Logo

राजनीतिक उथलपुथलबीच अघि बढ्यो टेलिकमको एमडी चयन प्रक्रिया, कसले मार्ला बाजी ?

राजनीतिक उथलपुथलबीच अघि बढ्यो टेलिकमको एमडी चयन प्रक्रिया, कसले मार्ला बाजी ?



काठमाडौं । नेपालको राजनीतिमा सोमबार र मंगलबार उथलपुथल चलिरहँदा यता नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी) छनोट प्रक्रिया अघि बढेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको एमडी बन्नका लागि आवेदन दिएका आवेदनकर्ताहरुलाई विभिन्न समयमा अन्तरवार्ता र कार्यपत्र प्रस्तुतीकरणका लागि आह्वान गरेर यसको सुरुवात गरेको हो ।

खासगरी संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफुले इच्छ्याएको व्यक्तिलाई मन्त्रालयमातहत निकायमा नियुक्ती गर्न ठुलो चलखेल गर्दै आईरहेको आरोप छ । यसअघि नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा आफ्नै सल्लाहकारलाई नियुक्ती दिन दरखास्तमै कडा नियम राखीएको थियो । सोही अनुसार यसपल्ट पनि टेलिकमको एमडी छनोटका लागि उनले इच्छ्याएको व्यक्ति जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक अनिल कुमार झालाई टेलिकमको एमडी बनाउन लागिपरेको आरोप लागेको छ ।

प्रधानमन्त्री प्रचण्डसमेतका निकट मानिने जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक झा नै टेलिकमको एमडी बन्ने पक्काजस्तै भएको एक विश्वस्त स्रोतले बताएका थियो । स्रोतका अनुसार यसअघि टेलिकममा झा लाई ल्याउनकै लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्ती प्रक्रिया र सेवा सुविधासम्बन्धी निर्देशिकामा संशोधन गर्दै मापदण्ड नै परिवर्तन गरिएको थियो । जसमा प्रवन्ध निर्देशक बन्न आवश्यक उमेरहद ५६ बाट ५८ बनाईएको र शैक्षिक योग्यतामा पनि मेकानिकल इन्जिनियर थपिएको छ । यी दुबै मापदण्ड झासँग मेल खान्छन् ।

तर, सोमबारदेखि नेपालको राजनीतिमा उथलपुथल सुरु भएको छ । यसअघि प्रचण्ड नेतृत्वको गठबन्धन सरकार भएपनि अब त्यो नरहने पक्का भईसकेको छ । सोमबार राती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाबीच नयाँ सत्ता समिकरणको सम्झौतासमेत भईसकेकाले अब टेलिकमको एमडीमा झा नबन्ने निश्चितजस्तै भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

नेकपा एमालेले आफुमातहतका मन्त्रीहरुलाई फिर्ता बोलाईसकेको छ । अहिले विभिन्न दलको बैठक बसिरहेकाले अब संचार मन्त्रालयको बागडोर कसले सम्हाल्ने भन्ने कुरा मुख्य हुने मन्त्रालयका अधिकारीहरु बताउँछन् । तर, रेखा शर्मा र प्रधानमन्त्री प्रचण्डले चाहेको व्यक्ति टेलिकमको एमडी नहुने भने पक्का भईसकेको बताईएको छ ।

टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएसँगै ७ वैशाख २०८१ यता कम्पनीको प्रबन्ध निर्देशक पद रिक्त छ । हाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संगीता पहाडी (अर्याल)ले सम्हालेकी छन् ।
जेठ २२ मा संचार मन्त्रालयले प्रवन्ध निर्देशक नियुक्तीका लागि दरखास्त आह्वान गरेको थियो । जसमा विभिन्न क्षेत्रका १७ जनाले आवेदन दिएपनि एक जनाको आवेदन खारेज भएपछि १६ जनाको नाम सार्वजनिक गरिएको थियो ।

मन्त्रालयले गएको २२ जेठमा एक सूचना प्रकाशित गर्दै नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

त्यसको पाँच दिन अगाडि अर्थात् १७ जेठको मन्त्रिपरिषद् बैठकबाट टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका २०८१ स्वीकृत गराइएको थियो ।

मन्त्रालयले माग गरेको आवेदमा टेलिकमकै निमित्त प्रवन्ध निर्देशक संगिता पहाडी, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा. शालिग्राम पराजुली, प्रेम सिलवाल, चिन्तामणी बराल, अनन्तप्रकाश मल्लिक, डा. बिमल आचार्य, राजेश जोशीलगायत छन् ।

यस्तै बुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, केदारनाथ कोईराला, कमल लामिछाने, रमेशप्रसाद जोशी, सुभास शाह, लक्ष्मण महर्जन, नागेन्द्र कुमार दासले पनि टेलिकमको एमडी बन्न ईच्छा देखाउँदै आवेदन दिएका थिए । मन्त्रालयले उनिहरुलाई साउन २० गतेदेखि २२ गतेसम्मलाई कार्यपत्र प्रस्तुतिकरणका लागि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL