Logo

सेयर मूल्यमा उछाल आउँदा एनभिडिया बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी

सेयर मूल्यमा उछाल आउँदा एनभिडिया बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी



काठमाडौं । एआई चिप्स बनाउने अमेरिकी कम्पनी एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । माइक्रोसफ्टलाई हराउँदै कम्पनीले यो उपलब्धि हासिल गरेको हो । मंगलबार कम्पनीको सेयर ३.५ प्रतिशतले बढेको छ र योसँगै कम्पनीको बजार पुँजी ३.३४ ट्रिलियन डलर पुगेको छ । माइक्रोसफ्टको शेयर ०.५ प्रतिशत र एप्पलको शेयर १.१ प्रतिशतले घटेको छ ।

माइक्रोसफ्ट अहिले ३.३२ ट्रिलियन डलरको साथ विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी हो। एप्पल ३.२७ ट्रिलियन डलरको साथ तेस्रो स्थानमा छ । एनभिडियाको शेयर यस वर्ष १७४ प्रतिशतले बढेको छ भने अघिल्लो वर्ष २३९ प्रतिशतले बढेको थियो । चालु आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानी २६२ प्रतिशत र नाफा ४६२ प्रतिशतले बढेको छ ।

पछिल्लो समय एआई चिप्सको माग निकै बढेको छ । सान्ता क्लारामा मुख्यालय रहेको कम्पनी एनभिडियाले यसबाट सबैभन्दा बढी फाइदा उठाएको छ । विश्वमा एआई चिप बिक्रीमा एनभिडियाको हिस्सा करिब ७० प्रतिशत छ । यही कारण विश्वभरका विश्लेषकहरूले कम्पनीको सेयर मूल्य अझै बढ्न सक्ने अनुमान गरेका छन् ।

कम्पनीका संस्थापक र सीईओ जेन्सेन हुआंगले हालै भनेका छन् कि एनभिडियाले सन् २०२६ मा आफ्नो सबैभन्दा उन्नत एआई चिप प्लेटफर्म रुबिन लन्च गर्नेछ । यसले ब्ल्याकवेललाई प्रतिस्थापन गर्नेछ जसले डाटा केन्द्रहरूमा चिपहरू आपूर्ति गर्दछ । यो मार्चमा लन्च गरिएको थियो र कम्पनीले यसलाई विश्वको सबैभन्दा शक्तिशाली चिपको रूपमा वर्णन गरेको थियो ।

ताइवानमा जन्मेका ह्वाङले सन् १९९३ मा एनभिडियाको स्थापना गरेका थिए । यस कम्पनीमा उनको ३.५ प्रतिशत सेयर रहेको छ । एनभिडियाको शेयरमा वृद्धि भएसंगै ह्वाङको कुल सम्पत्ति पनि रकेट गतिमा बढेको छ । यो वर्ष उनी सबैभन्दा धेरै कमाउने व्यक्ति हुन् । ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ह्वाङको कुल सम्पत्ति यस वर्ष ७४.९ बिलियन डलरले बढेको छ । उनी ११९ अर्ब डलरको सम्पत्तिसहित विश्वको १२औँ धनी व्यक्तिका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL