काठमाडौं । नेपाल टेलिकमले आइतवारदेखि बहुप्रतिक्षित फोरजी सेवाको शुभारम्भ गरेको छ । आज काठमाडौंमा आयोजीत एक कार्यक्रमवीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले फोरजीको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले फोरजी सेवाका लागि बधाई दिँदै ग्राहकप्रतिको जिम्मोवारी पुरा गर्न निर्देशन दिए ।‘अव टेलिकमले सेवाग्राहीबाट गुनासो नआउने गरी सुविधा उपलब्ध गराउनुपर्छ’ उनले भने ।
कार्यक्रममा सूचना तथा संचार सचिव महेन्द्रमान गुरुङले प्रविधिमा आएको विकासलाई अगिंकार गर्दै टेलिकमले फोरजीको शुभारम्भ गरेको बताए । साथै टेलिकमलाई अझ बढी सेवाग्राहीमैत्री बनाउनु आवश्यक भएको जानकारी दिए ।
सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले ७बर्ष ढिलै भएपनि फोरजी सेवाको शुभारम्भ भएकोमा खुशी लागेको बताए । त्यस्तै अहिले ५ सय मेगाहर्जमा फोरजी उपलब्ध गराउँदा थ्रीजीको भन्दा खासै फरक नहुने भन्दै कम्तिमा १० मेगाहर्जको बनाउन सुझाए । साथै निकट भविष्यमा अक्सनबाट २६०० र ७ सय मेगाहर्जको सेवा दिइने समेत जानकारी दिए ।
नेपाल टेलिकमले शुरुमा पोष्टपेड सिममा मात्र फोरजी सेवा उपलब्ध गराएको हो । आगामी माघ २२ गतेबाट प्रिपेडमा पनि फोरजी सेवा उपलब्ध गराउने योजना भएको टेलिकमका प्रवन्ध निर्देशक कामीनी राजभण्डारीले जानकारी दिइन् ।
टेलिकमले प्राधिकणबाट १८०० मेगाहर्ज व्याण्डमा प्रविधि तटस्थताको अनुमती प्राप्त गरी फोरजीको सेवा सञ्चालनका लागि अनुमती अनुसार १५ मेगाहर्ज व्याण्डवीथलाई रिर्फमिङ गरी १० मेगाहर्जमा जिएसएम र ५ मेगाहर्जमा फोरजी शुरु गरिएको हो । टेलिकमको काठमाडौं र पोखरामा गरी ३ लाख ५० हजार ग्राहकलाई समेट्ने लक्ष्य भएको टेलिकमका वायरलेस सेवा निर्देशक अशोक थापाले जानकारी दिए । तर काठमाडौं उपत्यकामा हाल प्रयोगमा आएकामध्ये डेढ लाख मोवाइलमा मात्र फोरजी सञ्चालन गर्न सकिने बताइएको छ । त्यस्तै पोखरामा २२ हजार मोवाइल फोरजी सपोर्ट गर्ने छन् ।
टेलिकमका अनुसार जनवरीभरी फोरजी एक्टिभेट गर्दा ४ दिन निशुल्क सेवा लिन सकिन्छ । जसअनुसार टेलिकमले प्रतिदिन १जीवी गरी ४ जीवी निशुल्क डाटा उपलब्ध गराउन लागेको हो ।
टेलिकमले शुरुमा १८०० मा ५ मेगाहर्ज व्याण्डवीथ प्रयोग गरी फोरजी सञ्चालन गर्दा ३२ दशमलव ४ एमवीपीएस सम्म उपयोग गर्न सक्ने बताएको छ । साथै थप ५ मेगाहर्ज व्याण्डवीथका लागि प्राधिकरणका पत्राचार गरेको जानकारी दिएको छ ।
टेलिकमले विस्तारै फोरजी सेवालाई १५ ओटा महानगर र उपमहानगरमा विस्तार गर्ने लक्ष्य राखेको छ । टेलिकमका अनुसार फोरजी सेवा सञ्चालनका लागि काठमाडौंमा ३ सय ८ ओटा विटीएस टावर थप गरिएको छ । त्यस्तै पोखरामा २५ ओटा टावर थपिएको बताइएको छ । टेलिकमले फोरजी सञ्चालनका लागि ३ दशमलव ६ डलर खर्च गरेको छ ।