काठमाडौं । काठमाडौं टेक्निकल स्कुल (केटीएस) को प्रांगण सानो छ । तर, यो सानो प्रांगणबाट हामीले अघि बढाएको काम अर्थात् हाम्रो अभियान धेरै ठूलो छ । नेपाली युवालाई घरआँगनमै राम्रो जीवनयापन गर्ने अवसर दिलाउने विशाल योजनामा हामी अघि बढिसकेका छौँ ।
करिब दुई साताअघि राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०२५ को मञ्चमा उभिएर मैले सरकारले रोजगारी सिर्जना र सीप विकासमा गर्ने हरेक प्रयासमा हामी पनि अग्रभागमा बसेर योगदान गर्नेछौं भनेको थिएँ । २०८१ साल चैत १२ गतेको केटीएसको समुद्घाटन त्यही प्रतिबद्धताको प्रयास हो । यही थलोमार्फत युवालाई स्वदेश र विदेशमा समेत राम्रो अवसर सिर्जना गर्न हामी सफल हुनेमा पूर्ण विश्वस्त छौँ ।
भनिन्छ, कुनै पनि महान कार्यका जननी धेरै हुन्छन् । हाम्रो यो प्रयास एक्लो प्रयास होइन । लगानीकर्ता, व्यवस्थापन, सहयोगी टिम, फ्याकल्टी र विद्यार्थी सबैको एकमुष्ठ उपज हो- केटीएस । तपाईंहरु सबैको विश्वास, कडा परिश्रम र सपनाहरूले यी ल्याबहरु निर्माण भएका छन् ।
हाम्रो मूल ध्येय नेपाललाई कसरी ‘ग्लोबल स्किल पावरहाउस’ बनाउने ? भन्ने हो । त्यसका लागि केटीएसलाई प्राविधिक र व्यावसायिक शिक्षा एवं व्यावहारिक सीपमार्फत पढौँ-पढौँ, सिकौँ-सिकौँ लाग्ने थलो बनाउन सकिन्छ भन्नेमा हामी गम्भीर छौँ । हाम्रो अथक प्रयासले पक्कै पनि केटीएस उत्तम सिकाइको वातावरण भएको पूर्वाधारसहितको स्कुल बन्नेछ ।
किन सीप ? किन आज ?
थोरै व्यक्तिगत कुरा गर्छु । मेरो बुवाआमा दुवै जना दशकौँदेखि शिक्षा क्षेत्रमा हुनुहुन्छ । शिक्षा क्षेत्रको सुधारमा उहाँहरुको जीवनको महत्वपूर्ण कालखण्ड व्यतित भएको छ । मेरो बुवा, जसले सोलुखुम्बुको खुम्जुङ माविबाट शिक्षकको रुपमा करिअर सुरु गर्नुभयो । अहिले सरकारी सेवाबाट निवृत्त भएपछि पनि दिनभर नेपालको परीक्षा प्रणाली सुधार्न प्रयत्नरत हुनुहुन्छ, बिहान-बेलुका विश्वविद्यालयका विद्यार्थीलाई ज्ञान बाँड्नुहुन्छ ।
मेरी आमा अझै पनि महेन्द्र भृकुटी माविमा पढाउनुहुन्छ । वर्षौं भयो तर विद्यार्थीप्रतिको जिम्मेवारी, शिक्षण पेसाप्रतिको लगाव उहाँमा उत्तिकै छ । उहाँहरुसँग जे थियो- शिक्षा थियो, जे दिनुभयो- शिक्षा नै दिनुभयो ।
त्यसकारण उहाँहरुबाट मैले प्राप्त गरेको ज्ञान के हो भने शिक्षा कुनै फ्यान्सी कुरा होइन, वास्तविकता हो, जिन्दगीमा अघि बढ्ने आलम्बन हो, मानिस भएर जन्म लिएपछि आफ्नो क्षमता देखाउने र योगदान गर्ने आधार हो, सजिलो गरी प्रगतिको भर्याङ चढ्ने माध्यम हो । केटीएसमार्फत हामी नेपाली युवाका लागि त्यस्तै सजिलो भऱ्याङ निर्माण गर्ने प्रयास गर्दैछौँ ।
नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनले मानव क्षमताको कुरा गरेका छन् । विकास भनेको केवल पैसा वा मेसिनसँग सम्बन्धित विषय होइन, विकासले मानिस के हुन सक्छन् र के गर्न सक्छन् भन्ने कुरासँग सम्बन्ध राख्छ । विकाससँग सीधा जोडिने मानव क्षमता प्रत्येक व्यक्तिलाई आफ्नो जीवनलाई आकार दिने आधार हो । त्यसकारण, मानिसलाई क्षमताले सुसज्जित पार्ने, उनीहरूको क्षमतालाई उजागर गर्ने तथा आफ्नो बाटो र आफ्नो भाग्यलाई आफैं डोहोर्याउन सक्षम बनाउने गोरेटो केटीएसले कोरेको छ ।
सीप र क्षमताको अभावमा एकातिर स्वदेशमा रोजगारी पाउन नसकेको तितो यथार्थ हामीसामु छ भने अर्कातिर विदेशी भूमिमा पनि सस्तो मूल्यमा श्रम बेच्न नेपाली युवा बाध्य छन् । स्वदेशमा रोजगारीको अभावमा बिदेसिनुपर्ने बाध्यताका बीच कम आयमा काम गर्नुपर्ने अर्को बाध्यतामा हाम्रा युवा छन् । तर, हाम्रा युवालाई सीप र क्षमताले सुसज्जित बनाएर अनि हातमा सीप भरेर र मनमा साहस थपेर यो अवस्थालाई बदल्न सकिन्छ, यो नियतिमा ब्रेक लगाउन सकिन्छ ।
हरेक नेपालीमा अझ भनौँ विशेष गरी युवामा त्यो सीप भर्ने र साहस थप्ने प्रयास हो- केटीएस । हामी हरेक वर्ष कम्तीमा १० हजार युवालाई दक्ष बनाउन चाहन्छौँ । केयर गिभर, हस्पिटालिटी, आईटी प्राविधिक र उद्योगमा चाहिने श्रमशक्ति उत्पादन गर्न चाहन्छौँ । बिजुलीको लाइन मर्मत गर्न, बिरामीको हेरचाह गर्न वा कम्प्युटरमा कोडिङ गर्न सक्ने बनाउन चाहन्छौँ । यो ठूलो वाचा हो जस्तो लाग्दैन, व्यावहारिक कदमहरू चालेर पूरा गर्न सकिने लक्ष्य हो जस्तो लाग्छ ।
गर्ने कसरी ?
युवालाई दक्ष बनाउन र रोजगार, स्वरोजगारमा जोड्न हामी योजनाबद्ध ढंगले अघि बढेका छौँ । हामीले गहिरो अध्ययनपछि केही निष्कर्षसहित कदम चालेका छौँ :
पहिलो, उद्योग र शिक्षाबीचको खाडल
हामीले रोजगारदाताहरूसँग छलफल गरेका छौँ । वस्तुगत संघहरु र महासंघहरुसँग काम गरेका छौँ । बजारको साँचो आवश्यकता थाहा पाएका छौँ । यो हामी गर्न सक्छौँ किनभने हामी आफैँ पनि लगानीकर्ता हौँ, रोजगारदाता हौँ ।
दोस्रो, सीप र तालिमको पहुँच
काठमाडौँमा मात्र होइन, हामी सातवटै प्रदेशमा सीप तथा तालिम केन्द्र बनाउँछौँ । विस्तारै हामी ‘मोबाइल स्किल्स भ्यान’मा देशका कुना-कुना सीपको पहुँच पुर्याउन सक्छौँ । प्रविधिको अधिकतम उपयोग गरेर यसलाई विस्तार गर्नेछौँ ।
तेस्रो, सीप र सिकाइकै गुणस्तर
निरन्तर पूर्वाधार तथा पाठ्यक्रममा लगानी गरेर सीप र सिकाइको गुणास्तर बढाउन सकिन्छ । त्यसमा प्रविधिको उच्च प्रयोगलाई महत्व दिने हाम्रो तयारी छ ।
चौथो, निरन्तर अनुसन्धान र विकास
हरेक इन्छुक नेपालीको स्किल म्यापिङ (मानिसको सीप, ज्ञान र क्षमता पहिचान गर्ने, मूल्यांकन गर्ने र दस्तावेजीकरण गर्ने प्रक्रिया) गर्ने हाम्रो लक्ष्य छ । सरकार एवं विकास साझेदारहरुसँग मिलेर राष्ट्रिय कौशल वेधशाला (नेसनल स्किल्स अब्जरभेटरी) स्थापना गर्ने योजना छ, जहाँबाट कस्तो सीप तथा तालिम दिने र कतिबेला दिने भन्ने श्रमबजारको वास्तविक समय विश्लेषण गर्न सहयोग पुगोस् ।
अन्त्यमा, हामी अरुलाई मात्र सिकाउने होइन, हामी आफैँ पनि सिक्नेछौँ । अझै कसरी राम्रो र नतिजामुखी काम गर्ने भनेर अहोरात्र खट्नेछौँ । आगामी दशकमा न्यूनतम एक लाख नेपाली युवालाई दक्ष बनाउने प्रतिबद्धता जुनसुकै अवस्थामा पूरा गर्नेछौँ । लक्ष्य पूरा हुँदा हामी आफूलाई सफल भएको ठान्नेछौँ, हाम्रा विद्यार्थी भने गर्वसाथ शिर उँचो बनाएर नेपालसहित संसारभर आफ्नो श्रमको मूल्य लिन सक्षम हुनेछन् । सीपयुक्त नेपाली र समृद्ध नेपाल निर्माणमा हाम्रो यो महत्वपूर्ण कदम सावित हुनेछ ।
(काठमाडौं टेक्निकल स्कुल (केटीएस)को उद्घाटन समारोहमा अध्यक्ष मनोज पौडेलले व्यक्त गर्नुभएको मन्तब्यको सम्पादित अंश)