Logo

बेव साइटबाटै खरिद गर्न सकिन्छ टेलिकमको डेटा प्याक

बेव साइटबाटै खरिद गर्न सकिन्छ टेलिकमको डेटा प्याक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमको विभिन्न डेटा प्याकेज अब वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ । अनलाइनको माध्यमबाट नेपाल टेलिकमका वेवसाइटबाट डेटा लिन सकिने भएको हो ।

यसका लागि अफर डट एनटीसी डट एनइटी डट एनपी मा लग अन गर्नु पर्छ । त्यसपछि आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्नु पर्ने टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत त्यहीँ देख्न सकिन्छ । त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नु पर्छ । पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिने टेलिकमले बताएको छ ।

सबै विवरण भरेर बाइ डाटा प्याक बटन थिचे पछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुन्छ । यसका लागि मोबाइलमा आवश्यक ब्यालेन्स हुनु आवश्यक छ ।

नेपाल टेलिकमको डाटा प्याकेज आफ्नो मोबाइलमा स्टार १४१५ ह्यास डायल गरेर पनि लिन सकिन्छ । त्यसैगरी १४१५ मा एसएमएस पठाएर पनि डाटा प्याकेज लिन सकिन्छ । तर ग्राहकको सुविधाका लागि अहिले अनलाइन माध्यमबाट समेत डाटा प्याकेज लिन सकिने व्यवस्था गरिएको हो ।
नेपाल टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न अफर उपलब्ध गराएको छ । त्यसैगरी सीडीएमए सेवामा रेगुलर र नाइट डाटा प्याकेज उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्