काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एन्ट इन्टरनेसनलले संयुक्त रूपमा नेपाल पे क्युआर र अली पे प्लस बीचको अन्तरदेशीय भुक्तानी सेवा सुरु गरेको घोषणा गरेका छन्।
सिंगापुरमा आयोजित प्रविधि महोत्सवमा एन्ट इन्टरनेसनलका दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया, र न्यूजील्याण्डका महाप्रबन्धक एडवर्ड युए र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले यो सेवा शुभारम्भ गरेका हुन्।
कार्यक्रममा एनसीएचएलका अध्यक्ष विष्रुत थापा, एन्ट इन्टरनेसनलका अध्यक्ष डगलस फेगिन र विभिन्न देशका विशिष्ट पाहुना तथा सहभागीहरू पनि उपस्थित थिए।
उक्त नयाँ सहकार्यले नेपालमा ८ लाख ७५ हजारभन्दा बढी व्यापारिक केन्द्रमा क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्ने सुविधा उपलब्ध गराउनेछ। यो सुविधाबाट चीन, हङकङ, मकाउ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, र इटलीका यात्रुहरूले आफ्नो देशमा चलनचल्तीमा रहेका डिजिटल भुक्तानी सेवाहरू प्रयोग गरी सजिलै भुक्तानी गर्न सक्नेछन्।
यो सेवाको कार्यान्वयनले ती यात्रुहरूले नेपालको भ्रमण गर्दा आफ्नो देशकै डिजिटल भुक्तानी सेवा प्रयोग गरी सुरक्षित र सहज भुक्तानी अनुभव गर्ने अवसर पाउनेछन्।
एनसीएचएल र एन्ट इन्टरनेसनलबीच २०८१ साल वैशाखमा सम्पन्न समझदारी अनुसार यो सेवा सञ्चालनमा आएको हो। यसले नेपालको पर्यटन र व्यापार क्षेत्रमा सकारात्मक प्रभाव पार्दै नेपाल भ्रमणमा आउने विदेशी यात्रुहरूको लागि भुक्तानीलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
नेपाल पे क्युआर नेपाल सरकारको राष्ट्रिय भुक्तानी प्रणालीको एउटा प्रमुख हिस्सा हो, जसले क्युआर कोड भुक्तानी प्रणालीलाई सबै वित्तीय संस्थाहरूसँग अन्तरसंगठनात्मक रूपमा एकीकृत गराएको छ। यस प्रणालीले नेपालभरका ८ लाख ७५ हजारभन्दा बढी व्यापारिक केन्द्रहरूलाई जोडेको छ, र ४० भन्दा बढी मोबाइल बैंकिङ सेवा, ११ वालेट सेवा तथा कनेक्टआईपीएस मार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा स्थापना भएको कम्पनी हो, जसले नेपालमा विभिन्न डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ। एनसीएचएलले विद्युतीय चेक निकासी, अन्तरबैंक भुक्तानी प्रणाली, खुद्रा भुक्तानी प्रणाली, राष्ट्रिय भुक्तानी अन्तरफलक लगायतका सेवाहरू पनि प्रदान गर्दै आएको छ।
एन्ट इन्टरनेसनलको मुख्यालय सिंगापुरमा रहेको छ। यो कम्पनीले डिजिटल नवप्रवर्तनको माध्यमबाट विश्वव्यापी व्यापारलाई सजिलो बनाउँदै आएको छ। यस सहकार्यले नेपालमा आउने विदेशी पर्यटकका लागि सुरक्षित, छिटो र सहज भुक्तानी अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।