Logo

मोबाईल फाईनान्सियल सर्भिस प्रदान गर्दै एनसेल, फण्ड ट्रान्सफरदेखि विलतिर्न सकिने

मोबाईल फाईनान्सियल सर्भिस प्रदान गर्दै एनसेल, फण्ड ट्रान्सफरदेखि विलतिर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘मोबाईल फाईनान्सियल सर्भिस’ संचालनमा ल्याउने भएको छ । एनसेलका प्रबन्ध निर्देशक साईमन पर्किन्सले कम्पनीले थप लगानी बृद्धिका साथै आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याउने बताएका हुन् । ‘नेपाल राष्ट्र बंैकले केही समय अगाडी मोबाईल फाईनान्सियल सर्भिस ग्राहकलाई प्रदान गर्नका लागि छुट्टै काननी व्यबस्थाको नीति ल्याएको थियो,’ उनले भने, ‘सरकारले यो नीतिसँगै एनसेलले पनि सो सेवा संचालन गर्न लागेको हो ।’ सरकारको सो नीति अनुसार मोबाईल सेवा प्रदायक कम्पनीहरुले पनि मोबाईलबाटै वित्तीय कारोबार हुने गरी मोबाईल पेमेन्ट सेवाहरु प्रदान गर्न सक्छन् ।

पर्किन्सले अनुसार एनसेलले देश भित्र र बाहिर फण्ड ट्रान्सफर गर्न, आफ्नो बिलहरु मोबाईलबाटै तिर्न र अन्य आर्थिक कारोबारहरु जहाँ कहीबाट पनि सजिलै गर्न सकिने खालका सेवा प्रदान गरिने छ । मोबाईल प्रयोगकर्ताको संख्यामा वृद्धिसँगै यसबाट गर्न सकिने वित्तीय तथा आर्थिक कारोबारका सेवाहरुको मागमा पनि वृद्धि भईरहेको छ । अहिले करिव १ करोड ४० लाख ग्राहकले एनसेलको मोबाईल सेवा प्रयोग गरी रहेका छन् । तर, राष्ट्र बैंकको नीति अनुसार, यस्तो प्रकारको मोबाईलबाटै वित्तीय कारोबार गर्नका लागि टेलिकम कम्पनीले आफ्नो सब्सिडायरी कम्पनी खोलेर राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने हुन्छ ।

मोबाईल फाईनान्सियल सर्भिसहरुमा मोबाईलबाटै भुक्तानी, ऋण दिने वा लिने, पैसा निकाल्ने वा तिर्ने, कसैलाई पैसा उठाउने वा पठाएको पैसा लिने लगायत थुप्रै प्रकारका वित्तीय तथा आर्थिक कारोबारहरु पर्दछन् । खासगरी हिमाल तथा पहाडमा रहेको ठूलो जनसंख्यामा बैंकिङ सेवा अझै पुग्न सकेको छैन । साथै, तराईका भित्री ग्रामिण क्षेत्रका मानिसहरुमा पनि सहज बैंकिङ सेवाको अभाव छ । यसैलाई मध्यनजर गर्दै एनसेलले नयाँ सेवा ल्याउन लागेको हो ।

राष्ट्र बैंकको वैशाख २०७३ सम्मको तथ्याङ्क देशमा विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी १ करोड ६१ लाख ओटा बचत खाताहरु संचालनमा छन् भने तिनीहरुमध्ये १५ लाखले मोबाईल बैंकिङमा आवद्ध छन् । त्यसै गरी ईन्टरनेट बैंकिङ सेवाको प्रयोग गर्ने उपभोक्ताको संख्या झण्डै ५ लाखको हाराहारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL