Logo

अब सबै प्रकारका प्रिपेड नम्बरमा रोमिङ सुविधा दिँदै टेलिकम, यसरी लिन सकिन्छ सुविधा

अब सबै प्रकारका प्रिपेड नम्बरमा रोमिङ सुविधा दिँदै टेलिकम, यसरी लिन सकिन्छ सुविधा



काठमाडौं । नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध गराउने भएको छ । कम्पनीले साउन ३० देखि नै लागू हुनेगरी सबै प्रिपेड मोबाइल नम्बरमा अन्तराष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यबस्था मिलाएको हो । यस अनुसार हाल प्रिपेड ग्राहकहरुले अन्तराष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनु पर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकहरुको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुनेछ ।

सेवाग्राहीले एस्ट्रिक१४१५एस्ट्रिक ह्यास डायल गरेपश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनौट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए र नभएको यकिन गर्न सकिन्छ । अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकहरुले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ ।

नेपाल टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत वाहेकका अन्य देशहरुमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ । भारतमा भने यो सेवा उपयोग गर्नका लागि कम्पनीका ग्राहकहरुले नेपालमै रहँदा आफ्नो मोबाइलबाट युएसएसडी कोड एस्ट्रिक १४१५ एस्ट्रिक ७ ह्यास डायल गरी वा नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिन्छ ।

नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइल मार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् । यसका लागि ती देशहरुमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्