Logo

कर्मचारीका मागमा ३ बर्षदेखि एनटीएको बेवास्ता, अध्यक्षलाई नै कार्यालयमा प्रवेश गर्न नदिने तयारी

कर्मचारीका मागमा ३ बर्षदेखि एनटीएको बेवास्ता, अध्यक्षलाई नै कार्यालयमा प्रवेश गर्न नदिने तयारी



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण (एनटीए)का कर्मचारीहरु हाल आन्दोलनमा छन् । पछिल्ला २ बर्षदेखि विभिन्न माग राख्दै आएका कर्मचारीहरु यसपल्ट भने चरणवद्ध आन्दोलनमै उत्रिएका हुन् ।

प्राधिकरणको कार्यालय कमलादीबाट जमल सारिएसँगै सबैभन्दा बढी प्रताडित कर्मचारी नै छन् । अर्थात हावा नछिर्दा अक्सिजन नै नपुग्ने कार्यालय, व्यवस्थापनले कर्मचारीलाई गर्ने उच्च बेवास्ता, प्राधिकरणको कमजोर कार्यप्रगतिलाई देखाउँदै कर्मचारीहरुले अब प्राधिकरणका अध्यक्षलाई प्राधिकरणमै छिर्न नदिने गरी विरोधको कार्यतालिका सार्वजनिक गरिसकेका छन् ।

प्राधिकरण विसं २०७८ बैशाख २ गतेदेखि जमलस्थित सांस्कृतिक संस्थानको राष्ट्रिय नाचघरमा सरेको थियो । प्राधिकरणले हाल उक्त भवनको मासिक १७ लाख बढी रुपैयाँका हिसावले भाडा तिरिरहेको छ । जसमा प्रत्येक २ बर्षमा प्राधिकरणले संस्थानलाई १० प्रतिशतका दरले भाडा बढाएर तिर्नुपर्छ । यसरी प्राधिकरणले १० बर्षसम्म अर्थात २०८८ सालसम्म संस्थानलाई करोडौं रुपैयाँ तिर्नुपर्छ । तर, प्राधिकरण आउनुअघि उक्त भवन जुत्ताघरको गोदामका रुपमा रहेको र अहिले त्यसैलाई चलाईएकाले कर्मचारीलाई समस्या आईरहेको बताईएको छ ।

कार्यालयमा गुम्सिएकै कारण यसअघि एकजना कर्मचारीको निधन भइसक्दा पनि यसप्रति प्राधिकरण व्यवस्थापनले बेवास्ता गरेको नेपाल दूरसंचार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष शिवराज जैसी बताउँछन् ।

युनियनले जमलमा प्राधिकरण सरेदेखि नै प्राधिकरणको संस्थागत सुधारसँगै कर्मचारीलाई कार्यालयमा अक्सिजन नपुगेको भन्दै त्यसलाई सुधार्न माग गर्दै आएको छ । तर, प्राधिकरणले पछिल्लो ३ बर्षदेखि कर्मचारीहरुका मागलाई बेवास्ता गर्दै आएकाले यसपल्ट कडा रुपमा उत्रिएको उनी बताउँछन् ।

युनियनले यसपल्ट विभिन्न ४ चरणको आन्दोलनको घोषणा गर्दै असार ३० गते विज्ञप्ति जारी गरेको थियो । जसमा १० दिनको अल्टिमेटम दिएर १० दिनसम्म आफ्ना माग सम्बोधन गरिदिन आग्रह गरिएको हो । विज्ञप्तिको म्याद साउन ७ गते सकिएपनि प्राधिकरणले कर्मचारीको माग सम्बोधन नगरेपछि घोषणा गरिएअनुरुप आन्दोलनमा सुरु भएकाे हाे । जसअनुसार पहिलो चरणमा कर्मचारीहरुले ४ दिनसम्म कार्यालयमा कालोपट्टी बाँधेर काम गरेका थिए । त्यसपछि दोस्रो चरणको विरोधस्वरुप दुई दिनसम्म पेन डाउन गर्ने काम पनि सकिसकेको छ ।

हाल बुधबारदेखि कर्मचारीहरुले तेस्रो चरणको विरोधस्वरुप प्राधिकरणका अध्यक्षको कार्यकक्षमा प्रवेश गर्ने ढोकामै धर्ना बसेको युनियनका अध्यक्ष जैसीले बताए । ‘हामी हाल अध्यक्षज्यूको कार्यकक्ष छिर्ने ढोकामै धर्ना बसेका छौं,’ उनले भने, ‘यस्तो धर्ना बस्ने काम आगामी ७ दिनसम्म हुनेछ ।’

धर्ना बसेको ७ दिनसम्म पनि प्राधिकरणले आफ्ना माग सम्बोधन नगरेको खण्डमा अध्यक्षलाई कार्यकक्षभित्रै पस्न नदिने गरी आन्दोलन गर्ने युनियनको तयारी छ । त्यसरी अध्यक्षलाई कार्यकक्षभित्रै छिर्न नदिनेगरी हुने आन्दोलन भने माग पूरा नभएसम्म गरिने जैसी बताउँछन् ।

यता प्राधिकरणका एक अधिकारीले भने कर्मचारीका माग सम्बोधन गर्नका लागि छलफल गर्नेगरी एक वार्ता टोली गठन गर्न लागिएको बताएका छन् । ‘हामीले वार्ता टोली गठन गरेर छलफलको काम अघि बढाएका छौं,’ उनले भने, ‘वार्ता टोलीसँगको छलफलपछि कर्मचारी साथीहरु काममा फर्किनुहोला भन्ने आशा छ ।’

तर, माग सम्बोधन गर्नका लागि भन्दै यसअघि पनि वार्ता टोली गठन गरी छलफल भएको तर सम्बोधन नभएका कारण यसपल्ट माग सम्बोधन नहुँदासम्म आन्दाेलन जारी गरिने अडात कर्मचारीहरुको छ । ‘यसअघि पनि गत बर्ष वार्ता टोली गठन गरी माग सम्बोधन गर्नेगरी छलफल भएको थियो,’ एक कर्मचारीले भने, ‘तर, हालसम्म माग सम्बोधन नभएको हामीले बिर्सेका छैनौं ।’

कर्मचारीहरुले प्राधिकरणको आफ्नै जग्गा, घर भवन बनाउने सुनिश्चितता गर्नुपर्ने, हाल प्राधिकरण रहेको भवनमा कर्मचारीका लागि काम गर्नका लागि उचित प्रकाश र अक्सिजन नपुग्ने भएकाले स्वास्थ्यसम्बन्धी ख्याल गरी सोही अनुसारको वातावरण निर्माण गरिनुपर्नेलगायतका माग राखेका छन् । यस्तै कर्मचारीको वृत्ति विकास सुनिश्चिता हुनुपर्ने माग पनि उनिहरुले राखेका छन् ।

यी मागहरु व्यवस्थापनकै सहजीकरणका लागि गरिएको भएपनि व्यवस्थापनले नबुझिदिँदा समस्या आएको कर्मचारी युनियनका अध्यक्ष जैसीले बताए । ‘भवनको बिषय पनि त्यति ठुलो होईन, प्राधिकरणले चाहेको खण्डमा एक बर्षको अवधिमा भवन निर्माणको तयारी अघि बढाउन सकिन्छ,’ उनले भने, ‘तर, प्राधिकरण व्यवस्थापन पक्षले यसमा ध्यानै देखाउन चाहेन ।’

आफुहरुले व्यवस्थापनलाई सहयोग हुनेगरी नै माग राखेपनि व्यवस्थापनले नसुनेकाले यसरी आन्दोलनमा उत्रनुपरेको बताए ।

प्राधिकरणको व्यवस्थापन पक्षले आन्दोलनरत कर्मचारीहरुलाई आज छलफलका लागि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL