Logo

टेलिकम प्रवन्ध निर्देशकको सर्टलिष्ट छनौट आज, २ हप्ताभित्र नियुक्ति

टेलिकम प्रवन्ध निर्देशकको सर्टलिष्ट छनौट आज, २ हप्ताभित्र नियुक्ति


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल टेलिकमको प्रवन्ध निर्देशक पदका लागि आज ६ जनाको सर्टलिष्ट निकालिने भएको छ । सो पदका लागि हालका प्रवन्ध निर्देशक सहित १३ जनाले आवेदन दिएकोमा आज ६ उत्कृष्टको सर्ट लिष्ट निकालिने सुचना तथा संचार मन्त्रालयका सचिव तथा टेलिकमका अध्यक्ष दिनेश थपलियाले जानकारी दिए ।

थपलियाका अनुसार आवेदन दिएका १३ मध्ये शैक्षिक योग्यता तथा अनुभवलगायतको आधारमा उत्कृष्ट छानिने छन् । सर्टलिष्टका लागि छनौटको प्रक्रिया सकिएपनि समितिले स्वीकृति गर्न भने बाँकी छ ।

प्रारम्भिक छनौटमा परेकाहरुको त्यस लगत्तै अनुभवसहितको अन्तरवार्ता लिइने बताइएको छ । हालका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको भदौं २० गते कार्यकाल सकिँदै छ ।

केही समयअघि मन्त्रिपरिषद्ले स्वीकृति गरेको नियमावली अनुसार योग्यता पुगेका टेलिकम भित्र तथा वाहिरका दुवैले प्रवन्ध निर्देशकको लागि प्रतिस्पर्धामा भाग लिएका छन् ।

नियमावलीका अनुसार टेलिकममा कार्यरत आठदेखि ११ औं तहसम्मका कर्मचारीले प्रवन्ध निर्देशकका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् । प्रतिशपर्धाका लागि स्नातकोत्तर उत्तिर्ण अनिवार्य तोकिएको छ । टेलिकमको प्रबन्ध निर्देशक पहिलो पटक प्रतिशपर्धाका आधारमा छान्न लागेको हो ।

प्रमुख छनौट समितिमा सचिव थपलिया संयोजक र अर्थ मन्त्रालयका पूर्व सचिवहरु नारायणप्रसाद सञ्जेल, कविराज खनाल त्यस्तै टेलिकमका पूर्वप्रवन्धक अमरनाथ सिंह र राष्ट्रिय सूचना प्रविधि परिषदका सदस्य वसन्त वन रहेका छन् ।

नयाँ प्रवन्ध निर्देशकमा आवेदन दिनेमा हालका प्रबन्ध निर्देशक आचार्यका साथै कम्पनी सचिव गोकर्णप्रसाद सिटौला, टेलिकमकै नायब प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, मानव संसाधन प्रमुख रवीन्द्र झा, प्रबन्धकहरू मचुतानन्द वैद्य, सुनिलकुमार पोखरेल, प्रतिमा प्रधान, राजुबाबु अर्याल र गुणकेशरी प्रधान रहेका छन्।

यता टेलिकम वाहिरवाट टेलिकमको प्रवन्ध निर्देशकका लागि दीपकराज जोशी, अनिलकुमार झा, मदन खरेल र नगेन्द्र झाले पनि टेलिकम प्रमुखका लागि आवेदन दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL