Logo

तीन महिनामै साढे ४ लाखले घटे केवल इन्टरनेटका ग्राहक, फिक्स्ड ब्रोडब्याण्डका ग्राहक मोबाइल इन्टरनेटमा सिफ्ट

तीन महिनामै साढे ४ लाखले घटे केवल इन्टरनेटका ग्राहक, फिक्स्ड ब्रोडब्याण्डका ग्राहक मोबाइल इन्टरनेटमा सिफ्ट



काठमाडौं । गत बर्षको अन्तिम महिना चैतयता ३ महिनामै इन्टरनेट सेवाप्रदायक (आइएसपी)का ग्राहकसंख्यामा उच्च गिरावट देखिएको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत बर्ष चैतदेखि चालु बर्ष असार मसान्तसम्म मात्रै नेपालमा संचालित आइएसपीका ग्राहक ४ लाख ५० हजार २ सय ६८ जनाले घटेका हुन् । यस अवधिमा समग्र इन्टरनेट प्रयोगकर्ताको संख्यामा वृद्धि देखिएपनि आइएसपीको कनेक्सन संख्या भने ओरालो लागेको देखिन्छ ।

प्राधिकरणको तथ्यांकलाई आधार मान्दा गत चैतसम्म नेपालमा संचालित सबै आइएसपीहरुले ३२ लाख ६७ हजार ७ सय ७७ कनेक्सन विस्तार गरेका थिए । तर, असार मसान्तसम्म आउँदा त्यो संख्या घटेर २८ लाख १७ हजार ५ सय ९ मा झरेको छ ।
यस अवधिमा अर्थात ३ महिनामा मात्रै क्लासिकटेकका ग्राहक १ लाख ४५ हजार जनाले घटेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । गत चैतसम्म ३ लाख ८ हजार ८ सय ५५ जना रहेका कम्पनीका ग्राहक असारसम्म घटेर १ लाख ६३ हजारमा झरेका हुन् । यस्तै यसै अवधिमा भायानेटका ग्राहक १ लाख १७ हजारले घटेर २ लाख ७ हजारमा, ब्रोडलिंकका ग्राहक १ लाख ९ हजारले घटेर ४१ हजार २ सयमा टेकमाइन्डका ग्राहक ७१ हजारले घटेर ८० हजार ९ सयमा, सुविसुका ग्राहक ४३ हजारले घटेर २ लाख ५० हजारमा झरेका हुन् ।

यस अवधिमा ठुला आइएसपी मानीने वर्ल्डलिंक र नेपाल टेलिकमका ग्राहक भने केही बढेको प्राधिकरणको तथ्यांकमा देखिन्छ । तथ्यांक अनुसार ३ महिनामा वर्ल्डलिंकले मात्रै आफ्नो ग्राहक संख्यामा १९ हजार २ सय थप्दै ९ लाख १८ हजार पुर्याउँदा नेपाल टेलिकमले ११ हजार ४ सय कनेक्सन थपेर ३ लाख १३ हजार पुर्याएको छ ।

यस अवधिमा डीस मिडियाका ग्राहक ४२ हजारले, सिजी टेलिकम्युनिकेसनका ग्राहक २२ हजारले र वेबसर्फरका ग्राहक ३ हजारले घटेका छन् । प्राधिकरणको तथ्यांकलाई आधार मान्दा ठुला मानिएको माथि उल्लेखित इन्टरनेट सेवाग्राहीका ग्राहक मात्रै ५ लाख २५ हजारले घटेको देखिन्छ । यी कम्पनीका कुल ग्राहक असार मसान्तसम्म २४ लाख ८१ हजार २ सय छन् । गत चैतमा यस्तो संखया ३० लाख ६ हजार थियो ।

अर्थात माथि उल्लेखित १० सेवाप्रदायकले केवल इन्टरनेटमा झण्डै ९० प्रतिशत हिस्सा ओगटेका छन् ।

समग्र इन्टरनेट सेवाग्राहीको संख्या भने पछिल्लो ३ महिनामा १२ लाखले बढेको देखिन्छ । गत चैतसम्म नेपालमा कुल इन्टरनेट सेवाग्राहीको संख्या ४ करोड २३ लाख ४३ हजार रहेकोमा असारसम्म आउँदा ४ करोड ३५ लाख लाख २३ हजारमा पुगेको छ ।
यस अवधिमा इन्टरनेटको माध्यम फिक्स्ड ब्रोडब्याण्ड प्रयोग गर्ने ग्राहकको संख्या १९ लाख ५२ हजारले घटेको छ । गत चैतसम्म फिक्स्ड ब्रोडब्याण्डमार्फत इन्टरनेट उपयोग गर्नेको संख्या १ करोड ४२ लाख ३६ हजार रहेकोमा असारसम्म घटेर १ करोड २२ लाख ८३ हजारमा झरेको छ । अर्थात माथि उल्लेख गरिएको आइएसपीको एक कनेक्सन बराबर ४.३७ जना इन्टरनेट प्रयोगकर्ता गणना गर्ने गरिएको छ ।

यस्तै यस अवधिमा फिक्स्ड ब्रोडब्याण्डमा ताररहित माध्यमबाट इन्टरनेट चलाउने ग्राहक पनि १५ हजारले घटेर २९ हजार ४ सयमा पुगेका छन् ।

यस अवधिमा मोबाइल ब्रोडब्याण्डमार्फत इन्टरनेट प्रयोगकर्ता भने ३१ लाख ४७ हजारले बढेका छन् । अर्थात फिक्स्ड ब्रोडब्याण्डमा घटेका ग्राहकहरु मोबाईल ब्रोडब्याण्डमा डाइभर्ट भएको तथ्यांकले देखाउँछ । गत चैतसम्म २ करोड ८० लाख ६३ हजार रहेका मोबाइल ब्रोडब्याण्डका प्रयोगकर्ता असारसम्म आउँदा अर्थात ३ महिनामै बढेर ३ करोड १२ लाख ११ हजार पुगेका हुन् ।

यता मोबाइल ब्रोडब्याण्डमा नेपाल टेलिकमको ग्राहकसंख्या असारसम्म २ करोड २४ लाख २४ हजार छ भने एनसेलको ग्राहकसंख्या ८७ लाख ८७ हजार छ । यो संख्या गत चैतको तुलनामा क्रमशः २० लाख र १० लाखले बढी हो । अर्थात चैतसम्म नेपाल टेलिकमको मोबाईल ब्रोडब्याण्ड प्रयोगकर्ता संख्या २ करोड ४ लाख हुँदा एनसेलको सेवा प्रयोगकर्ताको संख्या ७६ लाख मात्रै थियो ।

तथ्यांकमा फिक्स्ड ब्रोडब्याण्डका ग्राहकहरु मोबाईल ब्रोडब्याण्डमा डाइभर्ट भएको देखिएपनि इन्टरनेट सेवाप्रदायकले भने उक्त तथ्यांकलाई अस्विकार गर्ने गरेका छन् । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधिर पराजुली ३ महिनामै ग्राहकसंख्यामा ठुलो गिरावट आउनुलाई तथ्य मान्न नसकिने बताउँछन् । उनी प्राधिकरणको तथ्यांक गणनामा गल्ती भएको या प्राधिकरणको नयाँ निर्देशनअनुसार ग्राहक गणना गर्दा समस्या भएको बताउँछन् । ‘हामी त लगातार ग्राहक संख्या बढाईरहेका छौं,’ उनले भने, ‘तर, प्राधिकरणको तथ्यांकले घटेको देखाउँछ भने वहाँहरुले ग्राहक गणनामा केहि हेरफेर गर्नुभएको होला ।’

प्राधिकरणले इन्टरनेट प्रयोगकर्ताको संख्या गणना गर्दा एक कनेक्सनमा ४ जनाभन्दा बढी इन्टरनेटको पहुँचमा पुग्नसक्ने अनुमानका आधारमा एक कनेक्सन बराबर ४.३७ जना प्रयोगकर्ता गणना गर्ने गरेको छ ।

तर, चैतदेखि असारसम्म फिक्स्ड ब्रोडब्याण्डको कनेक्सन पनि ४ लाख ४७ हजारले घटेको देखिन्छ । गत बर्ष चैतमा ३२ लाख ५७ हजार घरमा कनेक्सन भएको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट चालु बर्षको असारसम्म पुग्दा २८ लाख १० हजारमा झरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL