Logo

मेटा र स्पोटिफाईद्वारा युरोपेली संघको एआईसम्बन्धी अस्पष्ट निर्णयको आलोचना

मेटा र स्पोटिफाईद्वारा युरोपेली संघको एआईसम्बन्धी अस्पष्ट निर्णयको आलोचना



काठमाडौं । मेटा र स्पोटिफाईलगायत कम्पनीको समूहले डाटा गोपनीयता र आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को सन्दर्भमा खण्डित र असङ्गत निर्णय गरेको दाबी गर्दै बिहीबार युरोपेली संघको आलोचना गरेको छ । युरोपेली बजार पहिले नै कम प्रतिस्पर्धी हुँदै गएको र एआईको युगमा अझ पछाडी पर्ने जोखिम रहेको दाबी गर्दै अनुसन्धानकर्ता र औद्योगिक निकायले खुला पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरकर्ताहरूले युरोपेली नागरिकको फाइदाको लागि एआई प्रशिक्षणमा युरोपेली डाटा प्रयोग गर्न सक्षम बनाउन डाटा गोपनीयता नियामकहरूलाई द्रुत र स्पष्ट निर्णय गर्न आह्वान गरेका छन् । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको मुल कम्पनी मेटाले हालै गोपनीयता नियामक निकायहरूको दबाबपछि आफ्ना एआई मोडेललाई प्रशिक्षण दिन युरोपेली प्रयोगकर्ताबाट डाटा सङ्कलन गर्ने योजना स्थगित गरेको थियो ।

‘युरोपेली डाटा संरक्षण अधिकारीको हस्तक्षेपले एआई मोडेलहरूलाई प्रशिक्षण दिन कस्तो प्रकारको डाटा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा ठूलो अनिश्चितता सिर्जना गरेपछि हालको समयमा नियामक निर्णय लिने काम खण्डित र अप्रत्याशित भएको छ’, पत्रमा भनिएको छ। युरोपेली आयोगका प्रवक्ताले युरोपेली संघका सबै कम्पनीबाट डाटा गोपनीयता सम्बन्धी नियमहरूको पालना गर्ने अपेक्षा रहेको बताए ।

मेटाले प्रयोगकर्ताहरूको गोपनीयता उल्लङ्घनका लागि रेकर्ड जरिवाना सामना गरेको छ, जसमा जीडीपीआर अन्तर्गत एक अरब यूरो भन्दा बढीको एकल जरिवाना समावेश छ । युरपेली संघ युरोपेली प्रविधिको दुरुपयोग रोक्नका लागि डाटा गोपनीयता सम्बन्धी प्रमुख कानून बनाउने पहिलो क्षेत्रीय सङ्गठन बनेको छ । यसले यो वर्षको सुरुमा एआई ऐन लागू गरेको थियो ।

मेटा र अन्य प्राविधिक कम्पनीले कानुनी स्पष्टता खोजिरहेका दाबी गर्दै युरोपेली बजारमा आफ्नो सुविधाहरु प्रदान गर्न ढिलाई गरिरहेका छन् । मेटाले गत वर्ष युरोपेली बजारमा ट्विटरको वैकल्पिक सञ्जाल थ्रेड्सको रिलिजलाई धेरै महिनासम्म ढिलाइ गरेको थियो । गुगलले पनि युरोपेली संघमा एआई उपकरणको रिलिजलाई रोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL