काठमाडौं । सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत सेयर हिस्साको खरिदबिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन खारेज गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेज गर्दै केही निर्देशनात्मक आदेश दिएको भए पनि यसको विवरण भने सार्वजनिक भएको छैन।
सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङ्सको सेयर बेलायतमा आधारित स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गर्न लागेको प्रक्रियालाई रोक्नुपर्ने माग गर्दै रिट दायर गरेका थिए।
आजिआटाले टेलिकम क्षेत्रका व्यवसायी सतीशलाल आचार्यलाई करिब ५५ मिलियन अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा सेयर बिक्री गर्ने घोषणा गरेको थियो। उक्त निर्णय सार्वजनिक भएसँगै पुँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा कम मूल्यमा सेयर बिक्री गर्न खोजिएको आरोप लगाउँदै रिट दर्ता गरिएको थियो।
सेयर खरिदबिक्रीसम्बन्धी यो विवादले विभिन्न तहमा प्रश्न उठाएको छ, तर सर्वोच्चले यसबारे थप निर्देशनात्मक आदेश दिएर विवाद समाधानको मार्ग संकेत गरेको छ।