु, साथै गुगलका प्रविधि र सेवाहरूमा रुचि राख्ने विद्यार्थीहरू लगायतको सहभागिताको आशा गरेका छौँ ।’

मेलामा देशभरका सयभन्दा बढी स्टार्टअपहरू र एप डेभलपरहरुले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्ने अपेक्षा आयोजकको रहेको छ । साथै, कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक ३ हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ ।

कार्यक्रममा विशेषज्ञहरूले गुगलका विभिन्न नयाँ नयाँ प्रविधिहरु सम्बन्धि कार्यशाला प्रस्तुत गर्नेछन् । साथै, प्रदर्शनीमा ’गुगल माई बिजनेस’ लक्षित एउटा विशेष स्टल रहने छ । प्रदर्शनीमा सहभागि स्टार्टअपहरूले उक्त स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगल बिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् । उक्त निर्देशिकामा सुचिकृत भएपश्चात ग्राहकहरूले व्यवसाय र त्यसको विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यबसायहरु गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखा पर्ने सम्भावना बढ्नेछ ।

यस कार्यक्रमले स्टार्टअपहरुको प्रवर्धन र विकासमा टेवा पुर्याउने आयोजकको विश्वास छ । मेलामा सहभागी स्टार्टअपहरुका लागि स्टल बुकिङ निःशुल्क गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL