काठमाडौं । अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) र साइबर सुरक्षा एजेन्सी (सिसा) ले हालै सार्वजनिक गरेका विवरणहरू अनुसार अमेरिकाका दूरसञ्चार नेटवर्कहरूमा भइरहेको साइबर आक्रमण चिन्ताजनक मात्र होइन, व्यापक रूपमा फैलिएको पनि छ। अमेरिकी नागरिकहरूलाई आफ्नो सन्देश र फोन कलहरू पूर्ण रूपमा एन्क्रिप्टेड माध्यमबाट गर्न सुझाव दिइएको छ।
साइबर आक्रमण चीनको सरकारी संस्था ‘मिनिस्ट्री अफ पब्लिक सेक्युरिटी’ सम्बद्ध रहेको ‘साल्ट टाइफुन’ नामक समूहले सञ्चालन गरेको आशंका गरिएको छ। यसले अमेरिकी नेटवर्कहरूमा व्यापक पहुँच बनाएर डाटा चोरी गरेको पाइएको छ। सिसाका वरिष्ठ अधिकारी जेफ ग्रिनले नागरिकहरूलाई एन्क्रिप्टेड एपहरू प्रयोग गर्न सुझाव दिँदै भने, ‘डेटा रोक्न सकिएन भने पनि एन्क्रिप्शनले डाटा पहुँच गर्न असम्भव बनाउँछ।’
साल्ट टाइफुन समूहले केही उच्च सरकारी अधिकारी र राजनीतिक व्यक्तिहरूका कल तथा सन्देश सामग्रीमा पहुँच बनाएको पुष्टि भएको छ। तर, सामान्य नागरिकका सन्देश सामग्रीहरू चोरी भएको प्रमाण फेला परेको छैन। तथापि, सन्देश सामग्री र मेटाडाटा चोरी गरिएको तथ्यले अमेरिकी संचार नेटवर्कहरू असुरक्षित रहेको देखाएको छ।
एफबीआईका एक वरिष्ठ अधिकारीले भने, ‘हाम्रो अनुसन्धानले धेरै महत्वपूर्ण र ठूलो परिमाणको साइबर जासूसी अभियानलाई उदाङ्गो बनाएको छ। यो आक्रमणले टेलिकम कम्पनीका नेटवर्कहरूलाई नियन्त्रणमा लिई अन्य गतिविधि सञ्चालन गर्ने सम्भावना देखाएको छ।’
सिसा र अन्य सुरक्षा एजेन्सीहरूले जारी गरेको चेतावनीमा अमेरिकी नागरिकहरूलाई सुरक्षित मोबाइल उपकरणहरू प्रयोग गर्न, समयमै अपडेट गर्ने, एन्क्रिप्शनमा ध्यान दिने र ‘फिसिङ प्रतिरोधात्मक’ सुरक्षा प्रणाली अपनाउन सुझाव दिइएको छ।
एन्ड्रोइडदेखि आइफोनमा पठाइने सन्देशहरू अझै पूर्ण रूपमा सुरक्षित नभएको, जबकि एकै प्रणालीका सन्देशहरू एन्क्रिप्टेड रहने जनाइएको छ। यस्तो कमजोर पक्षले चिनियाँ साइबर हमलाहरूको जोखिम अझै बढाएको देखिन्छ।
अमेरिकी सिनेटले यस आक्रमणबारे छलफल गर्न आगामी डिसेम्बर ११ मा सुनुवाइ गर्ने जनाएको छ। अमेरिकी सञ्चार नेटवर्कहरूलाई सुरक्षित बनाउन दीर्घकालीन उपायहरू अवलम्बन गर्न पनि दबाब बढेको छ।
विशेषज्ञहरूका अनुसार पूर्ण रूपमा एन्क्रिप्टेड म्यासेजिङ प्लेटफर्महरू जस्तै सिग्नल र ह्वाट्सएप प्रयोग गर्नु उपयुक्त हुन्छ। यी प्लेटफर्महरूले आवाज र भिडियो कलहरूलाई समेत सुरक्षित बनाउने सुविधा प्रदान गर्छन्।
यसैबीच, आइओएसको नयाँ संस्करणले आइफोन प्रयोगकर्ताहरूलाई डिफल्ट म्यासेजिङ एप परिवर्तन गर्ने सुविधा दिने तयारी गरिरहेको छ। यसले सुरक्षित प्लेटफर्महरूमा सन्देश आदानप्रदान गर्ने सम्भावनालाई अझ सरल बनाउने अपेक्षा गरिएको छ।
साइबर सुरक्षाको जोखिमलाई कम गर्न अमेरिकी नागरिकहरूलाई एन्क्रिप्टेड माध्यमको प्रयोगमा जोड दिन आग्रह गरिएको छ।