Logo

चुनाव प्रचारले फेसबुक मार्फत करोडौ रकम बाहिरिदै

चुनाव प्रचारले फेसबुक मार्फत करोडौ रकम बाहिरिदै


रक्षा रेग्मी
0
Shares

काठमाडौं । इन्टरनेटको प्रयोग बढेसँगै अचेल देश विदेशमा भएका सार्वजनिक चासोका घटनादेखि व्यक्तिगत गतिविधिसमेत सामाजिक सञ्जालबाट हेर्न सकिने भएको छ । प्रविधिमा सर्बसाधारणको पहुँच बढेसँगै यो सम्भव भएको हो ।

त्यस्तै फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालबाट आफ्नो व्यापार व्यवसाय, कला वा प्रतिभाको प्रवद्र्धन गर्नेको संख्या बढेको छ ।

त्यसो त चुनावी मैदानमा उत्रिएका नेता तथा कार्यकर्तापनि आफ्नो एजेन्डालगायतको प्रवद्र्धनका लागि फेसबु, टवीटरजस्ता सामाजिक सञ्जाल प्रयोग गर्नबाट चुकेका छैनन् । पहिला पम्पलेट, पर्चालगायतबाट आफ्नो प्रचारप्रसार गरिनेमा अहिले विशेषगरी फेबुकमार्फत भइरहेको देखिन्छ ।

स्थानीय चुनावमा जस्तै आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावका अधिकांश उम्मेदवारले पनि फेसबुमार्फत आफ्नो प्रवद्र्धन व्यापक रुपमा गरेको पाइएको छ । आफ्ना उम्मेदवारको बारेमा गुणगान गाउने देखि प्रतिस्पर्धीको बदख्याँई समेतका लागि फेसबुकको प्रयोग भएको देखिन्छ ।

धेरै मतदाता इन्टरनेटको पहुँचमा रहेकोले पनि आफ्ना भनाईलाई जनतासम्म पुर्याउने तथा जनतासँग जोडिन उम्मेदवार तथा उनका कार्यकर्ताहरुले फेसबुकको प्रयोग गरेका हुन् ।

उम्मेदवारहरुले फेसबुक पेज बनाएर आफ्ना विगतका भाषण, चुनावी एजेन्डा, फोटो सेयर गरिरहेका हुन्छन् । कतिपयले कुनै उम्मेदवारलाई जिताऔं वा हराऔं भन्दै फेसबुक क्याम्पेनिङ गर्न थालेका हुन् ।

कसरी गर्ने फेसबुक क्याम्पेनिङ

कुनै पनि पार्टी, संस्था वा व्यक्तिको नाममा फेसबुक पेज खोल्न सकिन्छ । तर फेसबुक पेज खोल्ने वित्तिकै तपाँइको पेज अरुसम्म पुग्छ भन्ने हुुँदैन । त्यसका लागि फेसबुकलाई निश्चित रकम तिर्नपर्ने हुन्छ । आफुले जति बढी पैसा तिर्यो आफ्नो पेज धेरै जनाको पहुँचमा पुर्याउन सकिन्छ । फेसबुक पेज सामान्य प्रयोगकर्ताले निशुल्क नै खोल्न सक्छन् तर त्यसको प्रमोसनका लागि भने फेसबुकलाई पैसा तिर्नुपर्ने हुन्छ ।

फेसबुकलाई पेपल वा क्रेडिट कार्ड मार्फत मात्र पैसा तिर्न सकिने भएकोले यो सामान्य प्रयोगकर्ताको पहँचमा हुदैन । फेसबुक प्रमोसनकै लागि विभिन्न आइटी कम्पनीहरु खुुलेका छन् । त्यस्ता कम्पनीले निश्चित मात्रामा पैसा लिएर फेसबुकमा लाइक बढाउने तथा धेरै प्रयोगकर्तामाझ पुर्याउने गर्छन् । यस्तो रकमबाट केही हदसम्म त्यस्ता कम्पनीले र बाँकी फाइदा फेसबुकले लिन्छ ।

फेसबुुक क्याम्पेनिङका लागि ५० हजार देखि १ लाखसम्म रुपैयाँ खर्च गर्ने पाइएको छ ।

हाल प्रतिनिधि तथा प्रदेशसभाका ४ हजार ४ सय ८२ उम्मेदवार छन् । तिमध्ये प्राय सबैको फेसबुक पेज छ । फेसबुक प्रमोसनमा एकजनाले कम्तीमा ५० हजार देखि १ लाख रुपैयाँ सम्म खर्च गर्ने गरेका छन् । यसरी ४ हजार ४ सय ८२ उम्मेदवारले कम्तिमा पनि ३३ करोड भन्दा बढी खर्च फेसबुक प्रमोसनमा गरेका छन् ।

कसले गर्ने नियमन ?

जोकोहिले पनि सजिलै खोल्न मिल्ने भएकोले फेसबुक पेजमार्फत कसैको विरुद्ध लेख्नेहरुको जमात पनि बढ्दै गएको देखिन्छ । फोसबुक पेजको नियमन बारे नियम तथा कानुन नभएको नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल बताउँछन् ।

तर त्यहाँ लेखिने ‘कन्टेन्ट’ कसैको मान हानी गर्ने वा व्यक्तिगत आचरणमा हानी गर्ने छ भने उजुरी गरेको अवस्थामा ‘इलेक्ट्रोनिक्स ट्रान्ज्याक्सन एक्ट’ मार्फत कारबाही गर्न सकिन्छ ।

त्यस्तै फेसबुकलाई पैसा तिर्दा विदेशी मुद्रामा तिर्नुपर्ने हुन्छ । त्यो पैसा कसरी तिर्ने गरेका छन् भन्ने अनुशन्धानको विषय हुनसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL