Logo

टेलिकमको एमडी बन्न १७ जनाको आवेदन, अनिल झा बन्ने निश्चित जस्तै

टेलिकमको एमडी बन्न १७ जनाको आवेदन, अनिल झा बन्ने निश्चित जस्तै



काठमाडौं । नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी) पदका लागि विभिन्न १७ जना ईच्छुक देखिएका छन् । संचार तथा सूना प्रविधि मन्त्रालयका अनुसार यसअघि जेठ २२ मा खुलाएको दरखास्तमा मंगलबार अन्तिम दिनसम्म १७ जनाले आवेदन दिएका हुन् ।

टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचार मुद्धामा दोषी ठहर भएसँगै ७ वैशाख २०८१ यता उक्त नेपाल टेलिकमको प्रबन्ध निर्देशक पद रिक्त छ । हाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संगीता पहाडी (अर्याल)ले सम्हालेकी छन् ।

मन्त्रालयले गएको २२ जेठमा एक सूचना प्रकाशित गर्दै नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

त्यसको पाँच दिन अगाडि अर्थात् १७ जेठको मन्त्रिपरिषद् बैठकबाट टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका २०८१ स्वीकृत गराइएको थियो ।

मन्त्रालयले माग गरेको आवेदमा टेलिकमकै निमित्त प्रवन्ध निर्देशक संगिता पहाडी, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा. शालिग्राम पराजुली, प्रमेप्रसाद सिलवाल, चिन्तामणी बराल, अनन्तप्रकाश मल्लिक, डा. बिमल आचार्य, राजेश जोशीलगायत छन् ।

यस्तै बुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, केदारनाथ कोईराजा, कमल लामिछाने, रमेशप्रसाद जोशी, सुमास शाह, लक्ष्मण महर्जन, नागेन्द्र कुमार दासले पनि टेलिकमको एमडी बन्न ईच्छा देखाउँदै आवेदन दिएका छन् ।

यसरी १७ जनाले टेलिकमको एमडी बन्न ईच्छा देखाएपनि प्रधानमन्त्री प्रचण्ड निकटका मानिने जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक अनिलकुमार झा नै टेलिकमको एमडी बन्ने पक्काजस्तै भएको एक विश्वस्त स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार यसअघि टेलिकममा झा लाई ल्याउनकै लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्ती प्रक्रिया र सेवा सुविधासम्बन्धी निर्देशिकामा संशोधन गर्दै मापदण्ड नै परिवर्तन गरेको थियो । जसमा प्रवन्ध निर्देशक बन्न आवश्यक उमेरहद ५६ बाट ५८ बनाईएको र शैक्षिक योग्यतामा पनि मेकानिकल इन्जिनियर थपिएको छ । जनक शिक्षा सामग्री केन्द्रका झा ५६ बर्ष नाघेका मेकानिकल ईन्जिनियर हुन् ।

प्रतिक्रिया दिनुहोस्