काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा प्रयोग हुने भेन्डिङ मेसिन खरिदका लागि टेण्डर आह्वान गरेको छ । कामनपाले पहिलो चरणमा उपत्यकाका विभिन्न ७ ओटा स्थानमा राख्ने भनिएको सो मेशिन खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिएको कामनपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार उक्त मेशिनले मानिसको उच्च चाप भएका स्थानको फोहोर नियन्त्रणमा राम्रो भुमिका खेल्नेछ । ग्लोवल टेन्डर आह्वान पश्चात मेसिन २ महिनाभित्र आईपुग्ने भएको छ । उक्त मेसिन आउने वित्तिकै संचालनमा ल्याइने समेत महानगरले जनकारी दिएको छ ।
उनका अनुसार मेसिन आएलगत्तै कामनपाले उपत्यकाका विभिन्न ७ स्थानमा राख्नेछ ।
कामनपाले केहीदिन अघि उपत्यकाका मान्छेको चाप धेरै भएको ठाउमा फोहोर फाल्ने भेन्डिङ मेसिन राख्ने अवधारणा ल्याएको थियो ।
महानगरपालिकाले प्लाष्टिकजन्य वस्तु प्रयोग गरेपछि त्यसबाट निस्कने फोहरलाई थप व्यवस्थापन र पुनः प्रयोग गर्नका लागि भेन्डिङ मेसिन राख्ने अवधारणा अघि ल्याएको थियो । भेन्डिङ मेसिन एक निश्चित स्थानमा राखिने मेसिन हो । जसमा नागरिकले प्लाष्टिकजन्य फोहोर राखेर आफ्नो परिचय खुलाएपछि प्लास्टिकजन्य सामग्रीको अनुपातका आधारमा सोही व्यक्तिको मोबाइलमा ब्यालेन्स आउँछ । उक्त उपकरणलाई एटिएम प्रयोग गरे जसरी प्रयोग गर्न सकिन्छ ।
भेन्डिङ मेसिन पुनः प्रयोग गर्न सकिने प्लाष्टिकजन्य फोहर संकलन गर्ने भाँडो हो ।
जसमा पानी, कोक, चिजबल, चाउचाउको प्याकेटलाई राख्न सकिन्छ जुन प्लाष्टिक पुनः प्रयोग गर्न सकिन्छ ।
यस किसिमको अभ्यास अन्तराष्ट्रियस्तरमा लामो समयदेखि प्रयोगमा आइसकेको भए पनि नेपालमा भने पहिलो पटक ल्याउन लागिएको हो । सुरुवातको समय भएकाले तत्काललाई अन्तरराष्ट्रिय विमानस्थल, न्यूरोड, दरबारमार्गलगायत मानिसको बढी आवतजावत हुने विभिन्न ७ स्थानमा यस्ता उपकरण राखिने काठमाडौं महानगरले जानकारी दिएको छ ।