Logo

इन्टरनेट कम्पनीले ल्याए अफरै-अफर, कुन कम्पनीको इन्टरनेट जोड्दा के पाइन्छ ?

इन्टरनेट कम्पनीले ल्याए अफरै-अफर, कुन कम्पनीको इन्टरनेट जोड्दा के पाइन्छ ?



काठमाडौं । नेपाली हिन्दु धर्मालम्बीहरुको मुख्य चाड दशैंको रौनक सुरु भईसकेको छ । यसै अवधिमा धेरैजसो कर्पोरेट हाउसहरुले आफ्नो उत्पादनहरुको विक्री बढाउन विभिन्न छुट, स्किम, अफरहरु सार्वजनिक गर्छन । खासगरी धेरैजसो सर्वसाधारणले नयाँ वस्तु या सेवा दशैंकै समयमा घर भित्र्याउने भएकाले पनि कर्पोरेट सेक्टरले यसैबेला आफ्नो वस्तु वा सेवामा बढी नै आकर्षक अफरहरु सार्वजनिक गर्छन् । सोहीअनुसार यसपल्टको दशैंमा पनि विभिन्न इन्टरनेट सेवाप्रदायकहरुले दशैंलक्षित अफरहरु सार्वजनिक गरेका छन् ।

वर्ल्डलिंकको फेस्टिभ अफर

दशैंलक्षित अफर सार्वजनिक गर्ने होडबाजीकै बीच ग्राहकका हिसावले सबैभन्दा ठुलो मानिने इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । कम्पनीले यो अफर अन्तर्गत प्रति ३ महिनाको ३ हजार ३ सय रुपैयाँमै २ सय एमबीपीएस इन्टरनेट प्याकेज उपलब्ध गराउने जानकारी दिएको छ । यस्तै यस्तो प्याकेजको खरिदमा ग्राहकले सामसुंगका घरायसी उपकरणहरुको खरिदमा १५ हजार ५ सय रुपैयाँसम्म छुट पाईने सुविधा हुनेसमेत बताएको छ । यस्तो छुट भने ३ महिने र १२ महिने प्याकेज लिनेलाई उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

नेपाल टेलिकमको दशैं तिहार अफर

यता नेपाल टेलिकमले भने आफ्नो डाटा प्रयोगकर्ताका लागि भन्दै दशैं तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैंलाई नै लक्षित गरी ६ हजार रुपैयाँ माथिका प्याकेज सार्वजनिक गरेको छ । यसमा ग्राहकले पहिलेकै मूल्यमा नयाँ स्पिडको इन्टरनेट पाउनेछन् । जस्तै हाल १०, २०, ३०, ४० र ८० एमबीपीएसको इन्टरनेट प्याकेजहरु सोही मूल्यमै अब क्रमशः २५, ५०, ५०, १०० र १५० एमबीपीएस पाउनेछन् ।

सुबिसु मंगलमय अफर

सुविसु केबल नेटले दशैलक्षित भदै सुविसु मंगलमय अफर सार्वजनिक गरेको छ । कम्पनीले डिसकाउन्ट पनि क्यासब्याक पनि नारासहित उक्त अफर सार्वजनिक गरेको हो । यो अफरअन्तर्गत अब ग्राहकले १२ हजार ९ सय ९९ रुपैयाँमै २ सय एमबीपीएस गतिको इन्टरनेट सेवा जडान गर्न सक्नेछन् । यस्तै १६ हजार ९ सय ९९ रुपैयाँमा ३ सय एमबीपीएस इन्टरनेट पाईने कम्पनीले जानकारी दिएको छ । यदि यो अवधिमा इन्टरनेट शुल्क सेलपेमार्फत भुक्तानी गरेमा भने ५ सय रुपैयाँसम्म छुट पाईनेसमेत कम्पनीले जानकारी दिएको छ ।

भायानेटको चाडमा चौका

अर्को इन्टरनेट सेवाप्रदायक भायानेटले भने ‘चाडमा चौका’ नामक अफर सार्वजनिक गरेको छ । यो अफरमा कम्पनीले ८ हजार ४ सय रुपैयाँमै १ सय २५ एमबीपीएस गतिको इन्टनेट प्याकेज बेच्ने बताएको छ । यस्तै यसमा टीभी प्याकेज अफर पनि समावेश गरिएको कम्पनीले जानकारी दिएको छ । यो अफरमा कम्पनीले आफ्नो इन्टरनेट प्याकेजको खरिदमा विभिन्न घरायसी सागम्रीको खरिदमा ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीको यो अफर भने नयाँ ग्राहक, ३ महिना र १२ महिनाको नविकरण गर्ने ग्राहकका लागि मात्रै मान्य हुने बताएको छ ।

सिजी नेटको ह्ययट्रिक दक्षिणा अफर

चौधरी ग्रुपको सिजी नेटले भने ह्याटट्रिक दक्षिणा नामक अफर ल्याएको छ । यो अफरमा कम्पनीले सिजी डिजिटल र सिजी नेटमा तेहेरो फाईदा लिन सकिने बताएको छ । जसमा इन्टरनेटको ३ गुणा बढी स्पिड, क्यासब्याक र सिजी टेलिभिजनको खरिदमा ५० प्रतिशतसम्म छुट पाईनेछ ।
यस्तै यो अफर अन्तर्गत कम्पनीले दैनिक विजेतालाई क्यासब्याक, साप्ताहिक विजेतालाई स्मार्टवाच र बम्पर विजेतालाई इन्टरनेटसहित ४३ ईन्चको स्मार्ट टिभी उपलब्ध गराउने बताएको छ ।

डिसहोममा कनेक्सनको दोब्बर उत्सव

यता डिसहोम फाईबर नेटले पनि दशैँलक्षित कनेक्सनको दोब्बर उत्सव नामक अफर सार्वज्निक गरेको छ । यो अफर अन्तर्गत कम्पनीले पुरानै मूल्यमा नयाँ गतिको इन्टरनेट उपलब्ध गराउने बताएको छ । जसअनुसार हालसम्म कम गतिको इन्टरनेट चलाईरहेका ग्राहकले अब त्यसको दोब्बर गतिको इन्टरनेट पाउने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL