Logo

साढे २ अर्बले घट्यो टेलिकमको अन्तरराष्ट्रिय कल आम्दानी, अनुगमनको तयारीमा प्राधिकरण

साढे २ अर्बले घट्यो टेलिकमको अन्तरराष्ट्रिय कल आम्दानी, अनुगमनको तयारीमा प्राधिकरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमको अन्तरराष्ट्रिय कलबाट हुने आम्दानीमा कमी आएको छ । यस बर्ष टेलिकमले ९ अर्ब रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष अन्तरराष्ट्रिय ट्राफिकबाट ११ अर्ब ५० करोड आम्दानी गरेको टेलिकमले यस वर्ष नौ अर्ब रुपैयाँमात्र आम्दानी गरेको हो ।
यसरी हेर्दा टेलिकमले गत वर्षभन्दा २ अर्ब ५० करोड रुपैयाँ कम आम्दानी गरेको हो ।

टेलिकमले यस बर्ष अन्तरराष्ट्रिय कलबाट यस वर्ष १३ अर्ब ५० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । नेपालका दुरसञ्चार सेवाप्रदायकहरुको आयको मुख्य स्रोत अन्तरराष्ट्रिय कल हो । साथै देशको लागि विदेशी मुद्रा आर्जनको पनि बलियो आधार मानिएको छ ।

इन्टरनेटमा आधारित विभिन्न एप्लिकेशनको प्रयोगले गर्दा अन्तरराष्ट्रिय कल आम्दानी घटेको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । ह्वाट्सएप, फेसबुक म्यासेन्जर, इमो भाइबर जस्ता इन्टरनेटमा आधारित एप्लिकेशनबाट कल गर्न सकिने भएकोले सिधा कलको माध्यमबाट आउने राजश्व गुम्दै गएको उनले बताए ।

यसैबीच नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट नेपाल भित्रने कल वापतको आम्दानी घटेको भन्दै अनुगमन गर्ने तयारी थालेको छ । प्राधिकरणले टेलिफोन सेवा प्रदायकसँगको सहकार्यमा केन्द्रीय प्रणाली स्थापना गर्ने प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

प्राधिकरणले शुक्रवार एक सूचना जारी गर्दै हार्डवेयर र सफ्टवेयर प्रणाली जडान गर्न विदेशी परामर्शदातासँग आवेदन माग गरेको हो । केही समय अघि बसेको विकास समितिको बैठकले अन्तरराष्ट्रिय कलबाट आम्दानी घटेको भन्दै अनुगमन गर्न निर्देशन दिएको थियो । सोहि अनुरुप सफ्टवेयर जडान गरी विदेशबाट आउने वास्तविक कल पत्ता लगाउने छ ।

अर्यालका अनुसार पहिलोचरणमा अन्तरराष्ट्रिय परामर्शदाता छनोट र दोश्रो चरणमा हार्डवेयर र सफ्टवेयर जडान गरिने छ । कलको तथ्यांक संकलनका लागि सबै सेवाप्रदायकको प्रणालीमा हार्डवेयर र सफ्टवेयर जडान गर्ने र त्यसलाई केन्द्रीय प्रणालीमा राखिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्