Logo

एआई लगानीमा आक्रामक बन्दै टेक जायन्ट ‘अमेजन’, २०२५ मा १०० अर्ब डलर खर्च गर्ने योजना

एआई लगानीमा आक्रामक बन्दै टेक जायन्ट ‘अमेजन’, २०२५ मा १०० अर्ब डलर खर्च गर्ने योजना



काठमाडौं । विश्वको ठूला प्रविधि कम्पनीहरूमध्ये एक अमेजनले २०२५ मा १०० अर्ब डलर पूँजीगत खर्च गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार यो लगानी मुख्य रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी पूर्वाधार विस्तारमा केन्द्रित हुनेछ।

गत वर्ष अमेजनले करिब ८३ अर्ब डलर खर्च गरेको थियो। अमेजनका सीईओ एन्डी ज्यासीले गत अक्टोबरमा नै २०२५ मा पूँजीगत खर्च अझै बढ्ने संकेत गरेका थिए। उनले हालै चौथो त्रैमासिक आम्दानी रिपोर्टपछि लगानीकर्ताहरूसँगको छलफलमा भने, ूहामीले चौथो त्रैमासिकमा मात्र २६.३ अर्ब डलर पूँजीगत खर्च गरेका छौँ, र यही प्रवृत्ति २०२५ मा पनि जारी रहनेछ। यसमध्ये अधिकांश खर्च एआई र एडब्लूएसका लागि हुनेछ।ू

अमेजन हाल एआईको बढ्दो मागलाई पूरा गर्न डाटा सेन्टर, नेटवर्किङ उपकरण र हार्डवेयरमा ठूलो लगानी गरिरहेको छ। कम्पनीले नोभा मोडल्स, ट्रेनियम चिप्स, एआई सपोर्टेड सपिङ च्याटबोट, र तेस्रो पक्षका एआई मोडलहरू समावेश गर्ने बेडरक प्लेटफर्म जस्ता नयाँ प्रविधिहरू ल्याइसकेको छ।

अन्य कम्पनीहरू पनि एआई लगानीमा होडबाजीमा

एआईमा ठूलो लगानी गर्ने प्रतिस्पर्धामा अमेजन मात्र सीमित छैन। गुगलकी अभिभावक कम्पनी अल्फाबेट ले सन् २०२४ मा ७५ अर्ब डलर पूँजीगत खर्च गर्ने योजना सुनाएको छ। माइक्रोसफ्टले २०२५ को आर्थिक वर्षमा ८० अर्ब डलर खर्च गर्नेछ भने मेटाले डाटा सेन्टर र कम्प्युटिङ पूर्वाधारका लागि ६५ अर्ब डलर खर्च गर्नेछ।

नयाँ चिनियाँ चुनौती

यता, प्रविधि बजारमा नयाँ चिनियाँ स्टार्टअप डीपसिक को उदयले एआई लगानी रणनीतिलाई लिएर आशंका बढाएको छ। कम्पनीले आर१ मोडललाई मात्र २ महिना र ६० लाख डलरको लागतमा विकास गरेको दाबी गरेको छ। यसका कारण बजार प्रभावित भएको छ, जसले गर्दा एनभिडिया र ब्रडकमजस्ता चिप उत्पादक कम्पनीहरूले संयुक्त रूपमा ८०० अर्ब डलर बजार मूल्य गुमाएका छन्।

अमेजनको आशा

लगानीकर्ताहरूको चासोबीच अमेजनका सीईओ ज्यासीले एआई प्रविधिमा भइरहेको खर्च लामो समयको लागि फलदायी हुने विश्वास दिलाउने प्रयास गरे। उनले भने, ‘यो एकपटक आउने ऐतिहासिक व्यापारिक अवसर हो। हाम्रो व्यवसाय, ग्राहकहरू र शेयरधनीहरू दीर्घकालीन रूपमा यसबाट लाभान्वित हुनेछन्।’अमेजनले एआई मात्र नभई आफ्ना खुद्रा स्टोरहरूको डेलिभरी गति सुधार्न र लागत घटाउन समेत पूँजीगत खर्च बढाउने बताएको छ।

प्रतिक्रिया दिनुहोस्