काठमाडौं । मंगलबारदेखि एनालग प्रविधिमा चलिरहेका केवल टिभी बन्द हुने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले आजदेखि पहिलो चरणमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा एनालग प्रविधिमा सञ्चालित केवल टिभी बन्द गर्न लागेको हो ।
केहि दिनअघि कात्तिक २७ गतेसम्म सबै केबल टेलिभिजनलाई एनालगबाट डिजिटलमा रुपान्तरण गर्न म्याद दिएको थियो ।
टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपमान्तरण गर्ने उद्देश्यसहित एनालग प्रविधिको टिभी बन्द गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।
यता गाउँपालिकाका लागि भने आगामी बैशाख १५ गतेसम्म प्रविधि अपग्रेड गर्ने समयसीमा तोकिएको छ ।
मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि अपग्रेड नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराइने छ ।
सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन समेत आग्रह गरेको छ । केवल टेलिभिजनहरुलाई महासंघमा आवद्ध टेलिभिजनहरुलाई पनि आजदेखि नै एनालग बन्द हुने मन्त्रालयले जनाएको छ ।
अन्तरराष्ट्रिय दूरसञ्चार युनियनको विश्वभर एनालग प्रणालीलाई विस्थापित गर्ने नीति अनुसार मन्त्रालयले यस्तो गर्न लागेको हो । डिजिटल प्रणालीमा गएसँगै केवलले प्रत्येक टेलिभिजनमा छुट्टाछुट्टै सेटटप बक्स राख्नु पर्ने हुन्छ ।
मन्त्रालयले चरणबद्ध रुपमा तीन बर्षभित्र एनालग प्रणाली पूर्ण रुपमा विस्थापित गर्ने लक्ष्य राखेको छ ।