Logo

समृद्धिका लागि विज्ञान प्रविधि : नास्टका उपकुलपति प्राडा दिलीप सुब्बाको विचार

समृद्धिका लागि विज्ञान प्रविधि : नास्टका उपकुलपति प्राडा दिलीप सुब्बाको विचार



काठमाडौं । विज्ञानको प्रभावकारी प्रयोगले मात्रै कुनै पनि राष्ट्रलाई दिगो विकास र समृद्धिको मार्गतर्फ डोहो¥याउन सक्छ । वैज्ञानिक अनुसन्धान, प्रविधिको नवप्रवर्तन र शिक्षामा लगानी गरी समाजलाई आधुनिक, आत्मनिर्भर र दिगो रूपमा विकास गराउन सकिन्छ । विज्ञान बिना समृद्धि सम्भव छैन भन्ने तथ्य विश्वका विकसित र विकासशील राष्टहरुको प्रगतिबाट प्रष्ट हुन्छ । नेपालजस्तो विकासोन्मुख देशको आर्थिक, सामाजिक र दिगो विकासका लागि भने विज्ञान र प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण छ ।

वैज्ञानिक अनुसन्धान, नवीन प्रविधि र डिजिटल रूपान्तरणले नेपालको समृद्धि, पूर्वाधार विकास, स्वास्थ्य सेवा सुधार, कृषि उत्पादकत्व वृद्धि र वातावरणीय सन्तुलनजस्ता क्षेत्रमा ठूलो योगदान दिन सक्छ । विज्ञान र प्रविधिको प्रभावकारी प्रयोगले मुलुकको समृद्धि, औद्योगीकरण तथा दिगो विकासको मार्ग खोल्न सक्छ । सरकारले वैज्ञानिक अनुसन्धान, प्रविधिमा लगानी र प्रविधिमा आधारित नीति निर्माणलाई प्राथमिकता दिएमा नेपाललाई आधुनिक र आत्मनिर्भर राष्ट्र बनाउन सकिन्छ । विज्ञान प्रविधि नेपालको उज्ज्वल भविष्यको आधारस्तम्भ हो ।

राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । विश्वमा विकसित राष्ट्रहरुको विकासको मूल आधार नै समयसापेक्ष प्रविधिको विकास रहेको पाइन्छ । जहाँ विज्ञान र प्रविधिको विकास, प्रवद्र्धन र उपयोग भएको छ, त्यहाँको विकासको दर उच्च रहेको छ । तथापि, नेपालमा समयसापेक्ष र जनताको समस्या समाधान गर्न सक्ने किसिमले विज्ञान र प्रविधिको विकास र प्रयोग हुन सकिरहेको छैन । नेपालको संविधानले विज्ञान तथा प्रविधिलाई देशको विकाससँग आवद्ध गर्दै वैज्ञानिक अनुसन्धान एवं विज्ञान र प्रविधिको आविस्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाको संरक्षण गर्ने नीति आत्मसात् गरेको छ ।

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन नीतिमार्फत वैज्ञानिक अनुसन्धान, प्रविधिको विकास र नवप्रवर्तनलाई दिगो विकासको प्रमुख आधारका रूपमा अघि बढाउने लक्ष्य राखेको छ । नेपालमा विज्ञान र प्रविधिसम्बन्धी नीति पहिलो पटक २०४४ सालमा ल्याइएको थियो । त्यसपछि समयानुसार यसमा संशोधन हुँदै आएको छ । पछिल्लो विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति २०७६ ले वैज्ञानिक सोच, अनुसन्धान, प्रविधि हस्तान्तरण, तथा नवप्रवर्तनलाई प्राथमिकता दिएको छ । यस नीतिले समेत तथ्यमा आधारित अनुसन्धानमा जोड दिँदै जनचेतना अभिवृद्धि गर्ने र समाजमा विद्यमान अन्धविश्वास र कुरुतीलाई निर्मूल गर्ने रणनीति निर्धारण गरेको छ । यस नीतिले विज्ञान तथा प्रविधिका प्रायः सबै विधाहरुलाई समेट्ने प्रयास गरेको छ । कृतिम बौद्धिकता (एआई), नानो प्रविधि, वायो प्रविधि, परमाणु विज्ञान, इञ्जिनियरिङको अधिकतम उपयोग गरी औद्योगिक उत्पादकत्व वृद्धि, उचित व्यवसायीकरण, दिगो पूर्वाधार विकास, जैविक तथा खनिज स्रोतको उपयोग, वातावरण, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण र सुशासन सेवा प्रवाह, साइवर तथा राष्ट्रिय सुरक्षालाई नीतिमा प्राथमिकता क्षेत्रको रुपमा लिइएको छ ।

विज्ञान, प्रविधि र नवप्रवर्तनलाई समृद्ध नेपालको निर्माणका लागि प्रमुख आधारका रूपमा लिइएको छ । सोह्रौँ पञ्चवर्षीय योजनामा योजनाले वैज्ञानिक अनुसन्धान, सूचना प्रविधि र नवप्रवर्तनलाई प्रवद्र्धन गरी दिगो आर्थिक विकास गर्ने लक्ष्य राखेको छ । यस योजनामा विज्ञान प्रविधिसम्बन्धी मुख्य रणनीति र लक्ष्यहरूमा सूचना प्रविधिको विकास, अनुसन्धान तथा नवप्रवर्तन प्रवद्र्धन, कृषि तथा खाद्य सुरक्षामा विज्ञान प्रविधिको प्रयोग, स्वास्थ्य क्षेत्रमा प्रविधिको विस्तार, पूर्वाधार तथा ऊर्जा प्रविधिको प्रयोग, वातावरण तथा जलवायु परिवर्तन न्यूनीकरणका विषयहरुलाई समावेश गरिएको छ ।

नास्टको भूमिका

नेपालमा विज्ञान र प्रविधि क्षेत्रका कार्य गर्ने सर्वोच्च निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले स्थापनादेखि निरन्तर रुपमा समाजमा वैज्ञानिक चेतना अभिवृद्धि गर्ने, जनतालाई वैज्ञानिक ज्ञानद्वारा सू–सुचित पार्ने र तथ्यमा आधारित जानकारी प्रदान गर्ने कार्य गर्दै आएको छ । विज्ञान र प्रविधि क्षेत्र अन्तरसम्बन्धित विषयवस्तु भएकाले एकल संस्थाभन्दा संस्थाहरुबीच सहकार्य र समन्वयबाट उद्देश्य प्राप्तिमा प्रभावकारी हुन सक्दछ ।

प्रदेशस्तरबाट पनि विज्ञान तथा प्रविधिलाई प्रवद्र्धन गर्न विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउन प्रारम्भ भइसकेको छ । नेपाली मौलिक प्रविधिलाई समयसापेक्ष परिमार्जन एवं जनोपयोगी बनाउन आवश्यक प्रक्रिया बढाइसकिएको छ ।

नास्टले यसै वर्ष विज्ञान प्रविधि सूचना प्रणाली केन्द्रको स्थापना गरी विज्ञान प्रविधिको सम्पूर्ण सूचनालाई भण्डारण गरी उपयोगमा जोड दिइएको छ । वार्षिक कार्यक्रमका लागि तय गरेका विभिन्न अनुसन्धान तथा विज्ञान प्रविधिका प्रवर्तनात्मक कार्यक्रमलाई निरन्तरता दिइएको छ । यसको लागि विभिन्न विषयगत वैज्ञानिक उपसमितिहरुलाई क्रियाशिल बनाइएको छ । चालु आर्थिक वर्षमा सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्रको स्थापनाको कामलाई पूर्णता दिई जनशक्तिको व्यवस्था गरेर विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । संरचना एवं पूर्वाधार विकासतर्फ बितेको आर्थिक वर्षमा बायोमेडिकल रिसर्च ल्याबको निर्माण कार्य सम्पन्न भएको छ भने हाल ‘सेकेण्डरी स्टयान्डर्ड डोसिमेट्री ल्याबरेटोरी’को निर्माण कार्य सम्पन्न हुने प्रक्रियामा रहेको छ ।

विदेशी वैज्ञानिक संस्थाहरुसँगको सम्बन्ध र सहकार्यलाई अघि बढाउने काम भएको छ । सन् १९९० देखि इटालीको वैज्ञानिक संस्थासँग मिलेर लोबुचेस्थित पिरामिड ल्याबको प्रयोग गर्दै उच्च धरातलीय अनुसन्धान कार्य गर्दै आएकामा सन् २०१५ देखि सो कार्य अवरुद्ध भएकाले त्यसलाई सूचारु गर्ने व्यवस्था मिलाइएको छ । सन् २०१९ मा जापानको वैज्ञानिक संस्था क्युटेकसँगको सहकार्यमा नास्टले नेपालकै प्रथम न्यानो स्याटलाइट (नेपाल स्याट १) अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यस्तै सन् २०२४ मा भारतको अन्तरिक्ष अनुसन्धान संस्था ‘आएएसआरओ’सँग दोस्रो न्यानो स्याटलाइट (मुनाल) चाँडै प्रक्षेपण गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । भारतको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संस्था ‘सिएसआइआर’सँग विज्ञान तथा औद्योगिक अनुसन्धानका बृहत् विषयमा सहयोग र सहकार्य निम्ति समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । यस संस्थासँगको संयुक्त कार्यक्रम तथा प्रविधि हस्तान्तरणबाट नेपाललाई धेरै फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

यस वर्ष जापानको वैज्ञानिक संस्था ‘सिएसआइएस’सँग ग्लोबल नेभिगेसन स्याटलाइट सिष्टम (जिएनएसएस) प्रणालीलाई नेपालमा प्राकृतिक प्रकोप, आपत्कालीन समस्या पहिचान, यातायात प्रणाली, भूमि व्यवस्थापनजस्ता क्षेत्रहरुमा उपयोग गर्ने गरी समझौता गर्ने काम अघि बढेको छ ।

यसैगरी स्थानीय संस्थाहरुसँग सहकार्य गर्ने काम अघि बढिरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषसँग प्रकृति संरक्षण विषयमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ भने उद्योग वाणिज्य महासङ्घसँग सहयोग र सहकार्यको लागि छलफल सुरु भएको छ ।

विज्ञान तथा प्रविधिको प्रयोग स्वस्थ र सुखी जीवन तथा राष्ट्रिय समृद्धिको प्राप्तिको लागि हुनुपर्दछ । यसको निमित्त राम्रो विज्ञान शिक्षा, अनुसन्धान, प्रविधि नवप्रवर्तन आधारभूत आवश्यकता हो । जनताको जीवनस्तर वृद्धि र देशको समृद्धिको निमित्त विज्ञान र प्रविधिको भूमिकालाई सशक्त बनाउने, वस्तुनिष्ठ र ठोस परिणाममुखी कार्यक्रम सञ्चालन गरी नाष्टको प्रतिष्ठामा वृद्धि गरी नाष्टलाई विश्वस्तरीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने हुन्छ । भावी योजना निर्माण गर्दा सरकारको चालु आवधिक योजना तथा वार्षिक नीति तथा कार्यक्रम, विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, दिगो विकासका लक्ष्यलाई मार्गनिर्देशक मानिनेछ । योजना तयार गर्दा नास्टका विषयगत वैज्ञानिक उप–समितिहरु, नास्टबाट आयोजना गरिएका सम्मेलन, गोष्ठी, छलफलका प्रतिवेदन, अन्तर्राष्ट्रिय वैज्ञानिक संस्थासँगको सहकार्य गर्ने समझदारी, विभिन्न मन्त्रालय एवं राष्ट्रिय संस्थाहरुसँग भएका समझदारी र सम्झौता, राष्ट्रिय योजना आयोगसँगको परामर्श, प्राज्ञसभाको सल्लाह सुुझावलाई आत्मसात गरिएको छ ।

योजनाको कार्यदिशा उत्पादन वृद्धि तथा उद्यमशीलताको विकासमा सहयोग पु¥याउने नवीन प्रविधिहरुको विकास, अनुसन्धानलाई औद्योगिक उत्पादनसँग जोड्ने, विज्ञान शिक्षण आधुनिकीकरण, विज्ञान, गणित, इञ्जिनियरिङ विधामा उच्च अध्ययन गरेका जनशक्तिको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सहयोग गर्नु, भौतिकशास्त्र, रसायनशास्त्र र जीवशास्त्र वा फिजियोलोजी विधामा उत्कृष्ट स्तरको अनुसन्धान हुने वातावरण तयार गर्नु नास्टको लक्ष्य रहेको छ । त्यस्तै विज्ञान प्रविधिको राष्ट्रिय सूचना प्रणाली विकास गर्न युवा वैज्ञानिकहरुलाई अनुसन्धान तथा नवप्रवर्तनको पर्याप्त अवसर प्रदान गर्नु, परम्परागत प्रविधिको प्रवद्र्धन, प्रादेशिक अनुसन्धान केन्द्रहरूको प्रभावकारी सञ्चालन, बाञ्छित भौतिक संरचनाको निर्माणतर्फ लक्षित रहेको छ ।

ती योजनाअन्तर्गतका कार्यक्रमलाई कृषि र खाद्य उत्पादन, स्वास्थ्य, विज्ञान शिक्षा, ऊर्जा, वन पैदावार, जलस्रोत, भौतिक पूर्वाधार, सूचना प्रविधि, औद्योगिक उत्पादन, वातावरण, जलवायु परिवर्तन एवं प्राकृतिक प्रकोपका क्षेत्रहरुमा सञ्चालन गर्ने धारणा रहेको छ । अन्तरिक्ष प्रविधि र उच्च धरातलीय अनुसन्धान तथा भूकम्प पूर्वसूचना प्रणालीको स्थापनालाई पनि महत्व दिइएको छ । उत्कृष्टस्तरको अनुसन्धानको लागि सबल र उत्कृष्ट प्रयोगशालाको निर्माण तथा उत्कृष्ट अन्तरराष्ट्रिय प्रयोगशाला एवं वैज्ञानिकहरुसँग सहकार्य गर्ने, प्रविधि नवप्रवर्तन प्रसार र स्थानान्तरणको लागि प्राविधिक भवनको निर्माण, प्रदेशहरुको विशेषताअनुरुप त्यहाँ स्थापित अनुसन्धान केन्द्रहरुको सुदृढीकरण र क्षमता विकास, वैज्ञानिकहरुको क्षमता विकास गर्ने योजना रहेको छ । यी सबै कार्यमा तीनै तहका सरकार, वैज्ञानिक समुदाय र आम नागरिकको सहयोग, सहकार्य र सद्भावको खाँचो पर्दछ । (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति–प्रा डा दिलीप सुब्बासँग राससका कृष्ण अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्