काठमाडौं । सरकारी स्वामित्वको दूरसंचार सेवाप्रदायक नेपाल टेलिकमको नाफा १४ प्रतिशतले घटेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै टेलिकमले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बताएको हो ।
यो गत आवको सोही अवधिको तुलनामा २८ करोड ७८ लाख रुपैयाँ अर्थात १४.२० प्रतिशतले कम हो । गत आवको सोही अवधिमा टेलिकमले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
यस्तै यस अवधिमा टेलिकमको कुल आयमा पनि ५८ करोड ५० लाख अर्थात ५.४९ प्रतिशतको गिरावट आएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले १० अर्ब ६४ करोड आय गरेकोमा चालु आवको सोही अवधिमा जम्मा १० अर्ब ६ करोड रुपैयाँ आय गर्न सफल भएको हो ।
यद्यपी टेलिकमले पछिल्लो समय ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा कमी आएको बताएको छ । साथै ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस एसएमए सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ ।