काठमाडौँ । टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको छ । अमेरिकी सरकारले जनवरी १९ देखि प्रतिबन्ध लगाउनु केहि घण्टा अघि नै टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको जानकारी दिएको हो ।
अमेरिकाले टिकटकमा चिनियाँ लगानी रहेको र अमेरिकी प्रयोगकर्ताको सुचनामा चीनले पहुँच बनाएको भन्दै टिकटकलाई अमेरिकी लगानी कर्तालाई बेच्न वा प्रतिबन्ध लगाउन कानुन बनाएको थियो । यो कानुन गत बर्षनै अमेरिकी संसदले पारित गरेको थियो । यसका लागि अमेरिकाले टिकटकलाई जनवरी १९, २०२५ सम्मको समय दिएको थियो । अहिलेसम्म टिकटकले आफ्नो अमेरिकाको स्वामित्व अमेरिकी लगानीकर्तालाई दिने विषयमा कुनै कदम नचालेपछि कानुन अनुसार टिकटक प्रतिबन्धमा पर्ने भएको थियो ।
यसैबीच अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिन लागेकाले उनको शपथपछि यो विषयको समाधान हुने विश्वास व्यक्त गरिएको छ । यद्यपी ट्रम्पले टिकटकलाई केहि दिन थप समय दिनसक्ने अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । वर्तमान राष्ट्रपति जो बाइडेनले भने यस विषयमा अब नयाँ राष्ट्रपतिले नै निर्णय लिने भन्दै टिकटकको विषयमा कुनै ठोस निर्णय नलिएर विदा हुने भएका छन् । अमेरिकामा टिकटकका सबैभन्दा बढी १७० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।