Logo

भूकम्प प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयमा टेलिकमको आईसिटी सेन्टर

भूकम्प प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयमा टेलिकमको आईसिटी सेन्टर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा नेपाल टेलिकमको सहयोगमा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर)  स्थापना गरिएको छ ।

नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टरलगायत अन्य आवश्यक उपकरण उपलब्ध गराएको थियो । साथै मासिक रुपमा ३० जीबी डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

कम्पनीले शारदा मावि. प्याउली भोजपुर, रत्नचुण्डेश्वर मावि. पानीमुण्डे बनेपा, सगरमाथा मावि. ओखलढुंगा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतिदेवी मा.वि. सालु रामेछापमा आईसीटी सेन्टर स्थापना गर्न सहयोग गरेको हो । सोलुखुम्बुको जीवन ज्योति मा.वि. नेलमा पनि केही समयमै आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने तयारी छ ।

नेपाल टेलिकमले गत आव. २०७२÷७३ मा पनि पशुपति कन्या मावि चरिकोट दोलखा, ज्ञानमन्दिर नमूना मावि मेलचौर सिन्धुपाल्चोक, दशरथचन्द मावि छत्रेदेउराली धादिङ, रसुवा उच्च मावि धुन्चे रसुवा र विन्द्रावति उच्च मावि मसेल गोरखामा यस प्रकारको आईसीटी सेन्टर स्थापना गरी सेवा सञ्चालन समेत भइरहेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्ला मध्ये काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक अन्य ११ जिल्लामा आईसीटी सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । सो अनुरुप नुवाकोट, काभ्रेपलाञ्चोक, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा, गोरखा र भोजपुर जिल्लाका एक÷एक वटा सामुदायिक विद्यालयमा आईसीटी सेन्टर स्थापना गरिएको टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्